काठमाडौं । घटना नम्वर १ः दाङको फचकलुवाका २५ वर्षीय सीता बुढाथोकीलाई खोकी लागेपछि घर नजिकैको मानपुर स्वास्थ्य केन्द्र पुगिन् । तर, स्वास्थ्य केन्द्रले सुरुमा ती विरामीलाई औषधि नभएको बतायो । अन्ततः केन्द्रले चेकनै नगरी उनलाई टाढाबाट एमोक्जाइसीलीन क्याप्सुल्स आइपी नामक नेमोक्स ५०० औषधि उपलव्ध गरायो ।
चिकित्सकहरुका अनुसार सो औषधिले व्याक्टेरिया मार्ने काम गर्छ । चिकित्सकहरु भन्छन्, ‘टन्सिल बढेपछि खुवाइन्छ । व्याक्टेरिया मार्न खान मिल्छ ।’ चिकित्सकको सल्लाहमा मात्रै यो औषधि बिक्री वितरण गर्न मिल्छ । उनी खोकी लागेर अस्पताल पुगेकी थिइन् । औषधि उपलब्ध गराएको समेत प्रमाण विरामीले पाइनन् भने अस्पतालले नाम दर्ता नगरी निशुल्क औषधि उपलब्ध गरायो ।
घटना नम्वर २ः
बीर अस्पतालमा आमाको चेकजाँचमा पुगेका माइकल देवकोटाले भने, ‘वीर अस्पतालको डाइलासिस युनिटमा त ज्वरो नाप्ने थर्मल गन पनि रहेनछ ।’ उनले अस्पतालनै असुरक्षित भएप्रति चिन्ता व्यक्त गरे । चिकित्सकले पनि पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) अभावमा काम गर्न बाध्य भएको सुनाए ।
अहिले सबै भन्दा मार दीर्घ रोगीहरुलाई परेको छ । अझ त्यसमा गरिवको रेखामुनि रहेकाहरु । न त जान आउनका लागि सहजता न एम्बुलेन्समा चढ्ने पैंसा । उनीहरु भन्छन्, ‘कम्तिमा राम्रोसँग अस्पताल जान सरकारले मिलाए त गुन मान्थ्यौ ।’
कुनै विरामी अस्पताल पुग्यो भने अधिकांश अस्पतालमा चिकित्सकहरु भेटिदैंनन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने डरले अधिकांश चिकित्सकहरुले विरामीहरु नहेरेको पाइएको छ केही अस्पतालले समस्या भए सम्पर्क गर्न चिकित्सकहरुको नम्वरसमेत उपलब्ध गराएका छन् । मुख्यतः नियमित औषधि खानेहरुलाई औषधि किन्न अफ्ठेरो परेको छ भने अर्कोतर्फ मिर्गौलाको डायलायसिस गर्नेहरुले नियमित डायलायसिस गर्न सकस भएको छ । उनीहरुका अनुसार केहीको डायलायसिससमेत छुट्ने गरेको छ ।