स्याङ्जा । कृषि र पशुपंक्षीको व्यावसाय गर्दै आएका किसानहरुलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको छ । व्यावसायमा किसानलाई सहजता र उर्जा मिलोस भन्ने उदेश्यले कृषि उपकरणहरु अनुदानमा वितरण गरिएको हो ।
स्याङ्जाको वालिङ स्थित अकला नमुना साना किसान सहकारीले आफ्ना शेयर सदस्यहरुलाई व्यावसायीकतामा मद्धत पुराउन ५० प्रतिशतमा कृषि उपकरण प्रदान गरको छ । सहकारीले किसानलाई हातेट्याक्टर, कुटानीपिसानी गर्ने मिल, घासँ काट्ने मेसिन, स्पेयर, क्यारेट लगायतका कृषि उपकरण सामाग्री अनुदानमा वितरण गरेको जनाएको छ ।
समुहगत बनाएर कृषि र पशुपंक्षी पालनमा लगानी र प्राविधिक सहयोग गर्दै आएको सहकारीले किसानलाई अनुदानमा उपकरण वितरण गर्न थालेपछि हर्षित भएको सहकारी अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए ।
शेयर सदस्यलाई कृषि र पशुपंक्षीमा व्यवसायीकरण गराउने अभियानमा छौं अध्यक्ष अर्यालले भने,‘उत्पादन र बजारीकरणमा लागेका किसानले अनुदानमा उपकरण पाउछन् ।’ जसले किसानलाई अझै आफ्नो उत्पादन बढाउन मद्धत गर्नेछ उनले भने । व्यक्तिगत भन्दा पनि समुहगत बनाएर कृषि र पशुपालनमा सहकारीले जोड दिदै आएको अध्यक्ष अर्यालको भनाई छ ।
हामीले वितरण गरेका उपकरण सदुपयोग भएको छ वा छैन अनुगमन पनि गछौं उनले भने,‘सामाग्रीको सदुपयोग नभएको ठानिएमा सहकारीले पुन फिर्ता ल्याउछ ।’ फिर्ता ल्याइएको सामाग्री हामीले अर्को समहुलाई वितरण गर्ने छौं उनले भने ।
किसानहरुको मागका आधारमा सहकारीले कृषि उपकरण अनुदानमा दिने गरेको बताइएको छ । आफ्ना शेयर सदस्यहरुलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान अनुसार उनीहरुलाई गाईभैसी, बाख्रा, बंगुर, कुखुरा पाल्न सहजरुपमा कर्जाको समेत व्यवस्थापन मिलाईदिएको सहकारीका प्रवन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिइन् ।
किसानको माग र आवश्यकता हेरेर सामाग्री दिने गरेको उनको भनाई छ । उनका अनुसार ३ ओटा हाते ट्याक्टर, १० ओटा स्पेयर, २ ओटा तराजु, १० ओटा क्यारेट, १ घासकाट्ने मेसिन, कुटानी पिसानी गर्ने मिल १ लगायतका सामाग्री अनुदानमा वितरण गरेको बताइन् ।
सहकारीमा आवद्धता भएका शेयर सदस्यहरुले तरकारी खेती, गाईभैसी पालन, कुखुरा पालन लगायतका व्यवसाय गर्दै आएका छन् । सहकारीले लगानी पनि गरिदिने र बजारीकरणको पनि व्यवस्था मिलाईदिने काम गरेकाले शेयर सदस्य किसानलाई फाईदा मिलेको छ ।