काठमाडौं । गाईजात्रा कार्यक्रममा अरुलाई हँसाउन कलाकारहरू आफू भने पीडामा पनि हुने गर्छन् । कतिपय अवस्थामा आफन्त बितेका बेला पनि कार्यक्रममा आएर दर्शकलाई हँसाउन उनीहरू विवश हुन्छन् । हाँस्य अभिनेता जितु नेपालसँग यस्ता घटना धेरै छन् ।
यस वर्षको गाईजात्रा नजिकिँदै गर्दा पहिलो गाईजात्रा कार्यक्रममा रुनुपरेको घटना उनी कहिल्यै भुल्दैनन् । प्रसंग हो २०५२ सालको गाईजात्रको । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अगाडि पहिलो गाईजात्रे कार्यक्रम प्रस्तुत गर्ने अवसर यी कलाकारले पाएका थिए । त्यतिबेला उनी कलाकारितामा बामे सर्दै थिए । कलाकारितामार्फत आफूलाई कसरी चिनाउने ? यो नै उनको प्रमुख लक्ष्य हुने गथ्र्याे । त्यहीबेला प्रधानमन्त्रीका सामु आफ्नो कला देखाउने अवसर उनलाई जु¥यो । तर, यो अवसर उनका लागि फलामको चिउरा चपाउनुजस्तै थियो ।
दमन रूपाखेतीसँग मिलेर जितुले ‘हाकिम र पिउन’का ’boutमा ७ मिनेटको प्रहसन बनाए । आयोजक कलाकारसँग रोइकराइ गरेपछि बल्ल उनले त्यो प्रहसन देखाउने अवसर पाएका थिए । प्रहसन प्रधानमन्त्री देउवाका अगाडि प्रस्तुत गर्नुपर्ने थियो । त्यो पनि हजार दर्शकमाझ नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्ष्यालयमा । डरले उनी अघिल्लो रात सुत्न सकेनन् ।
भोलिपल्ट उनले दमनसँग प्रधानमन्त्रीका सामु सो प्रहसन प्रस्तुत गरे । ‘हामी यत्ति धेरै नर्भस भयौं कि मुटु ढुकढुक हुँदाहुँदै हामीले प्रसहन ग¥यौं, प्रधानमन्त्रीज्यूदेखि सबैले ताली बजाएपछि राम्रो प्रस्तुति दिएछौं भन्ने लाग्यो,’ जितुले भने, ‘त्यो खबर मैले बुबाआमालाई फोनबाट सुनाउँदा उहाँहरू साह्रै खुसी हुनुभयो, ममा पनि खुसीको सीमा नै रहेन ।’ त्यतिबेला आयोजक कलाकाहरूले पनि उनीहरूलाई प्रहसन सफल भएकामा स्याबासी दिए ।
उनलाई त्यतिबेला आफू साँच्चै कलाकार भएजस्तो लाग्यो । सोही कारण पनि सो रात उनी खुसीले निदाउन सकेनन् । तर, यो खुसी एकरातभन्दा बढी टिक्न सकेन । किनकि, उनी निकै हर्षित हुँदै भोलिपल्ट पनि गाईजात्रा देखाउन समयभन्दा अघि नै प्रज्ञा भवन पुगे । त्यो पल सम्झँदै जितुले भने, ‘एकले अर्कालाई देखाउँदै हाम्रो कार्यक्रम हटाएको उहाँहरूले बताउनुभयो, हामीले रोइकराइ गर्दा पनि उहाँहरूले हाम्रो प्रस्तुति राख्न मान्नुभएन र समय अभावले हटाउनुपरेको सूचना दिनुभयो ।’ आफू त्यहाँबाट रुँदैरुँदै डिल्लीबजारमा रहेको कलाकार संघको अफिसमा पुगेको सम्झँदै जितुले भने, ‘त्यहाँ बसुन्धरा भुसाल दिदी, मोहन निरौला दाको अगाडि निकैबरे डाको छाडेर रोएँ ।’ उनले आफूलाई मोहन निरौला, बसुन्धरा भुसाललगायतले धेरै सम्झाएपछि बल्ल म रुन छाडेको बताए । उनले अगाडि थपे, ‘उहाँहरूले आग्रह गर्दा पनि आयोजक दाइहरूले हाम्रो प्रस्तुति राख्नुभएन ।’
यसरी दर्शकलाई हँसाएर खुसी तुल्याउने सपना बुनेर प्रज्ञा भवन पुगेका यी कलाकारको त्यो रात रोएरै बित्यो । ‘जीवनमा यति धेरै अपमान कुनै कलाकारले खेप्नुनपरोस् भनेर मैले भगवानसँग कामना गरें,’ जितुले भने ।
तर, कला प्रस्तुतिलाई सधै रोक्न सकिँदैन भन्ने कुरालाई उनले दोस्रो दिन पुष्टी गरेर दर्शकलाई हँसाउने अवसर पाएको उनले सम्झिए । जितुले भने, ‘भयो के भने त्यतिबेला खुलामञ्चमा दिनेश डिसी दाइलगायत विभिन्न कलाकारहरूले खुलामञ्चमा निःशुल्क गाईजात्रा गर्नुभएको थियो, हामी त्यहाँ जनासाथ उहाँहरूले स्थान दिनुभएपछि हाम्रो प्रस्तुतिले तहल्का नै मच्चयो ।’
त्यसको केही वर्षपछिबाट आफूहरूलाई जाईजात्रा कार्यक्रमका लागि बोलाउन थालिएको पनि जितुले सम्झना गरे । २०६० सालको आसपासबाट करिब ११ वर्षसम्म प्रज्ञा भवनमा तीते–जिरे, मेरीबास्सै गाईजात्रा महोत्सव गर्दा जितुले नयाँ कलाकारलाई खुलेर मौका दिए । ‘मैलेजस्तो अरुले रुनु नपरोस् भनेर आफ्नो कार्यक्रम घटाएर पनि मैले नयाँलाई स्थान दिएँ र सोही कार्यक्रमबाट नेपाली हाँस्यव्यंग्यमा राम्रा कलाकारहरू जन्मनुभयो,’ उनले भने ।
इस वर्षको गाईजात्रा नजिकिँदै छ । हाँस्य अभिनेता जितु नेपाल यतिबेला यस वर्षको गाईजात्रा कार्यक्रमको तयारीमा छन् । तर, यसपटक उनी स्टेजमा होइन, डिजिटल प्लेटफर्ममा ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ कार्यक्रम गर्दै छन् ।
‘प्रज्ञाभवनको प्रेक्षालयमै गाईजात्रे कार्यक्रम गर्ने चाहना थियो नि, भाडा नै एक दिनको २ लाख रुपैयाँ बुझाउनुपर्ने भएपछि मैले युट्युब च्यानलबाट गाईजात्रा देखाउने निधो गरें,’ जितु नेपालले सोमबार बेलुका आफ्नो कार्यक्रमको केही झलक देखाउँदै भने, ‘मैले हाँस्यव्यंग्य कार्यक्रमको यात्रा नै गाईजात्राबाट सुरु गरेको भन्दा अतिरञ्जना नहोला, सोही कारण पनि यसलाई यसपटक युट्युब च्यानलबाट निरन्तता दिन लागेको हुँ ।’
उनले यसपटक ७ देखि २० भदौसम्म आफ्नो युट्युब च्यानलबाट हरेक दुई दिनमा आधा घन्टाको ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ नयाँ कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । यसपटक उनीसँग कलाकारहरू सुरेन्द्र केसी (मुलासाग), दमन रूपाखेती, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), दिनेश काफ्ले, प्रभात लामा, विपना थापा, एलिना बास्कोटालगायतका कलाकारहरूको प्रहसन प्रस्तुत हुनेछ । यसपटक युट्युब च्यानलबाट आफ्नो गाईजात्रे कार्यक्रम सफल भएको खण्डमा अर्को वर्ष स्टेजमै सप्ताहव्यापी गाईजात्रे कार्यक्रम गर्ने पनि जितुको भनाइ छ ।