सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभीड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि विभिन्न जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरीका लागि आएका श्रमिकहरुलाई सुरक्षित रुपमा घर फिर्ता गरिने भएको छ ।
अन्य जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरी गर्न आएका र जिल्लाबाट अन्यत्र गएका श्रमिकहरुलाई स्थानीय सरकारको समन्वयमा पास उपलब्ध गराएर घर फिर्ता गर्ने निर्णय भएको छ ।
जिल्लामा गठित कोरोना भाइरसको रोकथाम, नियन्त्रण । उपचारको लागि जिल्लामा गठीत कमाण्ड फोर्सले यस्तो निर्णय गरेको फोर्सका संयोजक एवम प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
अन्य जिल्लाबाट आएका मजदुरहरुलाई स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र अन्य जिल्लामा जाने मजदुरहरुका लागि स्थानीय तहले तथ्यांक संकलन पछि स्थानीय तहको सिफारिस र प्रहरी प्रतिवेदनका आधारमा सम्बन्धित जिल्लामा फर्काइने प्रजिअ ढकालले जानकारी दिए ।
लकडाउनपछि खाद्यन्न, ग्याँस लगायत अति आवश्यक सामग्रीको ढुवानी र वितरणका लागि उद्योग बाणिज्य संघसँग सहकार्य गरेर वितरण गर्ने र त्यसको अनुगमणका लागि समितिसमेत गठन गरिएको छ । सबै स्थानीय तहमा स्थापना गरिने क्वारेन्टाइनको अनुगमण र दैनिक प्रतिवेदनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति पनि गठन गरिएको छ ।
त्यस्तै कमाण्ड फोर्सले कोरोनाका सम्भावीत सक्रमीत तथा विरामीहरुको उपचार र व्यवास्थापनका लागि पनि स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।