काठमाडौं । अन्य रोगले मृत्यु भएकालाई कोरोना भाइरस संक्रमण (कोभिड–१९) कै कारण मृत्यु भएको भन्दै अफवाह नफैल्याउन चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले जोसुकैको मृत्यु कोरोनाकै कारण भएको भन्दै अफवाह नफैल्याउन सुझाव दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले गाउँगाउँमा कोरोना फैलिएको भन्दै भ्रम सिर्जना नगर्न आग्रह गरे । उनले भने, ‘थुकको छिटाबाट पनि यो सर्छ । बरु सामाजिक दूरी कायम गरेर बस्नुस् तर गाउँगाउँमा फैलिसकेको छैन ।’
मृत्युु भएकामध्येको नमुना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै अन्य रोगका कारण मृत्यु भएकालाई कोरोनासँग नजोड्न आग्रह गरे । दुबईबाट नेपाल आएर बुटवलको कोरोना अस्पतालमा उपचार गराएका एक व्यक्तिको मृत्युलाई पनि कोरोनास्रँग जोडिएको थियो । तर, उनको रिपोर्ट कोरोना नेगेटिभ देखिएको थियो ।

डा. कार्कीले भने, ‘कोरोना संक्रमितहरू ८० प्रतिशतलाई सामान्य सुक्खा खोकी, ज्वरो, अन्य समयमा लागेको रुघाखोकीभन्दा कम खालको बिरामी हुन्छन् र १५ प्रतिशतलाई कडा खालको रुघाखोकी लाग्छ, पाँच प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ ।’
अहिले सर्वसाधारणलाई ‘कोरोना फोबिया’ भएको पाइएको छ । सामान्य रुघाखोकी लागेका र ज्वरो आएका बिरामीहरू पनि अत्तालिँदै अस्पताल पुग्ने गरेका छन् । चिकित्सकहरू भने सतर्क रहन आग्रह गर्दै नआत्तिन सुझाव दिन्छन् ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यो समय फ्लु भाइरस सक्रिय हुने समय रहेको बताए । उनले भने, ‘फ्लुको टेस्ट नगरेर कोरोना टेस्ट भइरहेको छ । फ्लुको कारणले पनि दीर्घ रोगीहरूलाई जटिलता ल्याई मृत्यु भएको पनि हुन सक्ने देखिन्छ ।’ उनले फ्लु र कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुने बताए ।
कोरोना संक्रमण भएका देशबाट आएका व्यक्तिहरूलाई सरकारले निगरानीमा राखेको छ । कोरोना संक्रमण प्रभावित देशबाट आएका नागरिकलाई सरकारले संवेदनशील हुन आग्रह गरेको छ ।
सरकारले विदेशबाट नेपाल आएका ४१ हजार १ सय ४ जना व्यक्तिको विवरण संकलन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएका र प्रभावति देशबाट आएका उनीहरूको विवरण संकलन गरेर निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘बाहिरबाट आउनुभएका व्यक्तिहरूको ट्रेसिङ गरेर लिखित विवरण अद्यावधिक भइसकेको छ । नमुना परीक्षण गर्दा ट्रेसिङ गर्न सजिलो हुन्छ ।’
हालसम्म पाँच जनाको रिपोर्ट पोजेटिभ आएकामा एक जना निको भएर घर फर्किसकेका छन् । हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९ सय ९३ जनाको नमुना परीक्षण भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयको कल सेन्टरमा १ हजार ३ सय कल आएका छन् । आइसोलेसनमा ९३ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पाटनमा मृत्यु भएका एक पुरुषको नमुना परीक्षण जारी छ । वीर अस्पतालमा दुई जनाको मृत्यु भएका दुवै जनाको नमुना परीक्षण भएको तर रिपोर्ट नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक जना ज्वरोसहित उच्च रक्तचापको समस्या रहेका र अर्का एक जनामा पनि ज्वरो देखिएको थियो ।
सबै प्रदेशमा १ हजार सेटका दरले पीपीई र १० हजार सेट मास्क, २० हजार गगल्स पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रयोगशालामा नमुनाको दायरा फराकिलो बनाइएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । उनले भने, ‘धरानमा १९ वटा नमुना परीक्षण भइसकेको छ । नमुना परीक्षण सम्वन्धमा पाँच वटा मेसिन र रिएजेन्ट आइसकेको छ । हाललाई धनगढी, सुर्खेत, बुटवल र जनकपुरमा विस्तार गर्ने योजना बनाएका छौं ।’ उनले रिएजेन्टको टेम्पेचर मेन्टर गर्ने भएकाले केही ढिलो भएको बताए ।
फ्लु र कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुन्छ : डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ
यो समय फ्लुको भाइरस सक्रिय हुने समय हो । फ्लु र कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुन्छ । फ्लुको कारण दीर्घ रोग हुने सम्भावना रहन्छ । र, दीर्घ रोगीहरूलाई फ्लुको संक्रमणले जोखिम हुने सम्भावना हुन्छ । मृत्यु भएकाहरूमध्येको कोरोना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको सुनिएको छ । अरू कुनै कारणले पनि मृत्यु भएको हुन सक्छ । अहिले फ्लुको टेस्ट नगरेर कोरोना टेस्ट हुने गरेको छ ।