पोखरा । पोखरा सहरको मध्यभाग भएर बग्ने फिर्के खोला मिचेर डेढ सय संरचना निर्माण भएका पाइएको छ । पोखरा महानगरपालिकाले एक महिना लगाएर सम्पन्न गरेको फिर्के सीमांकनमा यस्तो भेटिएको हो ।
सर्वेक्षक बासुदेव पौडेलले फिर्के सीमांकनक्रममा १ सय ४७ वटा संरचना खोला मिचेर निर्माण भएका भेटिएको बताए । तीमध्ये ३५ वटा पक्कीघर व्यक्तिका हुन्् भने २५ सामाजिक भवनले फिर्के खोला मिचेका छन् । साथै, ८७ वटा कच्ची घर पनि फिर्के खोला मिचेरै निर्माण भएका भेटियो । उनका अनुसार केही संरचना त ८० प्रतिशत पानीमै छन् ।
फिर्केखोला अतिक्रमणको चपेटामा परेपछि पोखरा महानगरपालिकाले फिर्के खोजी अभियान थालेको हो । फिर्के मिचेर मापदण्ड भत्काउनुपूर्व त्यसका लागि ३ साउनमा सुरु भएको सीमांकन ठिक एक महिनापछि ३ भदौमा सकिएको हो ।
सर्वेक्षक पौडेलका अनुसार खोलामै परेका घरका संरचना धेरै भएको बताए । महानगरले दिएको जिम्मेवारी आफूहरूले बर्खा नभनी कठिनपूर्व सम्पन्न गरेको उनको भनाइ छ । सीमांकन गर्न ५ सय ८४ पक्की पिलर गाडिएको छ । यस्तै, खोलाको दायाँबायाँ २ सय ४० जति चिह्न लगाइएको छ ।
केही समयअघि फिर्केको मापदण्ड मिचेर लायन्स क्लब र एक धार्मिक समितिले पक्की भवन नै निर्माण गरेका थिए । यस्तै, पाँच समाजघरको भवन पनि मापदण्डभित्रै भएका पाइएको छ । राजनीतिक दल तथा शक्तिकेन्द्रको आडमा लगातारको अतिक्रमणले फिर्केखोला खुम्चिदै र प्रदूषित हुँदै गएको हो । यहाँ ठुल्ठुला कंक्रिटका संरचना निर्माण गरिएको छ । यसको किनारमा निर्मित कतिपय सामाजिक संघसंस्थाका भवनमा त सरकारी लगानीसमेत छ ।
नागरिक समाज पोखराका पूर्वअध्यक्ष रामबहादुर पौडेलले फिर्के सीमांकन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गरे । उनले फिर्के मिच्ने संरचना तत्काल भत्काएर मोटरेबल बाटो, फुटट्रेल र साइकल लेन निर्माण गर्नुपर्ने बताए ।
सीमांकन प्रतिवेदन अर्को सातासम्म सार्वजनिक गर्ने पोखरा महानगरपालिकाको तयारी छ । पहिलो चरणमा खोला भागको यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, संवद्र्धन र विशेष सौन्दर्यीकरण कार्य सुरु गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार यसलाई फिर्के कोरिडोरका रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ ।
एसियाली विकास बैंकको पोखरामा दिगो विकास पर्यटनका लागि ७ अर्ब रुपैयाँको योजना छ । महानगरले अर्को सूचना जारी गरी मापदण्ड मिचेर निर्मित संरचना भत्काउन समय दिने जनाएको छ । २०३२ सालको नापीअनुसार अहिले फिर्केखोलाको प्राविधिक सर्वेक्षण र नाँपजाँच गरेर सिमाना यकिन गर्ने काम भएको हो । तत्कालीन नगरप्रमुख मानबहादुर जिसी नेतृत्वमा ६ पुस, २०७५ को कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोकेको थियो । तर, सो निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।
अहिलेको सीमांकनमा सर्वेक्षक पौडेलसहित अर्का सर्वेक्षक बद्रीप्रसाद तिवारी र १६ जना अमिन संलग्न थिए । त्यस्तै, किला गाड्ने, झाडी फाड्ने, सिमेन्टको मसला मुछ्ने र नगर प्रहरी २२ गरी कुल ४० जना लगातार खटिएका थिए । फिर्केखोला पोखरा–१८ अँधेरीकुनादेखि सुरु भएर पोखरा–१७ गाईघाटस्थित फेवातालमा गएर मिसिन्छ । फिर्केले पोखराको वडा नं. २, ४, ५, ७, ८, १७ र १८ नम्बर छुन्छ ।