इटहरी । अन्य समयमा खाजा खाने समय सकिएपछि कक्षा सञ्चालन हुन्थ्यो । तर, बिहीबार दिउँसो भने विद्यार्थीहरूले खाजा खाइसकेपछि भने सभाहलतर्फ भेला भए । कसैले कविता सुनाउन थाले त कोही दर्शक बने ।
२१० औँ भानु जयन्तीको अवसर पारेर बिहीबार विद्यालयका कविता प्रतियोगिताको आयोजना गरिएको हो । विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलका अनुसार प्रतियोगितामा कूल ३० जना विद्यार्थी सहभागी थिए । प्राथमिक तहदेखि नै प्रतियोगितामा सक्रिय भएका विद्यार्थीहरूलाई सृजनशील बनाउन उत्प्रेरित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए ।
‘हामीले स–साना विद्यार्थीहरूलाई पनि सृजनशील बनाउनका निम्ति यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छौँ,’ उनले भने, ‘यस्ता प्रतियोगिताले विद्यार्थीलाई सृजनशील बन्नसँगै अगाडि गएर बोल्न पनि सिकाउने भएकाले हामीले भानु जयन्तीको अवसर पारेर यो किसिमको कार्यक्रम गरेका छौँ ।’
प्रतियोगितामा कक्षा ६ की छात्रा रुस्मिता खत्री प्रथम भइन् । यस्तै, कक्षा १० का छात्र रेवन्त कार्की र उज्जवल निरौला क्रमशः द्वितीय र तृतीय भए । उनीहरूलाई पुरस्कार प्रदान गरियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव वाग्लेले विद्यार्थीहरूको क्षमता अभिवृद्वि गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगितामा विद्यार्थीहरूले कविता सुनाएका थिए भने शिक्षक, शिक्षिकाहरूले पनि उत्तिकै सक्रिय सहभागी जनाएर कविता सुनाए ।
‘विद्यार्थीहरूलाई विभिन्न समयमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदा उनीहरूको क्षमता वृद्विसँगै प्रतिभा प्रस्फुटन हुन्छ,’ उनले भने, ‘कक्षागत र विषयगत सिकाईबाहेक पनि विद्यालयले रचनात्मक काममा पनि विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको छ ।’
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पौडेलसहित शिक्षकहरू सुवास निरौला, निकेश डाँगी र शिक्षिका सरिता काफ्लेलगायतले पनि कविता सुनाएका थिए ।
