धनगढी । धनगढी उपमहानगरपालिकाले कैलालीका सुरक्षा निकायलाई विपद व्यवस्थापन सम्बन्धी आवश्यक पर्ने सामग्री उपलब्ध गराएको छ ।
उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीलाई सम्भावित जोखिमको समयमा आवश्यक पर्ने विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरू शुक्रबार उपलब्ध गराएको हो ।
वर्षायामका समयमा बाढी र डुबानबाट ठूलो धनजनको क्षति हुने गरेको छ । विपतको बेला सुरक्षा निकायसँग आवश्यक पर्ने विभिन्न सामग्री अभाव हुने गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै यहाँका सुरक्षा निकायलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको धनगढी उपमहानगरपालकिाका नगरप्रमुख गोपाल हमालले बताए ।
उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर धनगढीलाई लाइफज्याकेट २०/२० वटा, हेलमेट २०/२० वटा, गमबुट (पानी बुट) १५/१५ जोर, स्टेक्चर १५/१५ वटा, हेन्ड माईक १/१ वटा र फलामको बाल्टी १५/१५ वटा उपलब्ध गराएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
वर्षायाम लागेसंगै सम्भावित विपतको सामना गर्न उपमहानगरपालिकाले प्रदान गरेका यी सामाग्रीहरू आवश्यक पर्ने सुरक्षा निकायका पदाधिकारीहरूले बताए ।