मनसुनी वर्षासँगै डेंगु संक्रमणको ग्राफ उकालो चढ्दैगर्दा पनि सुरक्षा सतर्कतामा ध्यान पु¥याएको देखिँदैन । अहिले डेंगु महामारी ६९ जिल्ला प्रवेश गरिसकेको छ । सरकारी प्रचार संयन्त्रमा पनि यस महामारीविरूद्धको सतर्कता प्राथमिकतामा परेको देखिँदैन । गत वर्ष मंसिरदेखि यस वर्षको असारसम्मका आठ महिनामा डेंगुबाट सात जना बिरामीको मृत्यु भइसकेको छ । यस अवधिमा ४ हजार २ सय ८९ जना संक्रमित भएका छन् । सुरुमा डेंगु महामारी आउँदा जुन सनसनीपूर्ण प्रचार र त्यसबाट बच्न उच्च सुरक्षा सतर्कता अपनाइएको देखिन्थ्यो, त्यो अहिले हराएर गएको छ । यसले गर्दा पनि संक्रमितको संख्या अझै बढ्नसक्ने देखिएको छ । पछिल्लो समयमा लापर्बाहीका कारण पनि डेंगुबाट संक्रमितको संख्या ह्वात्तै बढेको चिकित्सक तथा जनस्वास्थ्यविदको आँकलन रहेको छ । डेंगुको संक्रमण ६९ जिल्लामा फैलिए पनि स्थानीय सरकार र संघीय तथा प्रादेशिक सरकारका बिचमा यस महामारी नियन्त्रणका लागि प्रभावकारी समन्वय र सहकार्य हुन सकिरहेको छैन । स्थानीय सरकारसँग चिकित्सक तथा अस्पताल नहुनु तर केन्द्रले चिकित्सकको कार्यक्षेत्र निर्धारण गरेर गााउँगाउँमा पठाउन नसक्नुका कारण पनि डेंगु संक्रमण निर्वाध रूपमा फैलिइरहेको छ ।
पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण नियन्त्रण गर्न वर्षायाममा साच्चिकै कठिन हुन्छ । अविरल वर्षाका कारण खाल्डो, गमला, फूलदानी, पुराना टायर, छत आदि जहाँसुकै पनि सफा पानी भरिनसक्ने भएकाले यस्तो पानीबाट डेंगु सार्ने लामखुट्टेको वृद्धिविकास भएको देखिन्छ । अर्कोतिर गर्मी र वर्षाका कारण मानिसले पातलो र अर्धशरीर ढाक्ने कपडा लगाउने गर्नाले पनि लमखुट्टेको टोकाइबाट बच्न नसकिरहेको देखिन्छ । यसका अतिरिक्त रातमा सुत्दा गर्मीका कारण झुल प्रयोग गर्न झन्झट मान्ने मनोविज्ञानले पनि डेंगु संक्रमण फैलाउन बल पु¥याइरहेको छ । लामखुट्टे धपाउने धुपको र लिक्विडको प्रयोग पनि निकै कम गरेको देखिन्छ । यसले गर्दा पनि सर्वसाधारण मानिस संक्रमित भई कडा ज्वरो, टाउको दुखाइ, जिउ दुखाइ, खाना मिठो नहुने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने र निकै कमजोरी महसुस हुने समस्याबाट ग्रसित हुँदै गइरहेका छन् । डेंगुले अरू कुनै पनि भाइरल संक्रमणको तुलनामा मृत्यु बढी नै निम्त्याउँछ । हालैका वर्षहरूमा डेंगुको भौगोलिक दायरा विस्तार हुनजाँदा पनि यसले खतरा निम्त्याउँदै गएको छ ।
डेंगु संक्रमितलाई खोपले प्रतिरक्षा गर्न मद्दत त पु¥याउँछ, तर यस रोगको भौगोलिक संक्रमण बढ्न नदिनु नै उत्तम उपाय हो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो भन्ने भनाइ डेंगु संक्रमण रोक्नका लागि बढी उपयुक्त छ । नेपालको सन्दर्भमा डेंगु प्रभावित क्षेत्रहरूबाट मानिसको निरन्तर आवतजावत नै रोग विस्तारको प्रमुख कारक मानिएको छ । सफा पानीमा फुल पार्ने, बच्चा हुर्काउने, घरभित्र बस्न रूचाउने, र दिनको समयमा टोक्ने गर्नाले पनि भनेजति सुरक्षा सतर्कता अपनाउन समस्या परेको देखिन्छ । अर्को कुरा संक्रमित बिरामीलाई टोकेको पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेको छिटोमा दुई दिनदेखि सात दिनभित्र यसको लक्षण देखिने हुनाले पनि एक जना संक्रमितबाट धेरै जनामा लामखुट्टेले रोग सारिसकेको हुन्छ । त्यसैले सुरूदेखि नै सुरक्षा सतर्कता अपनाऔं, लापर्बाही नगरौं !