पौराणिक धार्मिक ग्रन्थ रामायणमा उल्लेख भएनुसार प्रभु श्री रामले लंकाका राजा रावणको वध गरेका थिए । तर, मृत्युपश्चात पनि रावणलाई मोक्ष प्राप्त भएको थिएन । रावण भगवान् शिवको परम भक्त थियो । आफूले मोक्ष प्राप्त गर्न रावणले भगवान् शिवको प्रार्थना गरी वर्षौंसम्म तपस्या गरिरह्यो । शिवको दर्शन प्राप्त गरेपछि क्षमा माग्ने र यसपछि मोक्ष प्राप्त गर्ने आशामा रावण मृत्युपश्चात पनि धेरै संघर्ष गरिरहेको थियो । तथापि, भगवान् शिवले भने उसलाई दर्शन दिएका थिएनन् । रावणको यस्तो अवस्था देखेर पार्वती शिवजीको अगाडि गएर बिन्ती गरिछन्, ‘हे प्रभु ! तपाईं यति निर्दयी कसरी हुन सक्नुहुन्छ ? रावणजस्तो आफ्नो परम प्रिय भक्तलाई दर्शन किन दिनुभएको छैन ? उसलाई किन क्षमा दिनुभएको छैन ?’
यस्तो बिन्ती सुनेपछि शिवजीले मन्द मुस्कुराउँदै भनेछन् । ‘हे पार्वती ! रावण मेरो परम भक्त हो तर उसले कुकर्म गरेको छ । यो संसारमा कुकर्मलाई तिन भागमा बाँडिएको छ । पहिलो कुकर्म पापका नामले चिनिन्छ, जुन मानिसले जानीजानी वा अन्जानमा गर्नसक्छ । यसको निवारण माफ मागेर अर्थात् प्रायश्चित गरेर हुनसक्छ अथवा अन्य तरिकाबाट भर्पाइ गरेर पनि हुनसक्छ । दोस्रो कुकर्म अति पापका नामले चिनिन्छ जस्तैः हत्या, अपहरण अथवा अन्य जघन्य अपराध हुनसक्छन् । यसको पनि केही हदसम्म माफी सम्भव छ । तेस्रो कुकर्म महापापका नामले चिनिन्छ, जहाँ माफीको कुनै गुञ्जायस हुँदैन । रावणले महापाप गरेको छ ।
महापापीलाई अहिलेसम्म कारबाहीको दायरामा नल्याइएकाले उन्मुक्तिको खेल जारी छ
यसैबिच पार्वती अचम्मित हुँदै शिवजीलाई सोधिछन्, हे प्रभु ! रावणले त सीताजीलाई अपहरण गरेको थियो, यसलाई त अतिपापका रूपमा हेर्नुपर्ने होइन र ? यसलाई हजुरले महापाप किन भन्नुभयो ? फेरि पनि शिवजी मन्द मुस्कुराउँदै भनेछन् । हे पार्वती ! जुन पापको प्रभाव पूरै संसारको मानवता अर्थात् प्रभुतामा शताब्दीयौंसम्म रहिरहन्छ, त्यो महापापअन्तर्गत पर्छ । यदि रावणले रावण नै बनेर सीताको अपहरण गरेको भए मैले रावणलाई माफी दिने थिएँ तर उसले साधुको भेष धारण गरेर सीता अपहरण गरेको थियो । यसको प्रभाव संसारको साधुत्व र सनातनमा शताब्दीयौंसम्म रहिरहन्छ तसर्थ उसले अतिपाप नभई महापाप गरेको छ, जसको कुनै माफी हुँदैन । यसपछि मात्र पार्वती विश्वस्त भएको पौराणिक कथा छ ।
रामायणकालमा महापाप गर्ने रावणजस्ता थोरै व्यक्ति थिए होलान् तर अहिले यस्ता व्यक्तिको कमी छैन । कुनै प्रतिष्ठित एवं सम्मानजनक ओहोदाको खोल ओडेर आपराधिक क्रियाकलापमा संलग्न हुने महापापीहरू प्रशस्तै छन् । अहिले मुलुकमा सुन तस्करी काण्डले चर्चा पाइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको क्विन्टल सुन तस्करी काण्डको प्रारम्भिक चरणमा केही व्यापारीको नाम आए पनि लहरो तान्दै जाँदा राजनीतिक दलका उच्चपदस्थ अधिकारीहरूसमेत मुछिएका छन् । यद्यपि, अहिलेसम्म उनीहरूलाई कारबाहीको दायरमा ल्याइएको छैन । तथापि, मुलुक र जनताको हितका लागि भन्दै राजनीतिको बाटोमा हिँडेका व्याक्तिहरू नै यस्तो अपराधमा मुछिनुलाई सामान्य मान्न सकिँदैन ।
केही समयपहिले नक्कली भुटानी शरणार्थी प्रकरणले चर्चा पाएको थियो । भुटानी शरणार्थीको आवरणमा गैरशरणार्थी नेपाली युवाहरूलाई अमेरिका पठाइदिने भन्दै करोडौं ठगी गरेको घटना सार्वजनिक भएको थियो । कसैलाई यो घटना सामान्यजस्तो लाग्नेछ । कसैको हत्या भएको छैन, कोही अंगभंग भएको छैन । केही मात्रमा आर्थिक क्षति मात्र भएको देखिन्छ । तर, यसलाई सामान्य रूपमा हेर्ने भुल भने कदापि गर्नुहुँदैन । घटनामा के भयो भन्दा पनि घटना कसले गरायो भन्ने महत्वपूर्ण हुन्छ । यो घटना कुनै सामान्य व्यक्तिले गराएको छैन । यसमा उच्च पदस्थ अधिकारीहरूसँगै बहालवाला मन्त्री, पूर्वउपप्रधानमन्त्रीको समेत नाम मुछिएको छ । अभिभावकत्वको पदभार ग्रहण गरेका व्यक्तिहरूमाथि नै अपराधको आरोप लागेको छ । आरोपितहरू दोषी ठहर भइसकेका छैनन्, तर पनि दोषी ठहरिएको खण्डमा उनीहरूले गरेको कुकर्मलाई समेत ‘महापाप’का नामले चिनिन्छ । किनकि, यसको प्रभाव कालन्तरसम्म रहिरहनेछ । आगामी पुस्ताले उच्चपदस्थ सरकारी कर्मचारी, मन्त्री, उपप्रधानमन्त्रीजस्ता पदलाई हेर्ने दृष्टिकोणमा फरक पर्नेछ । तसर्थ, यस घटनाका दोषीहरूलाई समेत माफीको गुञ्जायस रहनुहुँदैन ।
मुलुकका अभिभावक मन्त्री, सांसदहरू नै भ्रष्टाचार, तस्करी र मानव बेचबिखनमा संलग्न हुने कुकर्म ‘महापाप’ हो
विशेष अदालतले कर फछ्र्यौट भ्रष्टाचार मुद्दामा तीन जना पूर्वराष्ट्रसेवक कर्मचारीलाई दोषी ठहर गरेको छ । उनीहरूलाई ९ वर्ष कैद सजाय सुनाएको छ भने बिगो र जरिमाना गरी हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८ सय ४७ रुपैयाँ तिर्नुपर्ने विशेष अदालतले जनाएको छ । उनीहरूलाई सुनाइएको सजायभन्दा पनि उनीहरू को हुन् भन्ने महत्वपूर्ण छ । उनीहरू कुनै साधारण व्यक्ति होइनन् । राज्यको उच्च पदमा आसीन रहेर वर्षौंसम्म महत्वपूर्ण जिम्मेवारी बोकेका व्यक्तित्वहरू हुन् । दोषी ठहर भएकामध्ये एक जना कर फछ्र्यौट आयोगका पूर्वअध्यक्ष, अर्का एक जना सदस्य र अर्का सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका महानिर्देशकका रूपमा काम गरेका व्यक्तित्वहरू हुन् । यस्ता जिम्मेवार व्यक्तिबाटै कुकर्म भएको उच्च अदालतको ठहर छ । यसले गर्दा आमजनमानसमा राष्ट्रसेवकहरूमाथि नै विश्वास गुम्न पुगेको छ । यसले निजामती कर्मचारी र उनीहरूको पेसाप्रतिको सम्मानमा गम्भीर असर पुगेको छ । यसर्थ, यो कुकर्मलाई महापापको संज्ञा दिँदा फरक पर्दैन ।
केही समयअघि एक जना चर्चित क्रिकेट खेलाडी र अर्का एक अभिनेतालाई नाबालिगमाथि जबर्जस्ती गरेको आरोप लागेको थियो । यो आरोप पुष्टि भइसकेको छैन । सामाजिक सञ्जालमार्फत उनीहरूको पक्षमा ठुलो वकालतसमेत चलेको थियो । उनीहरू दोषी नै भए पनि छिट्टै उन्मुक्ति पाउनुपर्ने आवाजसमेत आएको थियो । आफ्ना मनपर्ने खेलाडी, कलाकारहरूप्रति सहानुभूति हुनु एउटा पक्ष हुनसक्छ तर अपराधलाई भने हल्का लिनमिल्दैन । उनीहरूको आरोप पुष्टि भएको खण्डमा यसलाई पनि ‘महापाप’को संज्ञा दिँदा अतिशयोक्ति हुँदैन । एउटा अन्तर्राष्ट्रिय छवि बनिसकेका, मुलुकको नाम देश–विदेशमा चिनाइसकेका, धेरैका प्रेरणाका स्रोत बनिसकेका व्यक्तिबाट यस्तो अपराध हुनु कदापि स्वीकार्य हुँदैन । सामान्य मानिसबाट भएको अपराध र प्रतिष्ठाको च्यादर ओढेका व्यक्तिबाट भएका अपराधलाई एउटै तराजुमा राखेर जोख्न मिल्दैन । प्रतिष्ठित व्यक्तित्वहरूले गरेका ‘महापाप’ले भावी पुस्तालाई नराम्रो सन्देश प्रेषित गर्नेछ । तसर्थ, यस्तो अपराधमा पनि माफीको गुञ्जायस रहनुहुँदैन ।
यी माथिका घटना एक प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो समाजमा दैनिकजसो यस्ता अनेकौं घटना घट्ने गरेका छन् । कतिपय घटना सार्वजनिक हुन्छन् भने धेरै गुपचुपमा सेलाउने गर्छन् । कतिपय ठाउँमा शिक्षकले विद्यार्थीमाथि गरेका यौन हिंसाका घटनालाई सामान्य विषयका रूपमा हेर्ने गरेको देखिन्छ । समाजमा मर्यादित र व्यवस्थित गर्ने जिम्मेवारी बोकेका शिक्षण पेसामा आबद्ध व्यक्तिबाट हुने यस्ता कुकर्मसमेत ‘महापाप’अन्तर्गत पर्छन् । यस्ता अपराधमा माफीको गुञ्जायस रहँदैन । आफ्नै बाबुले छोरीको बलात्कार गरेका घटनालाई छोप्ने काम गरिन्छ । आफ्ना सन्तानको रक्षा गर्ने जिम्मेवारी बोकेका अभिभावकबाटै हुने यस प्रकारका घटनालाई सामान्य रूपमा हेर्न सकिँदैन । मुलुकको उच्च ओहोदामा बसेर मुलुकलाई नै क्षति पुग्नेगरी गरिएका सन्धि सम्झौताका दोषीहरू, पदको दुरूपयोग गरी आर्थिक लाभ लिन पल्किएका भ्रष्टाचारीहरू, समाज अनि मुलुकका अभिभावकका रूपमा चिनिने मन्त्री, सांसदहरू नै मानव बेचबिखनमा संलग्न भई गरेका सम्पूर्ण कुकर्म ‘महापाप’ हुन् र यसमा माफीको गुञ्जायस रहँदैन । आमजनता र मुलुकको रक्षाका लागि यस्ता महापापीलाई हदैसम्मको सजाय हुनु जरुरी छ ।