लमजुङ । लमजुङको दारको काठबाट बनाइने उपहारका विभिन्न वस्तुहरूको बजारका लागि पालिकाले पहल गर्ने भएको छ । जिल्लाको पूर्वीक्षेत्रस्थित दोर्दी गाउँपालिका–८ को हिलेबजारमा परम्परागत सीपका आधारमा दारको काठबाट विभिन्न प्रकारका उपहारयोग्य वस्तु बनाइने गरेका छन् । सो कला र सीपको संरक्षण र प्रवद्र्धनका लागि गाउँपालिकाले बजारको नीतिगत रूपमै पहल गर्ने भएको छ ।
घरेलु उद्योगका रूपमा निर्माण गरिएका ती वस्तु सबै दार जातको एक रूखबाट बन्ने गर्छ । दोर्दी गाउँपालिका–८ को हिलेबजार निवासी राजेन्द्र विश्वकर्माले ती सामग्री बनाउँदै आएका छन् । उनी त्यो सीप आफ्नो पारिवारिक विरासतका रूपमा पाएको बताउँछन् । उनले बाजेबराजुका पालादेखि बनाउँदै आएको त्यो कला र सीप पुस्तान्तरण एवं हस्तान्तरण गरिँदै आएको बताए ।
उनले भने, ‘मैले मेराबा जुठे विकलाई देख्न पाइनँ, म दुई वर्षको हुँदा नै बितेका हुन् रे ! मेरो जेठो दाइ कृष्णबहादुर विकले ‘बा’बाट सिकेका रहेछन् । मैले उनैसँग यो सीप सिकेको हुँ । अहिले दाइ ६० वर्षको भए, आँखा देख्दैनन्, काम गर्न नसके पनि नयाँ नयाँ डिजाइन उनले नै हामीलाई योयो तरिकाले यसरी गर भनेर सिकाउँछन् ।’
उनको परिवारमा पनि राजेन्द्रले मात्रै व्यावसायिक रूपमा त्यो काठबाट भाँडावर्तन बनाउने काम गर्ने रहेछन् । कहिलेकाँही बहिनी ज्वाइँ सोमबहादुर विकले गर्ने उनले सुनाए । काइला दाइले कहिलेकाहीँ अर्डर आयो भने र चाडबाड मनाउने खर्च चाहिँदा बनाउने गर्छन् । अरू त यो ’roundमा यस्तो काम गर्ने व्यक्ति आफूले थाहा नपाएको उनी बताउँछन् ।
उनका अनुसार दारको रूखबाट आधा मानादेखि ३६ मानासम्म जाने ठेकी, करुवा, कप (खुट्टा भएको र नभएको), पुचैं (स्थानीय रक्सी खाने भाँडो), आलेपुङ (यो पनि रक्सी खाने भाँडो नै हो) बनाउने गरिएको छ ।
एउटा ठेकी एक माना (आधा लिटरको)देखि चार मानासम्मका लागि एउटै मूल्य पर्छ । किनकि, जत्ति सानो भयो उत्ती बनाउन मेहनत गर्नुपर्नेहुन्छ ।
राजेन्द्रका अनुसार पाँच मुठीको पनि ठेकी बनाउन सकिन्छ तर त्यो महँगो पर्छ । ती ठेकीलाई सरदर १ हजार ५ सय रुपैयाँ पर्छ । त्यसपछि, माथिको ठेकीको क्षमता अनुसार प्रतिमाना २ सय ५० का दरले मूल्य पर्ने उनको भनाइ छ ।
‘बाजे, बाबुका पालामा राँभो (प्याल पार्ने), बसिला (ताछ्ने), छिनो (प्वाल पार्ने), रञ्जा (मस्याइलो बनाउने), आरो (काठ चिर्ने)जस्ता मेसिनको प्रयोगबाट यो काम हुन्थ्यो । अहिले आधुनिक विद्युतीय मेसिनबाट त्यो काम गर्दै छौं,’ उनले भने ।
ती सामग्री बनाउन योग्य हुन दारको रूख कम्तीमा २० वर्ष पुरानो हुनुपर्ने उनले बताए । ‘दारको रूख जति वर्ष पुरानो भयो, त्यस्ताबाट बनाइएका सामग्री त्यति नै बढी वर्ष खप्ने÷टिक्ने हुन्छन्, ३० वर्षसम्म पुराना रूख हामीले प्रयोग गरिरहेका छौं,’ राजेन्द्रले अनुभव सुनाए । उनले भने, ‘दारको रूखको साइज हेरेर सबैभन्दा सानो रूखलाई पाँच हजार, ठिकैको रूखलाई १० हजार रुपैयाँ र सबैभन्दा ठूलो रूखलाई १५ हजार रुपैयाँसम्ममा किन्ने गरेको छु ।’
उनले बनाउने उपहारका सामग्रीमा दारको ठेकीबाहेक, करुवा, एकमाना १५ मुठी जाने बन्छ । अर्को उपहारकै लागि योग्य हुने वस्तुमा ग्लास पनि छ । ग्लासमा बिर्को भएको र नभएको गरी दुई प्रकारको छ । बिर्को नभएको मूल्य ५ सय र बिर्को भएको ८ सय रुपैयाँ तोकिएको छ । तीबाहेक पुचैं (स्थानीय रक्सी खाने भाडो), आलेपुङ (यो पनि रक्सी खाने भाडो नै हो) तर अलिक अग्लो ठेकी जस्तो हुन्छ । विवाह, मन्दिरमा चढाउने वस्तु पनि हो यो । यी सबै आफूले बनाउने गरेको उनले सुनाए ।
पैंचु र आलेपुङको मूल्य १५ सयदेखि २ हजारसम्म पर्ने उनको भनाइ छ । यस पेसालाई व्यावसायिक बनाउन उनले गत वर्ष कृष्ण हस्तकला उद्योगका नाममा सो उद्योगको पर्यटन तथा घरेलु कार्यालयमा दर्तासमेत गरेका छन् । यसरी दर्ता गर्नुको उद्देश्य कतैबाट सहयोग पाइन्छ कि † भन्ने उनको आशा पनि रहेछ । उनले भने, ‘तर, यो समाचार तयार गर्दाका दिनसम्म कतैबाट पनि सहयोगका नाउँमा एक रुपैयाँ पनि पाएको छैन ।’
ती सामग्रीको बजारको समेत समस्या रहेको उनले सुनाए । उनका अनुसार बनाउनै गाह्रो, बल्ल तल्ल बनायो बिक्री गर्नै गाह्रो हुन्छ । ‘डोकोमा बोकेर घर गाउँ डुल्दै बिक्री गर्ने हो,’ राजेन्द्रले भने । उनले थपे, ‘बेंसीसहरको एक पसलमा तीनपटक गरेर डेढ लाख जतिको सामान लगेर छाडेको सुका पैसा पनि दिएन । अहिले त पहिलेको ठाउँमा पसल पनि छैन । फोन पनि उठाउँदैनन् ।’
यतिका काठ चाहिने भएपछि त दारको त खेती नै गर्नुपर्छ होला नि ? भन्ने जिज्ञासामा उनले भने, ‘म त सुकुमबासी हो, पोहोर सालको बाढीले बनाएको घर, मेसिन सबै लग्यो ।’ राहत पाउनु भएन ? भन्ने जिज्ञासामा भने, ‘अहिलेसम्म कसैले केही सहयोग गरेको छैन । २० बोरा जति चामल विभिन्न संघसंस्था, व्यक्तिबाट र प्रदेश सरकारबाट १० हजार रुपैयाँ भोलिपल्टै पाएको हो, त्यसपछि केही पाएनौं ।’
उनले बाढीले घरसँगै काठका सामग्री बनाउने मेसिन पनि बगाएर बेपत्ता बनायो । अर्को नयाँ मेसिनलाई जडान गर्दा १ लाख खर्च भएको र त्यो पनि ऋण गरेर किनेको तिर्न नसकेको उनले सुनाए । उनको परिवारमा तीन छोरा र श्रीमती छन् । कान्छो छोरा भर्खर जन्मेको र अरू दुईवटा कक्षा ८ र ३ मा पढ्ने उनले सुनाए । ‘उनीहरू सबैलाई आफ्नै कमाइका भरमा लालनपालन गर्ने गरिआएको छु,’ उनले भने ।
यस्तो परम्परागत सीपको संरक्षण र प्रवद्र्धनका लागि अब गाउँपालिकाले विभिन्न कार्यक्रममा वितरण गरिने अन्य प्रकारका मायाको चिनोहरूलाई निरुत्साहित गरी यस्ता सामग्रीलाई प्राथमिकता दिने योजनामा रहेको सोही गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।
उनले भने, ‘आउँदो आर्थिक वर्षमा यसका लागि नीति, कार्यक्रम र योजनासमेत बनाएर त्यो कार्य गर्न लागेका छौं । नीतिगत निर्णय भइसक्यो, गाउँपालिकामा पारित भइसकेको छ । अब हामी यसलाई स्थायित्व दिन योजना बनाउने तयारीमा छौं ।’






