२५ लाख अनुदान पाएर पनि सञ्चालनमा आएन जैविक विषादी प्लान्ट

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा अनुदान रकम लिएर पनि स्वस्तिक हाइटेक एन्ड बायोटेक एग्रो फार्मले ‘जैविक विषादी उत्पादन गर्ने प्लान्ट’ सञ्चालनमा ल्याएको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्र डडेल्धुराबाट अनुदान रकम लिएर पनि प्राविधिक कारण देखाउँदै एग्रो फार्मले प्लान्ट सञ्चालनमा नल्याएको पाइएको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार अमरगढी नगरपालिकामा जैविक विषादी उत्पादन गर्ने प्लान्ट स्थापना गर्न स्वस्तिक हाइटेक एन्ड बायोटेक एग्रो फार्मकी प्रबन्धक सिर्जना जोशीले २५ लाख रुपैयाँ अनुदान प्राप्त गरेकी थिइन् । उनी नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशीका श्रीमती हुन् ।

उनले ५० लाखभन्दा बढीको जैविक विषादी उत्पादन गर्ने प्लान्ट देखाएर ६ असार २०७६ मा एग्रो फार्मसँग सम्झौता गरेको र ज्ञान केन्द्रले प्राविधिक भक्तबहादुर पानले सम्झौताबमोजिमका सामग्री ल्याबभित्र खरिद गरी ल्याएको र कार्य सञ्चालन गरेको देखिएको प्रतिवेदन बुझाएपछि तत्कालीन ज्ञान केन्द्र प्रमुख दिलबहादुर विष्टले एकै किस्तामा पूरै भुक्तानी दिएका थिए । तर, यो विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमा नआउँदै विवादमा आयो ।

यो विवाद प्रदेशको सार्वजनिक लेखा समितिसम्मै पुग्यो । तत्कालीन लेखा समिति संयोजक कुमारीनन्दा बमको नेतृत्वको टिमले स्थलगत अनुगमनसमेत ग¥यो । खरिद गरिएका कतिपय सामग्री नभएको, भएका सामग्री बिक्री गर्न सोरुममा प्याकिङ गरेर राखेको र बिलमा समेत अनियमितता रहेको पाइएको देखायो ।

सुदूरपश्चिमका नौवटै जिल्लालाई मध्यनजर गर्दै जैविक विषादी उत्पादन गर्नुपर्ने फार्मले अमरगढी नगरपालिका–७ मा प्लान्ट स्थापना गर्नुपर्ने भए पनि अहिलेसम्म गरेको छैन । अनुदान पाएको चार वर्ष हुँदासम्म अमरगढी नगरपालिका–५ को बागबजारमा एउटा कोठामा सामग्री थन्क्याइएको छ ।

प्रदेशको सार्वजनिक लेखा समितिको निर्देशनपछि ज्ञान केन्द्रले पनि सो एग्रोको अनुगमन गरेको थियो । महालेखा परीक्षकको कार्यालयले पनि यसलाई सैद्धान्तिक बेरुजुका रूपमा राखेको छ ।

असोजसम्म सञ्चालनमा ल्याउँछौं :जोशी
एग्रो फार्मका सञ्चालक रमेश जोशी भने लेखाको प्रतिवेदन स्विकार गर्न तयार छैनन् । लेखा समितिको टिमले स्थलगत अनुगमन गर्दा जैविक विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमै रहेको उनको दाबी छ ।

‘बिलमा अनियमितता भएको भन्ने कुरा हामीलाई थाहा छैन किनकि जतिको सामान हो त्यत्तिको बिल भुक्तानीका लागि दिएका सक्कली बिल नै कार्यालयमा छन्, त्यो रिपोर्ट लिँदा पनि हुन्छ,’ उनले भने, ‘भुक्तानी लिँदा पनि दुई चरणमा लिने प्रावधान रहेछ । असारको सुरुमा सम्झौता भएको र अन्तमा सञ्चालन गरिसक्नुपर्ने भनेर निर्देशन थियो । सामान नपुगी कुनै भुक्तानी नहुने कारणले एकैपटक भुक्तानी भएको हो ।’

उनका अनुसार सिर्जनाले ल्याब सञ्चालन गर्ने गरेको र उनी फागुनदेखि बिरामी परेकाले ल्याब सञ्चालनमा आउन नसकेको हो । एउटा प्राविधिक राखेर असोजसम्म सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए ।

कृषि ज्ञान केन्द्रले पटकपटक ल्याब सञ्चालन गर्न पत्राचार गरिरहेको कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए । कार्यालय प्रमुख भट्टले यो कार्यक्रम आफू ज्ञान केन्द्र प्रमुख भएर आउनुभन्दा अगाडिको रहेको बताए । ‘महालेखा परीक्षण कार्यालयको प्रतिवेदनका आधारमा सार्वजनिक लेखा समितिले केही कुरा लेखेको रहेछ, त्यसपछि हामीलाई अनुगमनका लागि निर्देशन प्राप्त भयो । ज्ञान केन्द्रले एक जना अधिकृतको सयोजकत्वमा अनुगमन ग¥यो र प्रतिवेदन बुझायो,’ उनले भने, ‘त्यसपछि लेखा समितिको टिम गएर अनुगमन ग¥यो । त्यो समयमा सञ्चालकले सबै कुरा देखाएको अवस्था हो । ल्याब सञ्चालन गरेर उत्पादन गरेको पनि हामीले देख्यौं ।’

भट्टले बजारीकरणमा समस्या देखिएपछि जैविक विषादीले छिट्टै परिणाम नदिने आशंकाले सञ्चालकले बीचमा रोकेको जानकारी आएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै