३८ वर्षपछि नेपाललाई पदक

काठमाडौं । एसियन युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालले ३८ वर्षपछि पदक जित्न सफल भएको छ । सन् १९८५ मा काठमाडौंमा भएको जुनियर च्याम्पियनसिपमा महेन्द्रनगरका श्याम हमालले कांस्यपदक जितेका थिए । ३८ वर्षपछि फेरि महेन्द्रनगरकै १६ वर्षीय हेमन्त पालले तीन कांस्यपदक जितेर स्वदेश फर्कंदासमेत खेलकुदका निकायहरू भने मौन देखिए ।

भारतको गौतमबुद्ध विश्वविद्यालय ग्रेटर नोएडामा भएको च्याम्पियनसिपमा पालले ७३ केजी तौलसमूहमा स्न्याचतर्फ ९७ र क्लिन एन्ड जर्कमा १ सय १० केजी गरी जम्मा २ सय १० केजी भार उठाउँदै तीन कांस्यपदक जितेका हुन् । उनको तौल समूहमा थाइल्यान्डका वारपाटले स्वर्ण र उज्वेकिस्तानका अलमाननोभले रजत पदक जितेका थिए ।

पदक जितेपछि आफूमा अझै केही गर्ने जोश जागेको पालले बताए । ‘अब म अझै मेहेनत गर्छु, यसअघि मैले ४ घन्टा प्रशिक्षण गर्थे भने अब त्यो समय बढाउँछु, म शतप्रतिशत दिन चाहन्छु,’ पालले भने, ‘संघका अध्यक्षले काठमाडौंमा राखेर जुन ट्रेनिङ गराउनुभयो त्यसले ममा अझै निखार आएको थियो ।’ उनका पिता पदमबहादुर पाल पनि बास्केटबल खेलाडी भएकाले उनलाई खेलकुदमा लाग्न प्रेरणा मिलेको थियो । ‘मैले पदक पाएपछि बुबालाई सुनाएँ, उहाँले यो पहिलो अन्तर्राष्ट्रिय पदक हो, अब अझै धेरै मेहेनत गर्नुपर्छ भन्नुभएको छ,’ पालले सुनाए ।

युवा तथा जुनियर खेलाडी उत्पादनमा फोकस गरिरहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोसले भने, ‘यो देशका लागि गर्वको विषय हो, ३८ वर्षपछि पदक जितेका छौं, युथ र जुनियर खेलाडी उत्पादनमा संघका तर्फबाट फोकस गरिरहेका छौं ।’ श्रेष्ठले यो मुलुकका लागि गर्वको विषय भएको बताए ।

सो च्याम्पियनसिपमा सहभागी भएका अर्का खेलाडी संजय यादवले पनि राष्ट्रिय रेकर्ड कायम गरे । स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ९० केजीको रेकर्ड रहेकामा उनले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा १ सय २५ केजी गरी जम्मा २ सय २१ केजी भार बहन गरी नयाँ रेकर्ड राखेको व्यवस्थापक रामसुन्दर श्रेष्ठले बताए । ‘भारोत्तोलनमा आजको भोलि सहभागी गराउन सकिँदैन, यसका लागि कम्तीमा पनि तीन महिनादेखि पहल गर्नुपर्ने हुन्छ,’ व्यवस्थापक श्रेष्ठले भने, ‘क्षमता भएका खेलाडीहरू नेपालमा छन् भन्ने प्रमाण हेमन्त र संजयले दिएका छन् ।’

दक्षिण एसियामा सबैभन्दा बढी पदक दिलाउने खेल भारोत्तोलन हो । तथापि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको प्राथमिकतामा यो खेल पर्न नसक्नु दुखद विषय हो ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन