लकडाउनमा विद्यार्थीले के गर्ने ?

अन्तिम परीक्षाभन्दा केही दिनअघि एक जना अभिभावकसँग भेट भयो । कक्षा आठमा पढ्ने आफ्नो छोराको ’boutमा गुनासो गर्दै उनले भने, ‘उसलाई मागेजति सबै फ्यासिलिटी दिएको छु, घरमा केही काम गर्नुपर्दैन, मोजा पनि धुनुपर्दैन तर पनि उसले पढ्दै पढ्दैन ।’ यस्तो गुनासो एक जना अभिभावकको मात्र होइन, शिक्षक भेट्न भनेर आउने धेरैजसो अभिभावको हुन्छ । आफ्ना नानीबाबुले राम्रोसँग पढून् भन्दै उनीहरूले नै गर्न सक्ने उनीहरूकै ओछ्यान मिलाउनेदेखि जुत्ता पोलिस गरिदिनेसम्मका सबै काम अभिभावकले गरिदिएका हुन्छन् । यो वर्ष समयअगावै कक्षा एकदेखि नौसम्मका अन्तिम परीक्षा भइसकेका छन् । त्यसैले, विद्यार्थी झनै लामो बिदामा बस्न बाध्य भएका छन् । विश्वभर फैलिएको कोभिड–१९ का कारण एसईईको परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको छ । कक्षा १० का विद्यार्थीले यस बीचमा पढाइलाई निरन्तरता दिएनन् भने पढेको बिर्सन सक्छन् ।

तर, जतिखेर पनि पढ् मात्रै भन्ने गरेमा उनीहरूमा पढाइप्रति रुचिभन्दा पनि वितृष्णा आउन सक्छ । समयसमयमा विद्यार्थीलाई पढाइभन्दा टाढा राखेर केही समयका लागि स्वतन्त्र पनि हुन दिनुपर्दछ । घरपरिवारका सदस्यसँग हुने घरायसी कुराबाट पनि धेरै सिक्नुका साथै उनीहरूलाई ताजा अनुभव गराउँछ । आधा÷एक घण्टा जति टेलिभिजनमा आफूलाई मनपर्ने कार्यक्रम हेरेर आनन्द लिन सक्छन् । एसईईको परीक्षालाई नै मध्यनजर गरेर एनटिभी प्लसले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न विषयका नमुना प्रश्न र तिनको समाधानसम्बन्धी कार्यक्रम प्रसारण गरिरहेको छ । आफूलाई पढ्न अल्छी लागेको बेला यसरी हेरेर पनि विद्यार्थीले फाइदा लिन सक्छन् ।

आफ्ना साना भाइबहिनीसँग घरभित्र खेलिने खेल खेल्दा पनि रमाइलो हुन्छ वा पत्रपत्रिका पढेर सामाजिक, भाषा विषयसँगै अरू विभिन्न विषयसम्बन्धी ज्ञान बढाउन सक्छन् । बिहान उठेर ताजा मन, मस्तिष्क भएको बेला अरू पढ्नुपर्ने विषय दोह¥याउने बानी बसाल्दा पढाइमा राम्रो गर्न सक्छन् ।

किशोरावस्था पूरा नहुँदासम्म नानीबाबुको आनीबानी, चालचल र उठबसको निगरानी गरिरहनु जरुरी हुन्छ

दसैं वा जाडो बिदामा जस्तै अन्तिम परीक्षा सकिएको यो लामो बिदामा अभिभावकले उमेरअनुसार आफ्ना नानीबाबुलाई भान्छामा प्रवेश गराउँदा राम्रो हुन्छ । जहाँ उनीहरू थरीथरीका परिकार पकाउन तथा तिनको स्वाद लिन सिक्छन् । यसले पेसा र प्रविधिजस्ता विषयमा धेरै सहयोग पु¥याउँछ । सानो कक्षामा पढ्ने विद्यार्थीले किताबमा चित्रमा मात्र देखेका हरिया सागपात, तरकारी, गेडागुडी, फलफुल वास्तविक रूपमा छुट्याउन सक्छन् । भान्छामा प्रयोग हुने आफ्नै देशमा फल्ने जडिबुटीयुक्त खाद्य पदार्थ जस्तै ः अदुवा, दालचिनी, टिमुर, मेथी आदि चिन्न सक्छन् । माथिल्लो कक्षामा पढ्ने आफ्ना नानीबाबु भान्छामा पसेर आफंै पकाएपछि खाना मीठो भएन भनेर किचकिच गर्ने र फाल्ने बानीमा पनि धेरै सुधार आउँछ । जुन मैले मेरै नानीमा पनि देखेकी छु ।

पहिला मैले पकाएको रोटी कहिले डढेको प¥यो भने उसले खानेबेला सधंै किचकिच गर्थी । अहिले उसले पकाउँदा रोटी डढ्यो भने ‘यो म खान्छु है’ भन्दै छुट्टै लुकाएर राख्छे । कक्षा आठमा पढ्ने ऊ जब भान्छामा तरकारी, रोटी पकाउन पस्छे, कक्षा एकमा पढ्ने छोराले पनि भान्छामा गएर चिया पकाउँछु भन्दै जिद्दी गर्छ । आफ्ना नानीबाबुको सानो सहयोगले उनीहरूलाई मात्रै फाइदा गर्दैन, कहिलेकाहीँ हामी आमालाई पनि दिनभरि अफिसको कामले लखतरान परेको बेला वा सन्चो नभएको बेला धेरै राहत महसुस गराउँछ । तर, यस्ता घरायसी काममा छोराछोरी नभनी दुवैलाई समान रूपले भान्छामा प्रवेश गराउनु जरुरी हुन्छ । छोराचाहिँ बाहिर खेल्न जाने छोरी भने अर्काको घर जाने जात भन्दै पकाउन जान्नै पर्छ भन्ने भेदभावकारी मान्यतालाई भने तोड्नैपर्छ ।

आफ्ना नानीबाबुले विगतमा के गरे र भविष्यमा के गर्दा राम्रो हुन्छ भन्ने कुरामा अभिभावक एकदमै चनाखो हुनुपर्छ । पढाइबाट फुर्सदको समयमा विद्यार्थी जुनसुकै कुरामा पनि आफूलाई व्यस्त राख्न सक्छन् । किशोर विद्यार्थीमा उत्सुकता धेरै हुन्छ । यसकारण उनीहरू यो उमेरमा कुलतमा फस्ने सम्भावना बढी हुन्छ । पानीको बोटलमा अल्कोहल हालेर स्कुलमा ल्याउने, इलेक्ट्रिक हुक्का मधुजस्ता गुट्का र ड्रग्स साथीको लहलहैमा लागेर वा कस्तो हुँदोरहेछ भनेर उत्सुकतापूर्वक स्वाद लिन पुगेका घटना स्कुलबाट सुनिन्छन् । अभिभावकको निगरानी वा आफ्नै सुझबुझले कतिले यो अम्मल छोडे पनि कोही भने यसलाई निरन्तरता दिन पुग्छन् । यसले उनीहरू अम्मली बन्दै जाँदा स्वास्थ्यमा नराम्रो असर गर्नुका साथै यस्ता कुरा किन्न चाहिने रकमको जोहो गर्न घरबाहिर वा घरभित्रै चोरी गर्न पुग्छन् ।

यसकारण हामीले उनीहरूलाई उमेरअनुसार आफ्ना लुगा, धुने, सुकाउने, आइरन गर्ने, आफ्नो ओछ्यान मिलाउने स्कुलको जुत्ता पोलिस गर्नेजस्ता काममा संलग्न गराउन सक्छौं । यसले उनीहरूमा काम गर्ने बानीको विकास हुन्छ । लामो समयसम्म एकै ठाउँमा बसेर मोबाइलजस्ता विद्युतीय सामग्रीमा व्यस्त हुँदा शरीरलाई चाहिने आवश्यक व्यायाम नपुगेर बिरामी हुने सम्भावना अधिक हुन्छ । घरभित्रै गर्न सकिने गायन, वादन, नाच इत्यादिमा उनीहरूको रुचिअनुसार व्यस्त गराउन सकिन्छ । यसले उनीहरूमा शारीरिक कसरत हुनुका साथै अल्छीपनाबाट पनि छुट्कारा मिल्दछ । अहिलेको समयमा घरबाहिर निस्कन नमिल्ने भएकाले घरभित्रै आफ्ना नानीबाबुलाई विभिन्न सीपमूलक कुरा सिकाउँदा राम्रो हुन्छ । साना नानीबाबुलाई कविता लेख्न, कथा भन्न, चित्र कोन, गीत गाउन, नाच्न, फूलमा पानी हाल्न र स्याहार्नजस्ता उनीहरूको प्रतिभा उजागर गराउने रमाइला क्रियाकलाप घरमै गराउन सकिन्छ । बिदामा सहरभन्दा टाढा गाउँघर जाने विद्यार्थीलाई पशुपालन गरेको, बारीमा लगेर बालीनाली, तरकारी, फलफूल लगाउने तरिका, तिनीहरू फल्ने समय र पाकेपछि कसरी भित्र्याउनेजस्ता विधिहरू सिकाउँदा उनीहरूले राम्रोसँग बुझ्छन् र भविष्यमा कृषि पेसा अपनाउने लक्ष्य पनि लिन सक्छन् ।

एक जना अभिभावकलाई दमको समस्या रहेछ । कक्षा ६ मा पढ्ने छोराको जुत्ता पोलिस गर्दा उनलाई पोलिसको गन्धले गाह्रो भएर अस्पताल पु¥याउनुपरेछ । यसकारण आफ्ना यस्ता ससाना काम नानीबाबुले आफंै गर्दा घरका अरू सदस्यलाई मद्दत पुग्दछ । गत वर्ष स्कुलको पुस्तकालयमा कक्षा १० का विद्यार्थीसँगै बसेर पत्रिका पढ्दै थिएँ । सञ्चारमाध्यमभरि नेपालले पठाएको स्याट १ नामक भूउपग्रहले पृथ्वीलाई परिक्रमा गर्न सुरु गरेको ’boutमा एक सातादेखि समाचार आइरहेका थिए । जब मैले यसका ’boutमा उनीहरूसँग बुझ्न खोजें धेरैजसो विद्यार्थी यस’boutमा अनभिज्ञ पाएँ । एउटाले त यो जोक त होइन नि टिचरसम्म पनि भने । यी तिनै विद्यार्थी थिए, जो बेलाबेलामा फेसबुकमा फोटो अपलोड गर्ने तथा लाइक, कमेन्टमा सक्रिय भइरहन्छन् । यसकारण विद्यार्थीमाझ साइबर क्राइमका घटना बढिरहेका बेला अभिभावकले आफ्ना बालबालिका इन्टरनेटको प्रयोग के कामका लागि गरिरहेका छन् भनेर चासो राख्न जरुरी देखिएको छ ।

बेलाबेलामा उनीहरूका इमेल, फेसबुक अकाउन्टलगायत स्कुलका झोला पनि उनीहरूले थाहा नपाउनेगरी जाँच गरिरहनपर्छ । यससँगै कतिपय विद्यार्थी आफ्नो जन्मदिन मनाउन अभिभावकसँग जबर्जस्त पैसा मागेर बाहिर रेस्टुरेन्टतिर जाने गरेको देखिन्छ । यसले उनीहरूमा फाल्तु खर्च गर्ने बानीको विकास हुनुका साथै कुलतमा फस्ने सम्भावना धेरै देखाउँछ । यसको सट्टा उनीहरूका मिल्ने साथी बोलाएर घरमा नै रमाइलो गर्दा केही कुराको डर रहँदैन । आफ्ना नानीबाबु राम्रा मान्छे बनून् भन्नका लागि अभिभावक तथा शिक्षक मिलेर किशोरावस्था पूरा नहुँदासम्म उनीहरूको आनीबानी, चालचलन, उठबसको निगरानी गरिरहनु जरुरी हुन्छ । अचानक आइलाग्ने यस्ता लामा बिदाले उनीहरूलाई बुझ्न र उनीहरूसँग बस्न धेरै समय दिएको हुन्छ, जसको अभिभावकले राम्रो सदुपयोग गर्न सक्नुपर्दछ । त्यसपछि उनीहरू बिस्तारै परिपक्व हुँदै जाने हुँदा अभिभावकको जिम्मेवारी कम हुँदै जान्छ ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराको भागेश्वरमा फेरी पनि काँग्रेस नै विजयी