व्यापार घाटा १५.२ प्रतिशतले कमी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको जनाएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण अनुसार कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ कायम भएकोछ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ खर्ब ८८ करोड बराबरको भएको थियो ।

सवारीसाधनकाे आयात घट्दा अलैंची र गलैँचाको निर्यात बढ्यो

गत जेठसम्म कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड,अलैंची, ऊनी गलैंचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९-८० को ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाब्एको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । 

 वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

जेठमा मुद्रास्फीति ६.८३ प्रतिशत
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको जनाएको छ । 

राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण अनुसार गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको बैंकले जनाएको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.२९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थतथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.३३ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ७.८३ प्रतिशतले बढेको छ । 

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानदेखि धनगढीसम्म स्वतन्त्र