मुम्बई । बलिउड अभिनेता शाहरुख खानको जीवनमै सर्वाधिक सफल फिल्म पठान बन्न सफल भयो । यो सफलतासँगै यतिबेला उनको नयाँ चलचित्र ‘जवान’ प्रदर्शनको तयारीमा छ । यो फिल्ममा शाहरुख खानसँगै नयनथारा र विजय सेतुपति मुख्य भूमिकामा छन् ।
अहिले यो फिल्मले आफ्नो एक्सन सिक्वेन्स र स्टारकास्टका कारण धेरै चर्चा पाइरहेको छ । यो फिल्ममा शाहरुख पाँच फरक गेटअप र भूमिकामा प्रस्तुत भएका कारण थप चर्चामा छन् ।
पठानको सफलतापछि जवानलाई शाहरुखकै सबैभन्दा ठुलो बजेटको फिल्मका रूपमा तयार गरिएको छ । ३ सय करोडको बजेटमा बनेको यो शाहरुख खानको सबैभन्दा ठूलो फिल्म हो । निर्माता भएकाले दर्शकको मनोरञ्जनमा कुनै कमी नआओस् भनेर शाहरुख प्रशस्त खर्च गर्छन् । फिल्मलाई एटलीले निर्देशन गरेका छन् । एटली र शाहरुख खान एउटै फिल्ममा जोडिएको यो पहिलोपटक हो । एटली यस्तो निर्देशक हुन् जसले ठूलो पर्दाको शक्ति बुझ्छन् । फिल्मको भिएफएक्समा धेरै खर्च गरिएको एटलीले बताएका छन् ।
यो फिल्मको एक्सन दृश्य सुट गर्नुको सट्टा, वास्तविक सेट बनाइएको थियो, जहाँ सबै एक्सन दृश्य सुट गरिएको थियो । जसरी पठानमा पनि भयो । चलचित्रलाई यथार्थपरक र जीवन्त वातावरण दिन यो निर्णय गरिएको एटलीले बताएका छन् । यही कारण पनि फिल्म निर्माणमा केही ढिलाइ हुनुका साथै र सुटिङका कारण बजेट बढेको हो ।
जवान ७ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज हुँदै छ । फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने ट्रेड पण्डितले अनुमान गरेका छन् । भारतमा मात्र करिब ५० वटा नयाँ हल शाखरुखको यो फिल्म रिलिजसँगै आफ्नो हल उद्घाटन गर्ने पर्खाइमा छन् ।