पोखरा । कागबेनी बाढीले तीन दिनदेखि उपल्लो मुस्ताङको सम्बन्ध टुटेको छ । साथै, बिजुली र सञ्चार सम्पर्कसमेत विच्छेद हुँदा स्थानीयले सास्ती भोगेका छन् ।
गत आइतबार आएको बाढीले माथिल्लो मुस्ताङ जोड्ने कालीगण्डकीमाथिको पुल बगाएको थियो भने बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पुलको एप्रोच रोड बगाएको थियो । जसका कारण मुस्ताङको लोघकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा यातायातसँगै सञ्चार सम्पर्क विच्छेद छ ।
मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बाढीका कारण उपल्लो मुस्ताङसँग यातायातसँगै सञ्चार सम्पर्क टुटेकाले समस्या भएको बताए । उनले भने, ‘पुल बगाउँदा यातायात सम्पर्क छैन, त्यस्तै बिजुली नहुँदा टेलिफोन सम्पर्क पनि टुटेको छ ।’ टेलिकमलाई सम्पर्क गर्दा कर्मचारीहरू पनि बाटो नभएसम्म जान नसक्ने जनाएको शेरचनले बताए । अहिले लोमान्थाङ जान यातायात सुविधा छैन ।
आइतबार रातिको बाढीले कागबेनीमा २९ घर पूर्ण क्षति भएका थिए भने १३ घरमा आंशिक क्षति पु¥याएको थियो । यस्तै वडा कार्यालय, प्रहरी चौकी, मोटरेबल पुल, झोलुङ्गे पुल, मन्दिर, गुम्बा, धर्मशालालगायत भौतिक संरचना बगाउँदा सुन्दर कागबेनी यतिखेर खण्डहर बनेको छ ।
बाढीबाट विस्थापित स्थानीय अहिले आफन्तको घरमा आश्रय लिन बाध्य छन् । उनीहरूलाई गण्डकी प्रदेश सरकारले पठाएको त्रिपाल, कम्बल पर्याप्त छैन । प्रदेश विपद् व्यवस्थापन समितिले मुस्ताङमा अभाव रहेको डिजेल पठाएको छ । हाल ३ हजार लिटर डिजेल पठाइएको भए पनि विस्थापितका लागि लत्ताकपडाको अभाव रहेको र पीडितले गुनासो गर्न थालेको सांसद शेरचनले बताए ।
यस्तै, कालीगण्डकी नदीमा आएको बाढीले सदरमुकाम जोमसोम बजार कटान गर्न थालेको छ । कटानका कारण घरपझोङ गाउँपालिका–४ जोमसोमका सरकारी कार्यालय जाने झोलुंगे पुलदेखि माथिल्लो मुस्ताङ अस्पतालतर्फ ५० मिटर दूरीमा सडक चिराचिरा परेको छ । ११ मिटर फराकिलो सडकको डिलतर्फको करिब ८ मिटर चौडाइमा धाँजा फाटेपछि मंगलबारदेखि यातायात सञ्चालन रोकिएको छ । बाढीले जोमसोम अस्पतालको भवन र १० भन्दा बढी व्यक्तिका घर जोखिममा परेका छन् । बाढीले ग्याबिन र मेसिनरी पर्खाल भत्काएर बस्तीतर्फ कटान गर्न थालेपछि जोखिम बढेको हो ।
उता, १० दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक भने बुधबार दिउँसोदेखि खुलेको छ । कालीगण्डकी करिडोरमा कार्यरत नेपाली सेना तथा कामदारले बैसरीको पहिरो हटाएपछि यातायात सुचारु भएको हो ।
पोखरा–जोमसोम हवाई यातायात भने मौसम खराबीका कारण कहिले खुल्छ भन्ने यकिन छैन । अझै कम्तीमा १५ दिन हवाई यातायात सुचारु हुने सम्भावना नरहेको विमानस्थलका कर्मचारीले बताए । सांसद शेरचन मंगलबार हेलिकोप्टरमार्फत मुस्ताङ पुगेका थिए ।