नेपालबाट एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा २ जना खेलाडीको सहभागीता हुनेभएको छ । २८ जुलाई देखि शुरु भएको प्र्रतियोगितामा नेपालका दुई भारोत्तोलन खेलाडीको सहभागीता हुन लागेको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ(बोस)ले बताए । ७३ केजीतर्फ हेमन्त पालले प्रतिस्पर्धा गर्ने छन भने ९६ केजीमा सञ्जय यादवले प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो समय भारोत्तोलन संघले जुनियर खेलाडीको उत्पादनमा समेत विशेष कार्य गरिरहेको छ । केहि समयदेखि यी खेलाडीलाई विशेष प्रशिक्षण गराइरहेको संघका अध्यक्ष श्रेष्ठले बताए । दुवै खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता हुन् । पालले स्वर्ण र यादवले काश्य पदक जितेका थिए ।
‘१८÷२० दिनदेखि काठमाडौंमा राखेर समेत प्रशिक्षण गराइएको थियो । जुनियर लेबलबाट नै खेलाडी उत्पादनमा फोकस गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ अध्यक्ष श्रेष्ठले भने, ‘भारोत्तोलन खेलप्रति युवा खेलाडीको आकर्षण बृद्धि गर्नका लागि समेत कार्य गर्ने सोचमा छौं ।’
भारतको गौतम बुद्ध विश्वविद्यालय ग्रेटर नोएडा उत्तर पद्रेशमा भारतका युवा मामिल तथा खेलकुद मन्त्री अनुराज सिंह ठाकुरले शुक्रबार प्रतियोगिताको उद्घाटन गरिसकेका छन् । भारतमा यो प्रतियोगिता पहिलो पटक भएको हो । अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद जलुद, एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल माना, महासचिव मोहम्मद अहमद अलहरबीको उद्घाटन समारोहमा उपस्थिति थियो । प्रतियोगितामा एसियाका १८ राष्ट्रका २२० खेलाडीको सहभागीता रहेको छ ।
सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली भारोत्तोलन टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलले विदाई गरेका थिए । प्रशिक्षकमा सञ्जय महर्जन छन् भने व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । टोली आइतबार भारतको नयाँ दिल्लीस्थित नोयडा प्रस्थान गर्ने भएको छ । हेमन्तले १ अगष्टमा प्रतिस्पर्धा गर्नेछन् । २ अगष्टमा सञ्जयले प्रतिस्पर्धा गर्ने तालिका रहेको संघले जनाएको छ । ‘दुवै खेलाडीको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसका लागि तयारी राम्रो छ ।’ संघका अध्यक्ष श्रेष्ठले बताए ।
राखेपका सदस्यसविच घिसिङले भारोत्तोलन संघले खेलाडीको स्तरबृद्धिका लागि कार्य गरिरहेको भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
विदाई गर्र्दै नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले भारोत्तोलन संघका अध्यक्षले खेलाडीको हितमा कार्य गरिरहेको बताए । ५ अगष्टसँग प्रतियोगिता संचालन हुने छ ।
‘भारोत्तोलन एक ओलीम्पक खेल हो । १९२० देखि हरके ग्रिष्मकालीन ओलीम्पक खेलहमा प्रतिस्पर्धा भएको छ । नेपालले यस खेलमार्फत अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सक्छ भन्ने मलाई लाग्छ ।’ अध्यक्ष श्रेष्ठले राजधानीसँग भने,‘त्यसैले हामी मेहेनत गरिरहेका छौं । डोमेस्टिक प्रतियोगिताहरु पनि स्तरीय रुपमा गराइरहेका छौं ।’
भारोत्तोलन अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलमध्ये पर्दछ ।