स्वास्थ्य मन्त्रीज्यू नमस्कार
नमस्कार !
यो महामारीको समय छ, केही बोलिदिनुस् न ?
मन्त्रीः अहिले छोडिदिनुस, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्यूसँग सानो मिटिङमा छु ।
पत्रकारः बरु समय मिलाउनुस न मन्त्रीज्यू, जनताले तपाईको कुरा सुन्न चाहन्छन् ?
छोडिदिनुस् प्रवक्ताज्यूलाई सोध्नुहोस, सबै उहाँ बोल्नुहुन्छ ।
स्वास्थ्य मन्त्रीले आवश्यकता पर्यो भने पत्रकार सम्मेलन गर्छन्, पत्रकारहरुलाई बोलाउनु भन्छन् । अघि पछि ‘इग्नोर’, एक स्वास्थ्य पत्रकारले भने । ‘हामीलाई त प्रयोग गर्ने न हो ।’
वास्तवमा यो विपतको घडीमा स्वास्थ्य मन्त्रालयको बागडोर सम्हालेका स्वास्थ्यमन्त्रीले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने हो । त्यति मात्र होइन नेतृत्व पनि लिनुपर्ने हो, कुटनीतिले मात्रै काम चल्दैन । स्वास्थ्य पत्रकारले केही बोलिदिनुहोस् भनेर आग्रह गर्दा उनी आफै भन्छन्, ‘घरमा पाहुना आउनुभएको छ, अहिलेलाई नबोलौं ।’
स्वास्थ्य मन्त्रीको काम स्वास्थ्य मन्त्रालयमात्रै नेतृत्व गर्ने होइन, स्वास्थ्य क्षेत्रको ‘रोडम्याप’ कोर्ने हो । थाह थियो, छिमेकी देश चीनको वुहानबाट सुरु भएको महामारी हो भनेर । जब पर्यो राति, तब…. भने झैं गरिरहेको छ स्वास्थ्य मन्त्रालय ।
– यो बेला त सबै स्वास्थ्यजन्य उपकरणहरु तयारी अवस्थामा हुनुपर्ने हो ।
– कोरोना अस्पतालहरु तयारी अवस्थामा हुनुपर्ने हो ।
– अन्य विरामीका लागि सेवा सहज र सरल हुनुपर्ने हो ।
– विरामीहरुले उपचार नपाइ पीडा दवाएर बस्नु नपर्ने हो ।
– अस्पतालको लुटतन्त्रलाई नियमन गर्नुपर्ने हो ।
– स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्ने हो ।
– चिकित्सकहरुको भावना बुझेर अघि बढ्नुपर्ने हो ।
– विरामीको व्यथा, पीडा, मर्म बुझ्नुपर्ने हो ।
तर, स्वास्थ्यमन्त्री ‘पेन्डुलम’ बनेका छन् । उनले निर्णय हामीले गर्यौ भन्छन्, ‘खोई आम नागरिकले निर्णय कार्यान्वयनको महसुस गर्न पाएको ।’ स्वास्थ्य मन्त्रालयले गठन गरेका समितिका अधिकारीहरु ‘चु’ बोल्न मान्दैनन् । यदि देखिने गरी काम गरेको भए त आम नागरिकले महसुस गर्थे होला ।
सिभिल अस्पतालमा केही दिनअघि लकडाउनकै समयमा एक विरामी पुगे । ज्वरो र रुघा लागेर पुगेका ती विरामीले भने, ‘सिभिलले त ज्वरो आयो भनेर फर्काइदियो ।’ अहिले तमाम निजी अस्पताल र फार्मेसीहरुमा भोटे ताल्चा लागेको छ ।
स्वास्थ्य मन्त्रीज्यूलाई मेरो सुझाव, यो विपतको समयमा जनताले अनुभूति गर्ने गरी काम अघि बढाउनुहोस, बोल्दैमा पैंसा तिर्नुपर्दैन ।
आइतवार स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीलाई फोन गरे ।
सर नमस्कार, यो बेलामा त अस्पतालले विरामी चेक गर्दैनन्, चेक गरेपनि एकदम शुल्क महगों भयो, अनुगमन कसरी गर्दैहुनुहुन्छ ?
लोहनीले भने, मलाई नसोध्नुहोस प्रवक्ताज्यू हुनुहुन्छ ।
लगत्तै आइतवार ४ बजेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भने, ‘विपतको बेला दुःख दिने अस्पताललाई कारवाहप् गर्न नपरोस ।’
तर, यो भनाइ व्यवहारमा कार्यान्वयन हुँदैन न त अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी अनुगमन गरुन् । न त सरकारी निकायका कुनै आधिकारिक व्यक्तिले नै । यदि अनुगमन गरेको भए खोई कारवाही भएको, लुटतन्त्र त रोकिएको छैन नी ?
यो विपतको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यजन्य सामाग्री खरीदमा नराम्ररी चुकेको छ । स्वास्थ्य मन्त्रालयमा आपत्कालीन सेवा केन्द्र छ, कम्तीमा पूर्व तयारी हुनुपर्ने होइन । रातारात सामान खरीद गर्नुपर्ने । यो भन्दा गैरजिम्मेवार भूमिका के हुन्छ ।
स्वास्थ्यजन्य सामाग्री खरिदमा अनियमितता गरेको भन्दै सर्वत्र विरोध भइरहेको छ । सप्लायर्सहरुले समेत स्वास्थ्य मन्त्रालय गैरजिम्मेवार भन्न थाले । एक व्यवसायीले भने,‘ यही मन्त्रालय ३ सयको मास्क बिक्री भयो भन्दै कालोवजारी गरेको भन्दै कारवाहिमा उत्रियो तर, यही सरकारले चौगुणा मँहगों मूल्य तिरेर मास्क खरिद गरेको छ ।’
सरकारले पिपिईलगायत सामग्री खरिदमा आफूनिकट व्यवसायी खोजेको रसायन तथा मेडिकल आपूर्ति संघले दाबी गरेको छ । संघले सरकारले निश्चित व्यापारीलाई फाइदा पुग्ने गरी चीनबाट पिपिईलगायत सामग्री खरिद गरेको आरोप लगाएको हो । तर, स्वास्थ्य मन्त्रालयले विषम परिस्थितीमा खरीद गरेको भन्दै केहि महगों मूल्य परेको बताउँछ ।
खरिद प्रक्रियाको अन्तिम चरणमा आफूहरूलाई संलग्न नगराई सरकारले सीमित व्यवसायीलाई खरिदको जिम्मा दिएको संघले जनाएको छ । १९ जना व्यवसायीले आवश्यक सामग्री खरिदको कोटेसन आह्वानमा निवेदन दिएको तर अन्तिममा उक्त प्रक्रिया पूरा नगरी सरकारले अर्कै व्यवसायी खोजेको संघले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत् व्यवस्थापन महाशाखामाको निर्देशकमा छन् भोगेन्द्र डोटेल । सोही महाशाखामा रहेका केही कर्मचारीहरुलाई अख्तियारमा उजुरी पनि परेको छ । ती व्यक्तिहरु समेत स्वास्थ्यजन्य सामाग्रि खरिद प्रकरणमा व्यवसायीहरुसँगको छलफलमा सामेल भएको पाइएको छ । स्वास्थ्यका एक कर्मचारीले भने, ‘कमीसनका लागि चलखेल भयो । अख्तियार उनैको हातमा छ के गर्नु छ र ?’
आइतबार विज्ञप्ति जारी गरी संघले प्रचलित बजारभाउभन्दा अधिक मूल्यमा आधिकारिक स्रोत नखुलेका र गुणस्तरको थाहा नलागेका सामग्री खरिद गरिएको जनाएको छ ।
स्वास्थ्य मन्त्री बोल्न पैंसा पर्छ भने झै पत्रकारसँग बोल्न हिचकिचाउँछन् । स्वास्थ्य मन्त्रीज्यूलाई मेरो सुझाव, यो विपतको समयमा जनताले अनुभूति गर्ने गरी काम अघि बढाउनुहोस, बोल्दैमा पैंसा तिर्नुपर्दैन । राम्रो काम गरे डगमगाउनु पर्दैन ।