काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व माओवादीहरुलाई पार्टीमा भित्रयाउँने रणनीति अनुसार अगाडी बढेका छन् । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष कृष्णबहादुर महरा सहितका नेताहरुले पूर्व माओवादीहरुलाई एकता गरेर शक्तिशाली पार्टी निर्माण गर्न खोजेका छन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । मंगलबार स्थायी कमिटी बैठक र बुधबारदेखी तीनदिनसम्म केन्द्रीय कमिटीको बैठक माओवादी केन्द्रले बोलाएको छ । सोही बैठकमा बिभिन्न महत्वपूर्ण प्रस्तावका साथै पूर्व माओवादीहरुसंग पार्टी एकताको बिषयमा समेत छलफल हुने एजेण्डा तय भईसकेको छ ।
अध्यक्ष प्रचण्ड र उपाध्यक्ष महराले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग पार्टी एकीकरण गर्ने योजना अनुसार अगाडी बढेका छन् । पार्टी एकतालाई निष्कर्षमा पुर्याउँनकै लागि प्रचण्डले एकता सम्बन्धी वार्ताको जिम्मेवारी महरालाई दिएका थिए । सोही अनुसार बिभिन्न चरणमा महराले डा. भट्टराई र विप्लवसंग वार्ता समेत गरिसकेको माओवादी स्रोतले जनाएको छ ।
प्रचण्ड र महराले अध्यक्षपछिको मर्यादामा डा. भट्टराईलाई ल्याउँनेमा सहमत छन् । तर भट्टराईको एकता सम्बन्धी प्रस्तावहरुमा उनीहरु असहमत छन् । भट्टराईले पार्टी एकीकरणका लागि विभिन्न सर्तहरु अघि सारेका छन् । जसमा केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ । विप्लवलाई पार्टी महासचिव दिने तयारी प्रचण्ड र महराले गरेपछि पार्टीभित्रै विरोध सुरु भएको छ ।
माओवादी उपमहासचिवत्रय बर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेत मिलेर विप्लवलाई रोक्न खोजेको माओवादी नेताहरु बताउँछन् । पुन र शर्माले खुलेरै प्रचण्ड र महराको योजना विफल बनाउँन लागेका छन् । पुन र शर्मालाई बस्नेतले समेत साथ दिएका छन् । पार्टीभित्र पुन र शर्माको दुई फरक–फरक शक्तिशाली गुट रहेको छ । बस्नेत समेतको साथ पाएर पुन र शर्मा एकै ठाउँमा उभिदा प्रचण्ड र महराको रणनीति फेल हुने निश्चित रहेको छ ।
विप्लवलाई महासचिव बनाउँने चर्चा पार्टीभित्र भएपछि अहिले फरक गुट सञ्चालन गर्दै आएका पुन र शर्मा मिलेको माओवादी केन्द्रका एक नेताले बताए । प्रचण्ड र महराको रणनीति असफल बनाउँनका लागि अहिले पुन र शर्माको गुट एउटै भएको चर्चा माओवादी बृतमा हुन थालेको छ ।
पार्टी पदाधिकारी बैठकमा अहिले मंसिरमा विधान महाधिवेशन गर्नेमा सबै नेताहरुको मत एउटै छ । पार्टीको महाधिवेशनमा प्रचण्डले विशेष महाधिवेशन गर्ने भनेअनुसार अहिलेलाई पहिला विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने योजना बनेको छ । सोही योजना अनुसार विशेष महाधिवेशनबाट विप्लवलाई महासचिव बनाउँने रणनीति रहेको छ । यसअघि माओवादीले २०७८ साल पुसमा गरेको आठौँ महाधिवेशनमा नै विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
दुई साताअघि त्रिभुवन विश्वविद्यालयमा माओवादीनिकट विद्यार्थी संगठनको कार्यक्रममा सहभागि भएका प्रचण्डले विप्लवलाई पार्टीमा भित्रयाउँने संकेत गर्दै माओवादी भित्र रहेका पुन र शर्मालाई रैथानले नेताको संज्ञा दिएका थिए ।
‘पूर्वमाओवादीहरू सबै एकतामा आउने आधार तयार भएका छन् । हामी आफूलाई रैथाने माओवादी ठान्छौँ । हामी बरु पार्टी डिफेन्स गर्न र नेतृत्वको पक्षमा कस्सिएर बोल्न डराएकाजस्ता छौँ । तर, हेर्नुभयो भने विप्लवजीहरू कस्सिएर बोल्न थाल्नुभएको छ । पार्टीको पक्षमा, नेतृत्वको पक्षमा । यो हाम्रा लागि खुसीको कुरा भयो’ प्रचण्डले भनेका थिए ।
तर प्रचण्डले जुन मञ्चबाट रैथाने भनेर आलोचना गरेका थिए, त्यही मञ्चमा रहेका पुन र शर्माले प्रचण्डलाई विप्लव अस्वीकार गर्ने गरी जवाफ फर्काएका थिए । शर्माले आफूले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई लामो समयदेखि साथ दिँदै आएको र भोलि पनि आफूहरूले नै साथ दिने बताएका थिए । तर, प्रचण्डले भरोसा गरेको नदेखिएको गुनासो विद्यार्थीसँग उनले गरेका थिए । विप्लवतर्फ इंगित गर्दै उनले भनेका थिए, ‘अर्कै पार्टीका नेताबाट केही हुँदैन । आफ्नै साथीहरूको भर पर्दा राम्रो हुन्छ ।’
त्यही मञ्चमा पुनले पनि शर्मालाई महासचिव बनाउन प्रचण्डलाई भनेको खुलासा गरे । ‘पार्टीको आठौँ महाधिवेशनदेखि हामी मिलिसकेका थियौँ । सानातिना कुरा छोडेर पार्टी निर्माण गर्नुपर्छ भन्ने भएकै हो । महासचिवमा हामी दुईमध्ये जो भए पनि हुन्छ भनेर हामीले भन्यौँ’ पुनले भने ।
प्रचण्ड र महराले विप्लवलाई महासचिव बनाउँन खोजेपछि पुन र शर्माको गुट माओवादीमा एउटै भएको छ । यस अघि बाबुरामसंग पार्टी एकीकरण गर्न सहमत प्रचण्डले पहिला विप्लव भित्रयाउँन खोजेपछि पुन र शर्माले उनको योजना असफल बनाउँदै बाबुरामसंग पहिला पार्टी एकता गर्न हतार गरिरहेका छन्
उनीहरू अहिले विप्लव पार्टीमा आउने हो भने हिजोका गल्तीका ’boutमा गलत गर्यौ भनेर सार्वजनिक रूपमा बोल्नुपर्ने बताउँछन् । माओवादी केन्द्रमा पुन र शर्मा मिल्दा समिकरण नै फेरबदल हुने संकेत पनि छ ।
आठौँ महाधिवेशनमा आमनेसामने भएका उपमहासचिवद्वय पुन र शर्माको मेलमिलापलाई माओवादीभित्रै आश्चर्यका रूपमा हेर्न थालिएको छ । ४ असारमा समाजवादी मोर्चा घोषणासँगै माओवादीभित्रका पुन र शर्माको गुट नजिक हुन थालेको छ । पार्टी, सरकार सहित हरेक मोर्चामा दुई धारमा उभिने पुन र शर्मा अहिले नजिक्दै गएका छन् ।
एकअर्कालाई राम्रोसंग हेर्न नसक्ने पुन र शर्मा एकले अर्काको जोडबलमा बनेको सत्ता समीकरण भत्काउने खेलसम्ममा लाग्थे । सशस्त्र द्वन्द्वका समयमा पनि रुकुम र रोल्पाको लडाइँ हुने गरेको थियो । त्यसैले पनि पुन र शर्माको अहिलेको मेलमिलाप स्वार्थकेन्द्रित मात्रै रहेको स्पष्टरुपमा देखिन्छ ।
पार्टीभित्र लामो समयदेखी फरक गुट सञ्चालन गर्दै आएका पुन र शर्मा एकअर्काका प्रतिस्पर्धी पनि हुन् । जुन कुरा आठौँ महाधिवेशनमा प्रस्ट देखिएको थियो । उपचारका लागि चीनमा हुँदा पनि पुनले शर्मालाई महासचिव छोड्न चाहेनन् । शर्माले पनि पुनलाई समर्थन गरेनन् । चीनबाटै पुनले महासचिवमा कहिले पम्फा भुसाल त कहिले शक्ति बस्नेतलाई अघि सादै शर्मालाई रोक्न खोजेका थिए । तर अन्त्यमा महाधिवेशन सकिएपछि ४ भदौ २०७९ मा देवप्रसाद गुरुङ महासचिव भएका थिए । पुन र शर्माको आन्तरिक रस्साकस्सीकै कारण महासचिवमा गुरुङले बाजी मार्न सफल भए ।
पुन र शर्माले अध्यक्षमा प्रचण्डको विकल्प नसोचेको तर महासचिव नै विप्लवलाई स्वीकार्न नसकिने आफूनिकट नेताहरूसँग बताउन थालेका छन् । शर्मा निकट एक नेताका अनुसार विप्लवलाई कुनै पनि हालतमा महासचिव स्वीकार गर्न नसकिने निकर्षमा उनीहरु अडिग छन् । बरु विशेष महाधिवेशन मिलेर प्रतिस्पर्धाबाटै विप्लवलाई पराजित गर्ने सम्मको आन्तरिक सहमती पुन र शर्माले गरेका छन् ।
‘हिजोका दिनमा विप्लवहरूले छोडेर जाँदा प्रचण्डको रक्षा गर्ने त वर्षमान र जनार्दन नै हुन् । उहाँहरूले त प्रचण्ड, वर्षमानलाई मार्न बम हानेकै हुन् । अनि कसरी अहिले नै महासचिव स्वीकार्न सकिन्छ विप्लवलाई ?’ माओवादीका एक केन्द्रिय सदस्यले भने ।
ती नेताका अनुसार पुन र शर्मामध्ये पुन उपाध्यक्ष हुने र शर्मालाई महासचिव बनाउन दुवै नेता तयार भएका छन् । २०५५ भदौको चौथो विस्तारित बैठकबाट पुन माओवादीको केन्द्रीय सदस्य भएका थिए । शर्मा २०५६ सालमा केन्द्रीय सदस्य भए । माओवादीमा विप्लवभन्दा पुन सिनियर नेता भएको बताइन्छ । अर्को तर्फ विप्लवको जति चर्चा छ त्यही अनुसार पार्टी संगठन समेत नभएको निष्कर्ष पुन र शर्माको छ ।
धोबीघाटको डर
माओवादीको चुनाव चिन्हमा आफ्ना नेताहरूलाई चुनाव लडाएका भट्टराईसँग एकता हुने अन्तिम तयारी भएपनि त्यो सफल हुन सकेको छैन् । एकता हुनु त परको कुरा समाजवादी मोर्चाको अवधारणा ल्याएका भट्टराईलाई अन्तिम समयमा प्रचण्डले उपेन्द्र यादव देखाएर मोर्चा बाहिर नै राखे ।
बाहिर उपेन्द्र देखाए पनि भित्र–भित्र प्रचण्डलाई धोबीघाट बैठकको डरले सताएको माओवादीका नेताहरू बताउँछन् । एक माओवादी नेताका अनुसार संगठनमा राम्रो पकड भएका पुन र शर्मासँग निहुँ खोज्दा बाबुरामलाई साथ दिएमा पुनः अर्को धोबीघाट बैठक हुन सक्ने डरले बाबुरामसँग तत्काल एकता गर्न नचाहेको दावी स्रोतको छ ।
२०६८ साल साउनमा भट्टराई, मोहन वैद्य र नारायणकाजी श्रेष्ठ मिलेर धोबीघाटमा भेला गरी प्रचण्डविरुद्ध मोर्चाबन्दी गरेका थिए । त्यही मोर्चाबन्दीका कारण भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सार्न प्रचण्ड बाध्य भएका थिए । भट्टराई प्रधानमन्त्री समेत बन्न सफल भएका थिए । पुनः आफ्नाविरुद्ध पुन र शर्मा मिलेर बाबुरामलाई नेतृत्वमा अघि सार्ने हुन् कि भन्ने डर प्रचण्डमा देखिएको माओवादीभित्र चर्चा हुन थालेको छ ।
२०७२ सालमा माओवादी छाडेका बाबुरामभन्दा पहिले विप्लव ल्याउने तयारीमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष महरा छन् । तर पुन र शर्मा बाबुरामलाई यही साउन–भदौभित्र पार्टीमा ल्याउने योजनामा छन् । सुरुमा प्रचण्ड र महराले नै बाबुरामलाई पार्टीमा भित्रयाउँन खोजेका थिए । तर अहिले उनीहरुले बाबुरामको मागलाई कारण देखाउँदै पार्टी एकतामा रुचि देखाउँन छोडेको बताईन्छ ।
पार्टी एकताका लागि बाबुरामको यस्तो छ सर्तः
डा. भट्टराई नेतृत्वको नेसपाले एकताका लागि पठाएको नौ बुँदे प्रस्ताव’bout माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ । माओवादीसँग एकताका लागि संवाद गर्न गठित नेसपा संवाद समितिका संयोजक गंगानारायण श्रेष्ठले उक्त प्रस्ताव माओवादी केन्द्रलाई बुझाएका थिए ।
एकतासम्बन्धी प्रस्तावमा नाम र झन्डाले विचार र पहिचानलाई व्यक्त गर्ने भन्दै सार र रुपबीच तादाम्यता मिलाउन पार्टी एकतापछिको एकीकृत पार्टीको नाम, झन्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने उल्लेख गरिएको छ ।
‘नाम र झन्डाले विचार र पहिचानलाई व्यक्त गर्दछ । सार र रुपबिच तादाम्यता हुनुपर्दछ । त्यसैले नाम, झन्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्दछ’, नेसपाले माओवादीलाई पठाएको प्रस्तावमा उल्लेख गरिएको छ ।
त्यस्तै आफ्नो पार्टीका कम्तीमा सात जना नेतालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने सर्त पनि नेसपाको रहेको छ । ‘मुख्यतः समाजवादी केन्द्र निर्माणको आवश्यकता सँगसँगै व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताको आधारमा कम्तीमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्नेछ’ नेसपाले भनेको छ ।
साथै केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय पदाधिकारीहरूलाई स्थायी समितिमा र केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरो (राजनीतिक समिति) मा समायोजन गर्नुपर्ने नेसपाको अर्को सर्त रहेको छ ।
जसमा राजनीतिक समिति सदस्यहरूलाई केन्द्रीय समिति, केन्द्रीय समितिमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय सदस्यहरुलाई वैकल्पिक केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने नेसपाको प्रस्ताव छ ।
त्यसैगरी नेसपाले संगठन समायोजन संख्यालाई भन्दा बृहत्तर समाजवादी ध्रुवीकरणको महान उद्देश्यलाई केन्द्रमा राखेर गर्नुपर्ने र अध्यक्षपछि दोस्रो वरियतामा एक सहध्यक्षको व्यवस्था गर्नु पर्ने जनाएको छ । ‘सहध्यक्षको काम, कर्तव्य, अधिकार विधानमा व्यवस्था भए बमोजिम हुनेछ’ नेसपाको प्रस्तावमा उल्लेख गरिएको छ ।
नेसपाले संगठनात्मक सिद्धान्तमा एक व्यक्ति, एक पद, दुई कार्यकालको अवधारणा अघि सारेको छ । ‘सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्न सक्ने छ’ प्रस्तावमा उल्लेख गरिएको छ ।
साथै नेसपाले ध्रुवीरणका ६ आधारहरु तय गरेको छ । जसमा दार्शनिक, राजनीतिक, अर्थशास्त्र, समाजशास्त्र, संस्कृति तथा मनोविज्ञान, अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिलाई औँल्याएको छ । समाजवादी मोर्चा घोषणाअघि नै यो प्रस्ताव नेसपाले पठाइएको भएपनि पछिल्लो समय भट्टराईले एकतामा चासो नदिएको समेत बताइएको छ । समाजवादी मोर्चाको अवधारणा आफूले नै ल्याएको तर सो मोर्चा घोषणा हुँदा आफैलाई बहिष्कार गरिएपछि बाबुराम एकताको चर्चा कम गर्ने गरेका छन् ।