नागलाई हिन्दु धर्ममा देवता समान मानिएको छ । यसरी भगवान् विष्णु शेषनागलाई नै शøया बनाएर विश्राम गर्नुहुन्छ । भनिन्छ, नागलाई पनि साउनको सोमबार नै मन पर्छ । फलतः नेपाल विभिन्न जातजाति भाषाभाषी रहेको एक मात्र हिन्दु देश हो । यहाँ विभिन्न पशुपक्षीको पूजा गर्ने संस्कृति रहँदै आएको छ । यसैअनुरूप विविधतायुक्त नेपाली समाज र संस्कृतिले मानव संस्कृतिबाहेक जीवजन्तु, पशुपक्षीको पूजाआजाको परम्परालाई समेत विशिष्ट स्थान दिएको छ । यस्ता जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महत्व झल्किँदै आएको छ । मूलतः पशुपक्षीको पूजा गर्नेक्रममा नागपञ्चमीमा नाग अर्थात् सर्पको पनि पूजा गरिन्छ ।
त्यसै कारणले गर्दा होला प्रत्येक सालको साउन महिनाको पञ्चमी तिथिका दिन नागको पूजा र कागजमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँस्ने गरिन्छ । नागलाई सर्पहरूको राजा मानी पुज्ने चलन आदिम कालदेखि नै प्रारम्भ भएको मानिन्छ । फलतः नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि विशेष पर्व पनि भनिन्छ । पूर्वीय हिन्दु ग्रन्थहरू नागसँग जोडेर विभिन्न कथाहरू भन्ने गरिएको छ । यसरी वराह पुराणमा उल्लेख भएअनुसार साउन महिनाको शुक्ल पञ्चमीमा नागराजासँग ब्रह्माको संवाद भएको भन्ने कथनका आधारमा पनि यस तिथिमा नाग टाँस्ने गरिन्छ । यसरी घरघरका मूल ढोकामा नागको तस्बिर विधिपूर्वक पूजा गरेर टाँस्ने चलन छ । जसले गर्दा वर्षभरि घरमा नागले दुःख दिँदैनन् भन्ने विश्वास रहिआएको छ ।
भगवान् शंकरले सदासर्वदा सर्पको माला लगाएर सर्पप्रति सम्मान गरेको प्रस्ट हुन्छ
नाग अर्थात् सर्पको सम्बन्ध पानी तथा जमिनसँग जोडेर पनि हेर्न सकिन्छ । नाग रिसाए भने पानीको अभाव हुन्छ । पानीबिना जीवहरू बाँच्न नसक्ने ठानेर हिन्दु धर्ममा नागलाई सर्पहरूका राजा मानिन्छ । यस्तै नाग रिसाइ घर छाडी गएमा घरको जग नै पल्टिने वा घरमा दुःख दिने ठानी घरको जग हाल्दा पनि नाग पूजा गर्ने चलन छ । समयमा नै वर्षा होस् र यस्तो समयमा बाढीबाट जनधनको क्षति नहोस् भन्ने उद्देश्यले नागको पूजा गरेर नागपञ्चमी मनाउने प्रचलन छ ।
हाम्रो देशमा नाग पञ्चमीका दिन नागस्थानमा दुध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ । फलतः काठमाडौं उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मिननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुंगा, धापाखेलको नागदह, चोभारपारि टौदह, नक्साल नागपोखरी र चाँगुनारायण नगरपालिका–८, कलमसीस्थित कल्पेश्वर नागमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ ।
यसरी शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शप्m, पद्म, महापद्म गरी आठ नागको विशेष महत्व रहेको वर्णन गरिएको छ । त्यसरी नै प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दुध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । आजको दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मान्ने प्रचलन छ । नाग पञ्चमीका दिन नागका अष्टकुलका रूपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शफ् नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।
मत्स्य पुराणमा प्राचीन पर्वतीय जातिको वर्णन गर्दा गन्धर्भ, किन्नर, यक्ष, राक्षस, विद्याधर, किम्पुरुष, खस आदिको साथमा नाग जातिको पनि उल्लेख भएको छ । पुराणले नाग जातिको सम्बन्ध शिवसित, गरुड जातिको सम्वन्ध विष्णुसित भएको र गरुढ नागको वैरभाव भएको सन्दर्भ पनि दिन्छन् । माथिको सन्धि सन्दर्भले शिव, विष्णु, नाग र बुद्ध संस्कृतिका अनुयायीबिच संघर्ष र सम्झौता भएको संकेत दिन्छ । तर, बुद्धधर्ममा भने नागलाई सकारात्मक दृष्टिले हेरिन्छ । कतै यसको दोष देखाइएको पाइन्न ।
बुद्ध धर्मका विभिन्न ग्रन्थ र जातक कथामा नागलाई मानवको भलो चाहने, दयालु, बुद्धिमान र अमरताको प्रतीकका रूपमा पेस गरिएको छ । त्यस्तैगरी, विष्णुपुराण र भागवतअनुसार वसुदेवको कुलमा उत्पन्न भएका विष्णुका अवतार श्रीकृष्ण स्वर्गारोहण हुनु भएपछि मानिस पापमा रमाउन थाले, त्यसैबेलादेखि कलियुगको आरम्भ नागपञ्चमीकै दिन भएकाले पात्रोमा कल्की जयन्ती भनी लेखेको हुन्छ । नागपूजा श्रावण शुक्लपश्चमी तिथिमा नै किन ? भन्ने प्रश्न पनि आउन सक्छ ।
बराह पुराणअनुसार साउन शुक्ल पञ्चमीका दिन नागराजासँग ब्रह्माको संवाद भएकाले यसै तिथिमा नाग टाँस्ने गरिन्छ
लौकिक कथाअनुसार एउटा किसानले खेत जोतिरहेको बेलामा हलोमा परी धेरै सर्पहरू मरे । सो कुरा सर्पमाताले थाहा पाएर किसानको सपरिवारलाई नै मार्ने संकल्प लिइन् । किसानकी छोरीले चाल पाएर श्रद्धा भक्तिपूर्वक नागको पूजा गरिन् । नागमाताको क्रोध शान्त भयो र किसान परिवारले अभयदान पाए । सो दिन श्रावण शुक्लपञ्चमीकै दिन थियो । सोही दिनबाट नाग पूजा गर्नुपर्दछ सो दिन हलो जोत्नुहुँदैन भन्ने परम्परा चलेको पाइन्छ ।
अन्त्यमा भन्नुपर्दा ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बँच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नागदेवताले संसारको सबैभन्दा बहुमूल्य रत्न मणिलाई शिरमा राखेका हुन्छन् । श्रीखण्ड र संगीत नागलाई निकै मन पर्छ । यसबाट मुक्त हुँदा र वर्षायामको पानी र गर्मीले गर्दा जमिनभित्रबाट शीतलताका लागि बाहिर निस्किँदा मानिसलाई डस्ने हुनाले साउन महिनामा नागको पूजा गर्ने गरिन्छ ।
यसर्थ, नागले मानवजाति र प्राणी हितका लागि सुकार्य गरेकाले सबैले पुज्ने गर्छन् । वैज्ञानिकले पनि यो कुरा पुष्टि गरी सकेका छन् । त्यसरी नै भगवान् शंकरले सदासर्वदा सर्पको माला नै लगाई सर्पप्रति सम्मान गरेको प्रस्ट हुन्छ । त्यस्तै, गुरु गोरखनाथले नौ नागको आसनमा बसी १२ वर्षसम्म तपस्या गरेकोजस्ता अनेकौं प्रसंगहरू पाइन्छन् । यसको साथै नाग बास गरेको ठाउँमा लक्ष्मीले बास गर्छिन्, शान्ति भई फलिफाप हुन्छ भन्ने जनश्रुति छ । यसकारण पनि घरको जग हाल्दा विशेषरूपमा नागको पूजा गरी घरमा नागका लागि अलग्गै स्थान छोडिराख्ने प्रचलन उपत्यकाका आदिवासीको रहेको छ ।
यसको साथसाथै नागको महिमाको सम्झना गरी राख्न नागपोखरी, नागस्थान, नागढुंगा आदि नामका ठाउँ काठमाडौं ’round निकै प्रसिद्ध छन् । नागप्रति आस्था राख्दै चाडपर्व, विवाह, व्रतबन्ध, शुभ अन्नप्रासन आदिमा विधिपूर्वक नागदेवताको पूजा गरिन्छ । यसकारण नागपञ्चमी अझै पनि परम्परागतरूपमा मनाइएको पाइन्छ । यसर्थ, जमिनभित्र बस्ने नागले घरको धरातललाई हलचल गर्न नदिने र घरमा सुख, शान्ति र समृद्धि हुने धार्मिक मान्यता छ । नागपञ्चमी श्रद्धा र विश्वासको पर्व पनि हो । यस दिनमा नागको साथै नागधारी शिवको पनि पूजा आराधना गरिन्छ । अतः ज्योतिषशास्त्रीय मान्यताअनुसार पनि विभिन्न रोग, दोष निवारणका लागि नागपञ्चमीको दिन काल सर्पदोष निवारणसम्बन्धी पूजाआजा गर्ने चलन छ ।
यस दिन खेतमा खनजोत गर्दा सर्पहरू मर्दछन् भन्ने मान्यताले गर्दा जमिन खन्ने जोत्ने कार्य गर्नुहुँदैन भन्ने जनविश्वास रहिआएको छ । कृषि र वर्षासँग पनि नागको (सर्प)को समन्वय भएकाले यस्ता पर्वमा प्रकृतिमा रहेका जीवको पनि पूजाआजा गरी पृथ्वीमा सबैको सहअस्तित्व स्विकार्नु नेपाली संस्कृतिको विशेषता र मौलिकता हो, जसले प्रकृति र संस्कृतिबिच समन्वय स्थापित गरेको छ ।