अविरल मनसुनी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको समस्या एकैपटक सिर्जना भएपछि उद्धार कार्यमा कठिनाइ उत्पन्न हुन गएको छ । उद्धार कार्य भनेको ‘एकै क्षण भए पनि धैर्य गर्नुस्’ भन्ने विषय होइन । कसैलाई आपतविपद् वा कष्टपूर्ण स्थितिबाट उतारेर उन्नत अवस्थामा ल्याउने वा विपत्तिबाट छुटकारा दिलाउने उपकारी काम नै उद्धार कार्य हो । नेपालको प्राकृतिक भौगोलिक बनावटका कारणले गर्दा पनि एकै समयमा पहाडमा बाढी पहिरो र तराई तथा उपत्यका अनि भित्रीमधेसमा डुबानको समस्या आइपर्छ । भारी वर्षाका कारण देशैभरि पहिरो र डुबानले समस्या निम्त्याउँदा राजधानी सहर काठमाडौं पनि डुबानबाट अछुतो छैन । काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती र अन्य साना खोला किनाराका बस्ती डुबानमा परिसकेका छन् । वर्षा रोकिने छाँटकाँट छैन । त्यसैले प्रत्येक घरपरिवार र सरकार तथा सरकारी निकाय बाढीपहिरोबाट जोगिन डुबानबाट बच्न २४सै घण्टा सतर्क हुने अवस्थामा पु¥याएको छ । यसबेला लामो तथा छोटो दूरीका यात्रा पनि निकै जोखिममा छन् ।
बाटो भासिने, पहिरोले पुरिने र यात्रुका लागि सुरक्षित स्थान नहुने समस्या टड्कारो रूपमा देखिएको छ । यस वर्षको बाढी, पहिरो तथा डुबानको समस्या ठिक साउनको २४ गते नै देखापरेको छ । जल तथा मौसम विभागले सबैलाई उच्च सतर्कतामा रहन अनुरोध गरिसकेको छ । २४ साउना २४ गते राष्ट्रिय भूसंरक्षण दिवस पनि हो । देशको भूबनोटअनुसार हिमाल, पहाड र तराईमा पारिस्थितिक सन्तुलन मिलाउन सकिएन भने वर्षाका बेला विकराल अवस्था निम्तन सक्ने कुरालाई आँकलन गरी भू तथा जलाधार संरक्षण विभागको स्थापना पनि २४ साउनमा नै भएको देखिन्छ । तथापि, विभाग स्थापनाको ५० वर्ष भइसक्दा पनि देशमा रणनीतिक र गफाडी कुरा गरेर तत्काल आइपरेका समस्यामा नदेखे झैं गर्ने नेपालीको र नेपाल सरकारको बानीमा सुधार हुन सकिरहेको छैन । नेपाल सरकारको गृह मन्त्रालयको तथ्यांकअनुसार १९ साउनसम्म विभिन्न विपद्का घटनामा परी १ सय २० जनाको मृत्यु भइसकेको छ भने २७ जना बेपत्ता भएका छन् । तथ्यांकअनुसार यस वर्षको पुगनपुग चार महिनाभित्रै २ हजार २ सय ७३ विपद्जन्य घटना घटिसकेका छन् । यी घटनाबाट ८८ करोड रुपैयाँभन्दा धेरैको क्षति पुगिसकेको छ ।
नेपालको भूबनोट, जलवायु परिवर्तनको प्रभाव, भूकम्पीय असर तथा मानवीय असावधानीका कारण बर्सेनि हुने वनजङ्गल फँडानी तथा बसाइसराइ र दिगो विकासको अवधारणाविपरीत जथाभावी रूपमा भएका र हुने गरेका विकास निर्माणका कामले बाढी, पहिरो र डुबान बढाएर लगेको छ । मानिसमा चेतनाको विकास हुँदै गए पनि आर्थिक स्वार्थका कारण हुने र गरिने काम कार्यले पनि ठुलो हानि र नोक्सानी पु¥याइरहेको छ । अहिले देशमा संघीय संरचनाअनुसार निर्माण भएका तीन तहका सरकार र तिनका बिचमा उचित तालमेल तथा व्यवस्थापन हुन नसक्दा जनताको गाउँघरमा सिंहदरबार पुगे पनि समस्या ज्युँकात्युँ रहेका छन् । सरकारी तथा गैरसरकारी संघसंस्था मनग्यै निर्माण भए पनि सेवा र सुविधालगायतका हिसाबले परिआउँदा उद्धार तथा राहतका कुरामा भने सुधार हुन सकिरहेको छैन । त्यसैले तीन तहका सरकार तथा सरकारी निकायले भारी वर्षा हुँदाका बखत उद्धार कार्यमा तदारुकता देखाऊ ।