खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देविस्थानमा बाढीले पुरिएको पञ्चकन्य पोखरीलाई पूर्ववत अवस्थामा फर्काइएको छ । २०४१ सालमा बुवाँ खोलामा आएको भीषण बाढीले पुरिएर खैल मैदानमा परिणत भएको पञ्चकन्य पोखरीलाई पुरानैस्वरूपमा फर्काइएको हो । मैनटारस्थित विशाल पोखरी बालुवाले पुरिएपछि स्थानीय युवाले फुटबल र भलिबल खेल्ने गरेका थिए । चरिचरणका रूपमा पनि प्रयोग हुँदै आएको मैदानको बालुवा पन्छाएर पुनः पोखरीको स्वरूप निकालिएको देवीस्थानका वडाध्यक्ष केदारमान राईले बताए ।
स्थानीय तह कार्यान्वयनमा आएपछि २०७५ सालबाट वडा कार्यालयमार्फत बजेट विनियोजन गरेर दक्षिणतर्फ बाँध हालेर बालुवा निकालेर पोखरीलाई पुरानै स्वरूपमा फर्काउने प्रयास थालिएको थियो । बगरमा परिणत भएको चार दशकपछि पोखरीको बालुवा स्काभेटरले उठाएर ट्याक्टरमा हालेर अन्यत्र लगेर फालिएको वडाध्यक्ष राईले बताए । पोखरीलाई पूर्ववत् अवस्थामा फर्काउने प्रयासका क्रममा हालसम्म साढे ९ लाखको हाराहारीमा खर्च भइसकेको छ । पोखरीमा रहेका बालुवा अझै पनि पूर्ण रूपमा हटाउन बाँकी छ । बाढीले बगाएका कारण पहिलाको तुलनामा पोखरीको आकार घटेको वडाध्यक्ष राई बताउँछन् । पोखरीको बाँकी बालुवा झिक्नेदेखि सौन्दर्यकरण गर्दै पर्यटकीयस्थलका रूपमा विकास गर्न गाउँपालिकाले चालू आर्थिक वर्ष बजेट विनियोजन गरेको छ ।
‘ठूलो पोखरी थियो । बाढीले पुरेर बगर बनेको थियो । त्यहाँ फुटलब खेलिन्थ्यो,’ वडाध्यक्ष राईले भने, ‘ड्याम हालेर बालुवा निकालेपछि आफैं पानी जम्यो । त्यहाँ पानी हाल्नै पर्दैन । यस वर्ष डिपिआर बनाउने योजना बनाएका छौं ।’
पुर्नर्जीवन पाएको पञ्चकन्य पोखरी हाल हाल स्थानीयको धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुँदै गएको छ । तराईको सिमसार क्षेत्रको झल्को दिने पोखरीनजिकै पञ्चकन्य मन्दिर रहेको छ । भाकल पूरा गर्न, दर्शन गर्न र घुमफिरका लागि पञ्चकन्य पोखरी र पञ्चकन्य मन्दिर पुग्नेको संख्या बढ्दो रहेको स्थानीय रिपुधन तामाङ बताउँछन् ।
प्राकृतिक रूपमा बनेको पञ्चकन्य पोखरीले बाढीले पुरिनुअघि ठुलो क्षेत्रफल ओगटेको थियो । ’round ठुलाठुला रुख थिए । पोखरीमा राता र सेता माछा खेलिरहेका देखिन्थे । रुखको पात झर्न नपाउँदै चराले टिपेर फाल्थे । निलो र सफा पोखरी हेर्दै डरलाग्दो थियो । तर, खोला पसेपछि पोखरी बगरमा परिणत भएको थियो । हाल पोखरीमा आपैंm सेता र राता माछा निस्किएका छन् । ’round बुकल्ला देखिन्छन् । आसपासका ठुला रुख मासिइसकेका छन् । स्थानीय किंवदन्तीअनुसार पोखरीसँग मागेको वा इच्छाएको चिज पूरा हुन्थ्यो । घरायसी काममा आवश्यक परेको चिज पैंचो पाइन्थ्यो । हेर्न चाहेको जीव जनावर पनि देखाइदिने गरेको बुढापाका बताउँछन् ।
परापूर्व कालमा ब्राह्मणका पाँच कन्या छोरी थिइन् । खिर बोकेर खेल्न गएकी पाँच कन्या ढुंगाको ओढारमा बसेर खिर खानेक्रममा अलप भएपछि पञ्चकन्य देवी उत्पत्ति भएको स्थानीय काजीमान विकले बताए । पञ्चकन्य मन्दिरमा पाठी र परेवा चढाउने प्रचलन छ ।