उदयपुर । उदयपुर प्रहरीले एक अर्ब रुपैयाँभन्दा बढी ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सात सदस्यलाई पक्राउ गर्न सफल भएको छ । उनीहरूले विभिन्न प्रविधि, फेसबुक, मेसेन्जर, भाइवर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल उपयोग गर्दै विभिन्न व्यक्तिबाट एक अर्ब नौ करोड रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, पक्राउ पर्नेमा ३ जना आईटी इन्जिनियर छन् । पक्राउ परेकाहरू भारत र नेपालको नागरिक रहेको जनाइएको छ ।
प्रहरीका अनुसार उनीहरूको सञ्जाल विश्वभर नै देखिएको छ । पक्राउ पर्नेमा भारत उत्तराखण्ड राज्यको राज्य पौडी गढवाल, एमकेश्वर ब्लक घर भएका ३६ वर्षीय आईटी इन्जिनियर प्रवीण भट्ट, राजविराज नगरपालिका–१ डुम्रीका २५ वर्षीय डम्बर साह, सप्तरी बिष्णुपुर गाउँपालिका–२ सिम्राहाका २० वर्षीय निरजकुमार साह रहेका छन् ।
त्यसैगरी, बिराटनगर महानगरपालिका– २० घर भएका हेमराज साह, गुल्मीको इस्मा गाउँपालिकाका– ५ का ३२ वर्षीय धु्रव थापा, झापाको झापा गाउँपालिका–१, बेलैतीबारीका ३१ वर्षीय बरजहान सेख र कलैया उपमहानगरपालिका–२० वसन्तपुरका २३ वर्षीय रुस्तम मन्सुरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संलग्न अन्य १० जना फरार रहेको जनाएका छन् । उनीहरूको खोजी जारी रहेको जनाइएको छ ।
उदयपुरको कटारी नगरपालिका–४ का ३६ वर्षीय सरिता तामाङले दिएको ठगीको उजुरीको आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ परेको हो ।
तामाङलाई गुडनेस इजरायल नामको फेसबुक म्यासेन्जरबाट सम्पर्क गरी साथी बनाई कुराकानी गर्दै प्रभोलनमा पारेर ठगेका थिए । साथी भएपछि उनीहरूले ७० हजारको अमेरिकी डलर बराबरको पार्सल पठाइ दिएकाले एयरपोर्टमा सो सामान रोकिएको भन्दै फोटो पठाइएको थियो । जति सक्दो छिटो सामान लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कर तिर्नुपर्ने भन्दै एक लाख ३० हजार ६ सय २७ रुपैयाँ ठगेका थिए ।
प्रहरीले अभियुक्तविरुद्ध अनुसन्धान गर्दै जाँदा पार्सल पठाएको र चिठ्ठा परेको भन्ने प्रचार गरेको, जुवा, हुन्डी कारोबारमा संलग्न भएको प्रमाणबाट खुलेको छ । अभियुक्तले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सूक्ष्म रूपमा व्यक्तिको आर्थिक हैसियत, सोचाइ तथा व्यावहारिक ज्ञानको बुझाइ र भावनात्मक अवस्थाको अध्ययन गरी ठग्दै आएका थिए । साइबरसम्बन्धी ज्ञान भएका ती सबैले फेसबुक, म्यासेन्जरलगायत सामाजिक सञ्जालमार्फत् फ्रेन्ड रिक्वेस्ट पठाउने तथा कल गरेर साथी बनाई प्रभोलनमा पार्ने गरेको देखिन्छ । सामान्य व्यक्तिलाई अग्रपंक्तिमा देखाएर मुख्य व्यक्तिहरू भने आफू सुरक्षित बच्ने प्रयास गरेको पनि खुलेको छ ।
अभियुक्तविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराधसम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान कार्य अघि बढेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।
उनीहरूलाई सार्वजनिकीकरणपछि नागरिकलाई अपरिचित व्यक्तिले पठाएको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्न, सामाजिक सञ्जाल प्रयोग गरेपछि लग आउट गर्न, पासवर्ड र पीनकोर्ड सेयर नगर्न, समय समयमा सामाजिक सञ्जालको पासवड परिवर्तन गर्न र विशेषगरी भारतको कोड नम्बर ००९१ र पाकिस्तानको ००९२ बाट आएको फोन कललाई शंकास्पद मान्ने, नबुझी लिंकमा क्लिक नगर्ने, ओटीपी अरूलाई सेयर नगर्ने र सामाजिक सञ्जालमा आफ्नो मुभमेन्टहरू सेयर नगर्न अनुरोध समेत गरेको छ ।