काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रिको आईपीओ आज जेठ ३२ गतेदेखि प्रिमियम मूल्यमा सर्वसाधारणका लागि बिक्री खुला भएको छ । घोराही सिमेन्टको सेयर प्रिमियम मूल्यमा खरिद गर्न सर्वसाधारण अनइच्छुक देखिएका छन् । यसअघि कम्पनीले प्रभावित क्षेत्रका स्थानीयबासी, वैदेशिक रोजगारीमा रहेका, म्युचुअल फण्ड र कम्पनीका कर्मचारीलाई छुट्याएर आईपीओ बिक्री खुल्ला गरेको थियो । तर, कम्पनीका कर्मचारी र प्रभावित क्षेत्रका स्थानीयबासीले आईपीओ खरिद गर्न खासै चासो देखाएनन । कम्पनीको आईपीओ बिक्री एकदमै न्यून भएको तथ्यांकले देखाउँछ ।
कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयलाई ३ लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई ७ लाख ५४ हजार ६६१ कित्ता, कम्पनीका कर्मचारीलाई ३ लाख ७७ हजार ३३१ कित्ता र म्युचुअल फण्डलाई पनि ३ लाख ७७ हजार ३३१ कित्ता गरी १९ लाख ६ हजार ५१३ कित्ता शेयर बिक्री खुल्ला गरेको थियो ।
कर्मचारीले ५ दशमलव १८ प्रतिशत अर्थात् १९ हजार ५३० कित्ता, स्थानीयबासीले १९ दशमलव ४६ प्रतिशत अर्थात् ७७२९० कित्ता मात्रै शेयर खरिद गरेका छन् । त्यस्तै वैदेशिक रोजगारीतर्फ ८० दशमलव ३५ र म्युचुअल फण्डतर्फ ८७ दशमलव १८ प्रतिशत मात्रै शेयर बिक्री भएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८ र १९ तथा बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ तथा रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३ र ४ का बासिन्दालाई उद्योग प्रभावितको सूचीमा राखिएको थियो ।
आरक्षित क्षेत्रमा बिक्री नभएको ८ लाख ७४ हजार ३८२ कित्ता सर्वासाधारणलाई थपेर कम्पनीले आजबाट ६९ लाख ११ हजार ६७० कित्ताका लागि आवेदन खुलाएको छ । कम्पनीले प्रतिशेयर १ सय रुपियाँ अंकित मूल्यमा ३ सय रुपियाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय रुपियाँका दरले उद्योग प्रभावित क्षेत्रका स्थानीयबासीका र अन्यका हकमा अंकित दरमा ३३५ रुपियाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपियाँका दरले शेयर निष्काशन गरेको थियो ।
अब सर्वसाधारण पनि प्रतिकित्ता ४३५ रुपियाँमा शेयर खरिद गर्नुपर्नेछ । कम्पनीको बास्तविक वित्तीय अवस्थाभन्दा फरक किसिमको भ्रमपूर्ण वित्तीय विवरणहरु सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको थियो । कम्पनीको अवस्था विवरणमा सञ्चारमाध्यममा आएजस्तो नभएपछि सामूहिक लगानीकोषहरूले समेत शेयर खरिद गर्न हच्किएका थिए । कम्पनीको वित्तीय विवरण पनि शंकास्पद रहेको लगानीकर्ताको भनाइ छ । कम्पनीले वित्तीय विवरणमा देखाएका सूचकहरूलाई पुनः भेरिफाइ गर्नुपर्ने लगानीकर्ताहरूले बताएका छन् ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १ अर्ब ८३ करोड २० लाख रुपियाँको कारोबार भएको देखाएको छ । तर, कम्पनीले चालू आर्थिक वर्षमा ९ अर्ब ८९ करोड २० लाख रुपियाँको कारोबार गर्ने प्रक्षेपण गरेको छ । कारोबारको स्थिति र लक्ष्य भेट्टाउन कम्पनीले सयौं गुणा व्यापार गर्नुपर्छ ।
साथै उद्योगको ह्रासकट्टी खर्चको लेखांकनसमेत शंकास्पद देखिएको छ । यस उद्योगको ह्रासकट्टी र पीपीईअनुपात ४ प्रतिशत मात्रै देखाइएको छ । कम्पनीले नाफा धेरै देखाउन र लगानीकर्तालाई झुक्काउन ह्रासकट्टी खर्चको लेखांकनमा छेड्खानी गरिएको आंशका छ । साधारण लगानी फिर्ता हुने अवधि ४ वर्ष ८ महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८ वर्ष ५ महिना रहेको छ ।
दाङको घोराही उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको उद्योग मानवबस्तीका बीचमा स्थापना भई वातावरण प्रदूषण बढाएर मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीयले उद्योग स्थानान्तरणको माग गर्दै आएका छन् । उच्च अदालत दाङले समेत उद्योगलाई वातावरण प्रदूषण हटाउन र वातावरण विभागले तय गरेका मापदण्ड पालना गर्दै तोकिएका उपकरणहरू जडान गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश र स्थानीयबासीको मागलाई उद्योगले बेवास्ता गर्दै आएको आरोप स्थानीयबासीको छ ।