इटहरी । मध्यदिउँसो मधुरो घाम लागिरहेको छ । तर गर्मी भने चर्को छ । घरको आँगनमा पाँच महिने छोरा च्यापेर छटपटिरहेकी छन्, साजनकुमारी चौधरी ।
५ साउनको राति १०ः४० बजेतिर इटहरी–१७ कान्छीचौकमा चार जना सवार मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा तीन जनाको मृत्यु भयो भने एक जना गम्भीर घाइते छन् । गम्भीर घाइते इटहरी–१६ का २७ वर्षीय प्रेम चौधरीकी श्रीमती हुन्, साजनकुमारी । प्रेमको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
अचेत अवस्थामा रहेको प्रेमको अझै होस आएको छैन । डाक्टरले बचाउने आश्वासन दिएका छन् । तर, आर्थिक अवस्था दयनीय हुँदा साजनकुमारी अहिले सहयोगको चित्कार गरिरहेकी छन् । उनी आफ्ना श्रीमानको उपचारका लागि सहयोग जुटाउन एकातिर चित्कार गरिरहेकी छन् भने अर्कोतर्फ आफ्ना नाबालक छोराछोरीको हेरचाहमा पनि उत्तिकै समय खटिरहेकी छन् । सँगै, घरायसी काममा पनि व्यस्त छिन् ।
‘खर्च अभावका कारण र अस्पतालले भनेजति पैसा जुटाउन नसक्दा उपचारमै समस्या हुने हो कि भन्ने पीर छ,’ मलिन चेहरामा साजनकुमारीले भनिन्, ‘सकेसम्म चाँडै धेरै पैसा जुटाउन पाए बचाउन सकिन्थ्यो कि ?’
उनले १० वर्षअघि प्रेमसँग प्रेमविवाह गरेकी हुन् । दिनभर मजदुरी (ज्यालादारी) काम गरेर जीविकोपार्जन गर्दै आएका उनको परिवारसँग अहिले कमाउने मान्छे नै अचेत अवस्थामा रहेपछि अवस्था थप असहज बन्दै गएको छ ।
‘छोरी पाँच कक्षामा पढ्दै छिन्, छोरा भर्खरै पाँच महिनाको मात्रै भयो, घरायसी कामसँगै छोराछोरीको हेरचाह गर्दै दिन बित्छ,’ उनले भनिन्, ‘कमाउने मान्छे नै दुर्घटनामा परेर अस्पतालमा हुँदा बिचल्ली भएको छ ।’
खर्च अभाव भएकाले अहिले केही रकम भने जुटिरहेको उनले बताइन् । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने आश्वासन दिएका छन् । त्यससँगै स्थानीयले पनि सहयोग जुटाइरहेका छन् । एकै गाउँका तीन जनाको निधन हुँदा गाउँ नै शोकाकुल बनेको छ । गम्भीर घाइते बनेका प्रेमलाई भने उपचार खर्च जुटेमा बच्न सकिने आशा छ ।
प्रेमका आफन्त मिलन चौधरीले उनीहरूको आर्थिक अवस्था दयनीय रहेकाले स्थानीय सरकार, सहयोगी दाता र विभिन्न निकाय गुहारेको बताए । ‘ज्याला मजदुरी गरेर खाने मान्छे अहिले अस्पतालमा हुँदा निकै समस्या छ,’ मिलनले भने, ‘उपचारका लागि अनुमानित २५ लाख रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।’ उनले अहिले आफूहरूले सहयोगका लागि दातालाई गुहारेको बताए ।
परिवारजनका अनुसार प्रेम ५ साउनको दिन स्थानीय कपिल चौधरीको ससुराली घर सुनसरीको मधेस गएका थिए । प्रेमसँगै स्थानीय २६ वर्षीय करण चौधरी कपिलको ससुराली घर पाहुना गएका थिए । तर, राति ८ बजेतिर घर फर्किने क्रममा बिच बाटोमा आएपछि मोटरसाइकल बिग्रिएपछि गाउँकै साथीहरू २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीलाई लिन बोलाए । दुई जना मान्छे भएका कारण दुईवटा मोटरसाइकलमा आउने विश्वासले बोलाए पनि शम्भु र अनिनेश एउटै मोटरसाइकलमा गए । त्यसपछि चारै जना एउटै मोटरसाइकलमा आउने क्रममा पिकअपसँग ठक्कर भई दुर्घटना भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदैै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो । हालसम्म मोटरसाइकल चालक को हो भन्ने पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले भने ट्राफिक जाँचमा रहेका प्रहरीलाई छलेर भाग्ने क्रममा तीव्र गति हुँदा पिकअपसँग ठोक्किएको जनाएको छ ।
दुर्घटनामा करण, शम्भु र अनिनेशको मृत्यु भएको थियो । उनीहरूको साउन ६ गते इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । दुर्घटनामा सवार पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
दुर्घटनामा गम्भीर रहेका प्रेमलाई बचाउन आर्थिक सहयोग आवश्यक पर्ने भएकाले अहिले परिवारजनले सहयोगको चित्कार गरेका छन् । साजनकुमारीको इटहरीस्थित प्रभु बैंकको २६७७०६६१५०८०००१८ खाता नम्बरमा सहयोगको समेत अपिल गरिएको छ । साथै, उनको मोबाइल नम्बर ९८२७३७३३०३ मा पनि सम्पर्क गर्न सकिने बताइएको छ ।