काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नौ वर्षअघि संयुक्तरूपमा उद्घाटन गरेको नेपाल–भारतमैत्री बससेवा सञ्चालनमै कठिनाइ भएको छ । बसपार्क अभावका कारण नेपाल–भारतमैत्री बससेवा सडकमा पार्किङ गर्न बाध्य हुनुपरेको स्वयम्भु मञ्जुश्री यातायात प्रालिका अध्यक्ष छिरिङ शेर्पाले बताए ।
नेपाल–भारत बससेवा सिधा सञ्चालन गर्न सुविधायुक्त बसपार्क अभावका कारण भारतीय पर्यटकलाई समेत बस चढ्न कठिनाइ उत्पन्न भइरहेको छ । खुला सीमा नाकाका कारण बर्सेनि भारतबाट लाखौं पर्यटक धार्मिक यात्राका लागि आउने गरेका छन् । साथै नेपालबाट पनि लाखौं मानिस भारत जाने र आउने गरेका छन् ।
कम्पनीका अध्यक्ष शेर्पाका अनुसार नेपाल–भारतसम्बन्ध मित्रता र पारस्परिक सहयोगका रूपमा अघि बढिरहेको छ । नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भारतमार्फत् पारवहन अधिकार उपभोग गरिरहेको छ । छिमेकीका सुखदुःखका साथी दुवै देशले आर्थिक–सांस्कृतिक सम्बन्ध थप भरोसायोग्य बनाउँदै लागेको अध्यक्ष शेर्पा बताउँछन् । दीर्घकालीन आर्थिक समृद्धिका लागि पनि बसपार्क सञ्चालन आवश्यक रहेको उनले बताए ।
नेपालको पूर्व–दक्षिण र पश्चिममा लगभग १८५० किलोमिटरभन्दा बढीको सिमाना भारतसँग जोडिएकाले यहाँ घनिष्ठ भाषिक, धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको शेर्पा बताउँछन् । जसले गर्दा नेपाल–भारत सम्बन्ध जीवन्त रहनुपर्ने उनको भनाइ छ ।
स्वयम्भु मञ्जुश्री यातायात प्रालिले हाल २८ वटा बस सञ्चालन गरिरहेको छ । यस्तै, सातवटा थप गरिएको र ४० वटा थप्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । ७५ वटा सुविधायुक्त यातायातको व्यवस्था गर्ने कम्पनीको लक्ष्य रहेको संस्थापक अध्यक्ष लाक्पा शेर्पाले बताए । कम्पनीले हाल काठमाडौंदेखि भारतको दिल्ली, पटना बोधगया, वनारस र जनकपुरदेखि पटना बोधगयामा सिधै बससेवा सञ्चालन गरिरहेको छ ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० मंसिर २०७१ सालमा काठमाडौंबाट नेपाल–भारतमैत्री बससेवा उद्घाटन गरेका थिए । भारतका तत्कालीन सडक यातायात तथा हाइवेमन्त्री नितिन गढकरीले भारतबाट झन्डा उठाएर दिल्ली–काठमाडौं बससेवा सुरु गरेका थिए ।
अहिले काठमाडौंबाट दैनिक तीनवटा बस छुट्छन् ९, १० र १ बजे । ९ र १ बजे जाने गाडी व्यवसायीले सन् २००० देखि सञ्चालन गर्दै आइरहेकै छन् । १० बजेको गाडी भने दुई देशको सरकारी पक्षबाट भएको सम्झौताअनुसार चल्छ । सरकारी सम्झौताबाट गुडेको एक बस र अर्को बस सुनौली हुँदै जान्छ भने अर्को एक बस महेन्द्रनगरको बनबासा हुँदै भारत छिर्ने गरेको छ । नेपाल र भारतबिच भएको सम्झौताअनुसार पहिलो चरणमा दुवै सरकारका तर्फबाट एक÷एक गाडी आउने÷जाने गर्छन् ।
भारतका तर्फबाट दिल्ली ट्रान्सपोर्ट कर्पाेरेसन (डिटिसी) र नेपालका तर्फबाट राष्ट्रिय यातायात व्यवसायी महासंघले जिम्मा पाएका छन् । सरकारले दिएको जिम्मेवारीअनुसार महासंघले आफू मातहतको मन्जुश्री यातायात समितिलाई जिम्मेवारी दिएको छ ।