सय किलो भनिएको सुन गालेर हेर्दा ६१ किलो मात्रै

काठमाडौं । सय किलो सुनकाण्ड भनेर प्रख्यात भएको सुन गालेर जोखेर हेर्दा ६० किलो ७ सय ८९ ग्राम मात्र पाइएको छ ।

मोटरसाइकलको ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगालेर जोख्दा ६० किलो ६ सय ८९ ग्राम फेला परेको हो ।

गत ३ साउनमा विमानस्थलबाट जाँच पास भए पनि बरामद भएको सुन करिब १०० किलो रहेको राजस्व अनुसन्धान विभागले अनुमान गरेको थियो ।

ब्रेक सुमा समिश्रण गरेर ल्याइएको सो सुन अझै पनि शुद्ध गर्दै गाल्न बाँकी रहेकाले अझै तौल केही घट्ने अनुमान गरिएको छ ।

६० किलो सुन पनि ब्रेक सु प्याडबाट निकालिएको ढिका सुन मात्र भएको र अझै गाल्न बाँकी नै रहेकाले घट्न सक्ने अनुमान गरिएको हो ।

हङकङबाट क्याथे प्यासिफिक विमानबाट असार ३० मा ल्याएको सुन साउन ३ गते बुधबार भन्सार विभागबाट जाँचपास बाहिर गइसकेपछि राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो ।

सुन प्रकरणमा १८ जना पक्राउ परे पनि धेरैजसो सुन ओसारपसारमा संलग्न मात्रै छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेपछि सोमबारबाट गाल्न थालिएको हो ।

राजस्व अनुसन्धान विभागले साउन ३ मा सिनामंगलबाट सुनसहितको १ सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक सुभित्र लुकाएर ल्याएको सुनसहितको तौल १ सय ५५ किलो रहेको थियो ।

सुन छुट्याएर अझ प्रशोधन गरेर गुणस्तर जाँचका लागि थप तीन दिन लाग्ने टक्सार महाशाखाले जनाएको छ । यसअघि बरामद गरेको सुन एक हप्ताभित्रमा सकाउने भनिए पनि चार हप्तापछि मात्र गालिएको हो ।

सुन प्रकरणको अनुसन्धान राजस्वबाट सिआइबीका सर्ने र सरेपछिको अलमलले सुन पगाल्न पनि ढिलो भएको बताइएको छ । १९ दिनसम्म राजस्व अनुसन्धान विभागले छानबिन गरेपछि सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक गिरोह संलग्न भएको पाइएपछि थप छानबिनको जिम्मा सिआइबीलाई लगाएको थियो ।

अनुसन्धानको जिम्मा सिआइबीले पाएपछि संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

सुन तस्करीमा चीनको गिरोह र नेपालका राकेश अदुकियाको संलग्नता रहेको भनिए पनि पछिल्लोपटक पक्राउ परेका दुई जना चिनियाँ र अदुकियाका छोरा रोहन अदुकिया छुटिसकेका छन् ।

राजस्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक पक्राउपछि छोडिएका हुन् ।

राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई बुझाएको थियो ।

अनुसन्धानका क्रममा थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुनेगरी रोहन अडुकियासहित दुई जना चिनियाँ थुनामुक्त भएको सिआइबीले जनाएको छ ।

व्यवसायी राकेश अडुकियाका छोरा रोहन दिल्लीबाट आएलगत्तै पक्राउ परेका थिए । उनी सुन तस्करीको घटना आसपास हङकङ, कतारलगायका देशमा ओहोरदोहोर गरेको र सुनकाण्ड बाहिरिएपछि साउन ५ गते शुक्रबार भारत गएका थिए ।

उनको संलग्नता खुल्ने आधार नदेखिएको भन्दै सिआइबीले हिरासतमा नमानेपछि छोडिएको बताइएको छ ।

सुन काण्डमा तिब्बती मूलका बेल्जियमका नागरिक दावा छिरिङले भने चिनियाँ पक्षसँग मिलेर नेपालमा अवैध सुनको व्यवस्थापन गरेको पुष्टि हुँदै गएको सिआइबीले जनाएको छ ।

यसैबीच सत्तारूढ राजनीतिक दलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निष्कर्ष निकालेको छ ।

बैठकमा यसअघि विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको विषयमा पनि छलफल भएको बताइएको छ । गठबन्धनका नेताहरूले जिज्ञासा राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको र निष्कर्षमा नपुगेको बताएका थिए ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सय किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसंगमा पनि छलफल भएको पुष्टि गरे ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण