काठमाडौं । गत ९ चैतमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मलिकुलर परिक्षणमा दख्खल भएका विज्ञहरुको आवश्यकता भन्दै दरखास्त आह्वान ग-यो । सूचनामा भनिएको छ, ‘एमएस्सी मेडिकल टेक्नोलोजी, एमएस्सी एनी लाइफ साइन्सेज वायोटेक्नोलोजी, एक्सपिरियन्स इन न्यूक्लिक एसिड एक्सट्रयाक्सन, मास्टर मिक्स प्रिपियरेसन इन मस्ट यो योग्यता पुगेका इच्छुक स्वयम् सेवकले सम्पर्क गर्नु ।’ जबकी सो सूचनामा माइक्रोवायोलोजिष्टको नाम निशाना छैन । माइक्रोवायोलोजी अध्ययन गरेका विज्ञ र विद्यार्थीहरुले यो विज्ञापनको विरोध गरे । उनीहरुले भने, ‘देशले हामीहरुलाई नेपालमा साइन्स इन माइक्रोवायोलोजी सायद शिक्षण पेशा र मेडिकल रिप्रिजेन्ट (एमआर) को लागि मात्र हो की ? या त विदेशमा सजिलै भिसा पाउनका लागि ?’
त्रिभुवन विश्वविद्यालयको एमएस्सी इन माइक्रोवायोलोजीमा सार्स कोरोना भाइरसको अध्ययन अध्यापन नै हुन्छ । तर, अहिले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको भाइरस सार्स र मर्सभन्दा फरक छ । यद्यपी भाइरसको ’boutमा माइक्रोवायोलोजी अध्ययन गरेका जतिभन्दा अरुलाई कम मात्रामा जानकारी हुन्छ । कुनै पनि व्याक्टेरिया, भाइरस, प्यारासाइट र फञ्जाइले गराउने रोगको अध्ययन अध्यापन माइक्रोवायोलोजीमा हुन्छ । कोरोना भाइरस (कोभिड—१९) पनि एक प्रकारको भाइरस हो ।
त्रिवि माइक्रोवायोलोजी केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा.मेघराज वञ्जाराका अनुसार माइक्रोवायोलोजी अध्ययन गरेका विद्यार्थीहरु रोग निदानका ‘राइट’ मान्छे हुन् । उनले भने, मलिकुलर टेष्टको पढाई माइक्रोवायोलोजीमा हुन्छ । जिन पत्ता लगाउने काम मलिकुलर टेष्टले गर्छ ।’ कोरोना परिक्षणका लागि आवश्यक पर्ने प्रविधि रियल टाइम पिसीआर चलाउन माइक्रोवायोलोजिष्टहरुले सैद्धान्तिक र व्यावहारिक अध्ययनसमेत गरेका हुन्छन् ।
कोरोना परिक्षणका लागि आवश्यक पर्ने प्रविधि रियल टाइम पिसीआर चलाउन माइक्रोवायोलोजिष्टहरुले सैद्धान्तिक र व्यावहारिक अध्ययनसमेत गरेका हुन्छन् ।
त्रिविवि केन्द्रीय विभागमा रहेको प्रयोगशालाले कोरोना परिक्षण गर्न सक्ने जनाउँदै आएको छ । सरकारले किट उपलव्ध गराए आवश्यक जनशक्ति र परीक्षणका लागि आवश्यक उपकरण तयार रहेको त्रिविवि उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले बताए ।
कोरोना भाइरस (कोभिड–१९) महामारीले यतिवेला विश्व थला परेको छ । रोगलाई कसैले जित्न सक्दैन भनेझै यो महामारी युद्धभन्दा सानो छैन । महामारीसँग जुध्न संसार लागेको छ । तर, पनि हम्मेहम्मे परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । हालसम्म ४ जनालाई कोरोना पोजेटिभ रिपोर्ट देखिएको छ ।
सरकारकै भनाइअनुसार ८ सय २ जनाले कोरोना परिक्षण गरिसकेका छन् । तर, रोगको निदानमा अग्रणी भूमिका निर्वाह गर्ने दायित्व लिएका दक्ष जनशक्तिलाई सरकारले ‘बाइपास’ गर्दै आएको देखिन्छ । यो बेला त अधिकतम रुपमा दक्ष जनशक्तिलाई परिचालन गर्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन ।
कुनै पनि प्रयोगशालामा नमुना परिक्षणदेखि रोगको निदान, इपिडिमियोलोजी अध्ययन, रोकथाम नियन्त्रण अनुसन्धान गर्न माइक्रोवायोलोजिष्टको भूमिका अग्रणी मानिन्छ । यो विपतको समयमा त झन महत्व हुने भइहाल्यो । कोरनोभाइरस जोखिमको समयमा व्याक्टेरिया भाइरस, प्यारासाइट, फञ्जाइको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने काम माइक्रोवायोलोजिष्टहरुको हो । तर, त्यही जनशक्तिलाई न त सरकारले आधिकारिक मान्यता दिएको छ न त काममा खटाउने कुनै आधार तयार पारेको छ । रोगको पहिचानदेखि रोकथाम, भ्याक्सिन उत्पादन र गुणस्तरीयताको सुनिश्चिततामा माइक्रोवायोलोजिष्टको भूमिका अतुलनिय मानिन्छ ।
तर, स्वास्थ्य व्यवसायि परिषद्ले त्रिवीमा अध्ययन गरेका माइक्रोवायोलोजिष्टलाई दर्ता समेत गरेको छैन । हाल देशभर ४ हजार जनशक्ति छन् माइक्रोवायोलोजि उत्तिर्ण गरेका । तर, ती जनशक्तिको सदुपयोग नगरिँदा कोही शिक्षक छन् कोही एमआर छन् । नेप्लिज सोसाइटी फर माइक्रोबायोलोजीका अध्यक्ष प्रा.डा. प्रकाश घिमिरेले विपत्तिको बेला देशका दक्ष जनशक्तिलाई राज्यले अधिकतम उपयोग गर्न हिच्कएको बताए । उनले भने, ‘महामारीलाई चाँडै अन्त्य गर्न दक्ष जनशक्तिको उपयोग गर्न सरकारलाई आग्रह गर्छु ।’
भाइरस, व्याक्टेरिया, फञ्जाई, प्यारासाइटहरुको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने काम माइक्रोवायोलोजिको हो । तर, माइक्रोवायोलोजी अध्ययन पुरा गरेका जनशक्तिलाई सरकारले बेवास्था गर्दै आएको पाइएको छ । माइक्रोवायोलोजी संघर्ष समितिका अध्यक्ष सञ्जिब धितालका अनुसार माइक्रोवायोजिष्टहरु सरकारलाई यो विपतको घडीमा सहयोग गर्न चाहन्छन् । उनले भने, ‘हामी सहयोग गर्न तयार छौं सरकारलाई । तर, सरकारको सोंच नै संकीर्ण छ ।’