झण्डी डाँडामा ज्याकाराण्डा रोपण

इलाम । इलामको रोङ गाउँपालिका–६ रम्भ्याङ स्थित पर्यटकीय स्थल झण्डी डाँडामा ज्याकाराण्डा फुल रोपण गरिएको छ । झण्डी डाँडामा जाने धजे भञ्ज्याङ खण्डमा धजेबाट उकालो बाटोको दायाँ खण्डमा २५ बोट ज्याराण्डाको बिरुवा रोपण गरिएको रम्भ्याङ सामुदायिक बनका अध्यक्ष आशिष प्रधानले बताए । उक्त विरूवा वडाध्यक्ष सत्यम चौरासेले प्रदान गरेका हुन् । रम्भ्याङ र जौवारीका युवाहरूको उपस्थितिमा रोपण गरिएको र उक्त बिरुवा फुल्न थालेपछि झण्डि पर्यटकीय स्थल थप सुन्दर हुने प्रधानको भनाई छ ।

झन्डीडाँडा पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदैछ । करसोङ पदमार्गले छोएको, तराई र पहाडको पायक पर्ने स्थानमा रहेकाले पनि झन्डीडाँडामा पर्यटकको आउ–जाउ बाक्लिए सँगै यसको सौन्दर्यीकराका लागि फूल रोपिएको हो ।

यो ठाउँ एक हजार ३ सय ९६ मिटर उचाईमा रहेको यो डाँडाबाट सूर्योदयको दृश्य चित्ताकर्षक देखिन्छ । कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला नियाल्न सकिने यो डाँडाबाट हिमालदेखि पहाड र तराईसम्मको भू–भागको दृश्य सुन्दर देखिने भएको कारण पर्यटकीय स्थलका रुपमा विकास हुँदै छ ।

झन्डीडाँडामा इलाम, झापा र नेपालका विभिन्न जिल्लामात्र नभइ भारतको पश्चिम बंगालबाटसमेत पर्यटक आइरहेको वडाध्यक्ष सत्यम राई बताउँछन । पर्यटकीय सिजन सुरु भएपछि पदमार्गमा यात्रा गर्दै झन्डीबाट दृश्यावलोकन गर्नु पर्यटक आउने गरेको उनको भनाई छ । गाउँपालिकाको वडा ६ वडाध्यक्ष सत्यम राईले कृषि र संस्कृतिलाई पर्यटनसँग जोडेर समृद्धि हासिल गर्नेगरी पदमार्गको योजना ल्याइएको र मुख्य पोइन्ट चाहिँ झन्डीडाँडा नै भएको बताए । उनले २९ किलोमिटर पदमार्गमध्ये करिब १९ किलोमिटर तयार भइसकेको पनि जानकारी दिए ।

पर्यटनमा नेपालकै प्रसिद्ध मानिने कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ–सहर यहाँबाट देखिन्छन् । भारतका दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदीसमेत यहाँबाट देख्न सकिने राईले बताए ।

तराई, भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पनि पर्यटक झन्डीडाँडा आउने गरेका छन् । मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा रहेको झन्डीडाँडा झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तरमा छ । कोलकाताबाट ६ सय २ किलोमिटरमा रहेको यो ठाउँ आइपुग्न बागडुग्रा विमानस्थलबाट ४३ किलोमिटर यात्रा गर्नुपर्छ ।

मेची राजमार्गको हासपोखरीबाट पदमार्गमा यात्रा गर्दै रम्भ्याङमा बास बसेर भोलिपल्ट बिहान झन्डीडाँडाबाट दृश्यावलोकन गरी त्यही पदमार्गबाट झापा पुग्न सकिन्छ । हासपोखरीबाट करसोङ मार्ग पैदलयात्रा गर्दे पर्यटक ज्यादै खुसी भएर रम्भ्याङ पुग्ने र होम–स्टेमा बास बस्ने गर्दछन । गतवर्र्ष यहाँ गरिएको प्याराग्लाइडिङको परीक्षण सफल भएको र यसले झापा र इलामकै पर्यटनलाई जोड्ने स्थानीय व्यवसायी बताउँछन् ।

स्थानीय जानकारका अनुसार उहिले किरातीहरूले उँधौली, उँभौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा सकेर यहाँ ध्वजापताका गाढ्ने चलनले डाँडाको नाम नै झन्डीडाँडा रहेको हो । किरात समुदायले यो डाँडालाई ‘रिनाहाङडाँडा’ पनि भन्नेगरेको छ । रोङ गाउँपालिकाले केही वर्षयता यो क्षेत्रमा पदमार्गको पूर्वाधार विकास गरेको हो । पदमार्गका विभिन्न २० ‘पोइन्ट’लाई महत्वका साथ आकर्षक बनाउने योजना गाउँपालिकाको छ । यी पोइन्टमध्ये झन्डीडाँडा मुख्य पोइन्टका रूपमा रहेको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले बताए । झन्डीडाँडामा धरहराको संरचना तयार गरिएको छ भने डााँडासम्म पुग्ने ठाउँमा सिँढी र रेलिङ बनाइएको छ ।

करसोङ पदमार्गमा हासपोखरी, गुगल पोइन्ट, देवानगढी, गिद्धेभिर, दैले, हल्लने ढुंगा, धजे भञ्ज्याङ, चिलाउने गोलाई, पाण्डव डोल, सत्तालसिंह टाकुरा, गुरदुमडाँडा, खालिङ्गा, गोकुलटार, निन्दा गेट, जस्केलो सामुदायिक होम–स्टे, भीमसेन ढुंगा र ब्युटी बोर्डर पनि २० पोइन्टभित्र छन् ।

यो पदमार्गमा झापा र भारतका पर्यटकसमेत रमाइलै रमाइलो ठाउँ भएर कन्यामसम्म आउन–जान सक्छन् । यही रुटमा अहिले पनि साइकल गुडाएर झापादेखि पाथीभरा मन्दिर आउ–जाउ गर्न सकिन्छ । यसलाई ‘माउन्टेन बाइक ट्रेल’का रूपमा अघि सारिएको अध्यक्ष स्याङ्बोले बताए ।

‘समुद्री सतहको ५ सय मिटरदेखि एक हजार ८ सय मिटर उचाईसम्ममा निर्माण गरिएको करसोङ पदमार्गमा पर्ने मुख्य गन्तव्य झन्डीडाँडा रहेको र पर्यटकलाई एड्भेन्चर टुरिज्मको अनुभव गराउन यो पदमार्ग र गन्तव्यहरूको पूर्वाधार विकास गरिँदैछ ।’ यहाँको पूर्वाधार विकासका लागि संघीय सरकारले समेत लगानी गरेको छ । गाउँपालिकाले झन्डीडाँडा क्षेत्रमा रक क्लाइम्बिङ, जिपलाइन र प्लाराग्लाइडिङजस्ता साहसिक खेलका लागि लगानी सम्मेलन नै आयोजना गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी