राष्ट्रिय खेलकुद परिषद् (केन्द्र) ७ वटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले बढुवाको प्रकृया निष्कर्षमा पु¥याउन माग राख्दै कालो पट्टी बोधेर सांकेतिक विरोध जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले घोषणा अनुसार गत शुक्रबारबाट कर्मचारी आन्दोलित भएका हुने । संघर्ष कार्यक्रमको दोश्रो दिन आइतबार हातमा कालो पट्टी बाँधी सांकेतिक रुपमा विरोध कार्यक्रम सम्पन्न भएको संघका महासचिव कुमार बस्नेतले बताए ।

पहिलो दिन त्रिपुरेश्वरस्थित राखेप हातामा केन्द्र र उपत्यका कर्मचारीहरु भेला भइ कोणसभा गरिएको थियो । तेश्रो र चौथो दिन क्रमशः सोमबार र मंगलबार पनि आइतबारकै कार्यक्रमले निरन्तरता पाउने महासचिव बस्नेतले बताए । बुधबार, बिहीबार र शुक्रबार केन्द्रलगायत ७ वटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी पेन डाउन गरिने कार्यक्रम रहेको उनले बताए । ‘बुधबार १ घण्टा तथा बिहीबार र शुक्रबार २ घण्टा पेन डाउनको कार्यक्रम छ ।’ उनले भने ‘पहिलो चरणको संघर्षका कार्यक्रममा पनि माग पूरा नभए दोश्रो चरणका कार्यक्रम घोषणा गरिने छ ।’ उनले भने । कर्मचारी संघले पत्रकार सम्मेलन गरी ३८५ जना कर्मचारीको २७ बर्षदेखि रोकिएको बढुवा प्रक्रिया अन्तिम चरणमा पुगेको भए पनि विचमा मन्त्रालयका कर्मचारीको असहयोगमा रोकिएको भन्दै विरोध गरेको हो । पदपुर्ती समितिले बढुवाको सबै प्रक्रिया पुरा गरेर नाम सार्वजनिक गर्नमात्र बाँकी रहेको संघको बुझाई छ । पदपुर्ती समितिको संयोजकमा राखेको सदस्यसचिव टंकलाल घिसिङ छन् ।