काठमाडौं । आर्थिक वर्ष २०७६-७७ को ७ महिनामा कुल वस्तु निर्यात २२.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात ३८.० प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२.७ प्रतिशत र अन्य मुलुकतर्फ २.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिस्टर तथा अन्य), लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोसाक, जुस, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७६-७७ को ७ महिनामा कुल वस्तु आयात ३.६ प्रतिशतले घटेर ८ खर्ब ०३ अर्ब ६० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ८.० प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.८ प्रतिशत र ०.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, मेसिनरी तथा पार्ट पुर्जा, कच्चा सोयाविन तेललगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागोलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोसाक, जुस, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ
निर्याततर्फ वीरगन्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
आर्थिक वर्ष २०७६-७७ को सात महिना अर्थात् साउनदेखि माघसम्ममा कुल वस्तु व्यापार घाटा ५.३ प्रतिशतले संकुचन भई ७ खर्ब ३८ अर्ब ६३ करोडमा सीमित हुन पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २७.१ प्रतिशतले वृद्धि भएको थियो । सात महिनाको अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.४ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७६ माघ महिनामा भन्सार तथ्यांकमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकांक १.० प्रतिशतले घटेको छ भने आयात मूल्य सूचकांक ३.६ प्रतिशतले बढेको छ । २०७५ माघ महिनामा वार्षिक बिन्दुगत आधारमा १.१ प्रतिशतले घटेको व्यापारको सर्त २०७६ माघ महिनामा ४.४ प्रतिशतले घटेको छ ।
केन्द्रीय बैंकले गरेको अध्ययनअनुसार समीक्षा अवधिमा खुद सेवा आय ४ अर्ब ११ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ९ अर्ब ४९ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत भ्रमण आय समीक्षा अवधिमा १५ प्रतिशतले वृद्धि भई ४९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४२ अर्ब ६० करोड रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २१.१ प्रतिशतले घटी ४३ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २१ अर्ब ३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब २८ करोड रहेकोमा शिक्षातर्फको व्यय २८ अर्ब ६६ करोेड रहेको थियो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६-७७ को माघ महिनासम्ममा कुल वस्तु निकासी अघिल्लो वर्षको सोही अवधिको ५३ अर्ब ८ करोडको तुलनामा २.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ९७ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु निकासी १.५ प्रतिशतले वृद्धि भएको थियो ।
चालू आर्थिक वर्षको माघ महिनासम्ममा भारततर्फको निकासी ३८.० प्रतिशतले बढेको छ भने चीन र अन्य देशहरूतर्फको निकासी क्रमशः १२.७ प्रतिशत र २.४ प्रतिशतले घटेको छ । चालू र्आिर्थक वर्षको पहिलो सात महिनामा प्रशोधित पाम आयल, अलैंची, जुटका कपडालगायतका वस्तुको निकासी बढेको छ । आर्थिक वर्ष २०७६÷७७ को माघ महिनासम्ममा कुल वस्तु पैठारी ८ खर्ब ३ अर्ब ६० करोड रहेको छ । यस्तो पैठारी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले न्यून हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो पैठारी २६.० प्रतिशतले बढेर ८ खर्ब ३२३ अर्ब २७ करोड रहेको थियो । चालू आर्थिक वर्षको माघ महिनासम्म भारतबाट भएको पैठारी ८.० प्रतिशतले घटेको छ भने चीन र अन्य देशबाट भएको पैठारी क्रमशः ९.८ प्रतिशत र ०.८ प्रतिशतले बढेको छ । मुख्य पाँच वस्तुको पैठारी मूल्यको आधारमा हेर्दा चालू आर्थिक वर्षको पहिलो सात महिनामा पेट्रोल, मलखाद, मोबाइललगायतका वस्तुको पैठारी बढेको छ भने डिजेल, तयारी कपडा, एलपी ग्याँसलगायतका वस्तुको पैठारी घटेको छ ।