धनगढी । केहि दिनदेखि प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले कैलाली र कञ्चनपुर जिल्लमा महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ ।
यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ । ठूलो संख्यामा बालबालिका, वयस्कदेखि वृद्धवृद्धा प्रभावित भएका छन । विशेषगरी सहरी क्षेत्रमा यसबाट प्रभावित हुनेहरूको संख्या तीव्र रुपमा बढिरहेको जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
एक व्यक्तिबाट अर्कोमा फैलिने यस प्रकारको संक्रमणले महामारीको रूप लिन सक्ने जोखिम देखिएको चिकित्सकहरुले बताएका छन् । विशेष गरी कैलाली र कञ्चनपुरमा यो संक्रमण अत्यधिक वृद्घि भइरहेको छ । नेपाल नेत्र ज्योति संघका अनुसार आँखा पाक्ने रोग प्रकोपका रूपमा फैलिरहेको र कुनै पनि बेला महामारीको रूप लिने जोखिम रहेको जनाएको छ ।
संघका अनुसार पछिल्लो साता आँखा पाक्ने रोग संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नेत्र ज्योति संघको गेटा आँखा अस्पताल, कैलालीको बहिरंग विभागमा आउने बिरामीमध्ये दिनहुँ ४५ देखि ५० प्रतिशतसम्म आँखा पाक्ने रोगका बिरामी आउने गरेको बताइएको छ । भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग अहिले सबैतिर फैलिएको छ । संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले नियमित रूपमा साबुन पानीले हात धुनुपर्ने चिकित्सकको सुझाव छ ।