नीति अनौपचारिक कानुन हो । सामान्यतया नीति सम्बन्धित क्षेत्रको समूहका निम्ति मान्य हुन्छ । सामूहिक भलाई र आवश्यकतामा आधारित हुने भएकाले नीति सबैका लागि मान्य भएको हो । सामूहिक भावनामा आधारित रही निर्माण गरेको नीति दीर्घकालीन हुन्छ । अल्पसंख्यक व्यक्ति वा समूह विशेषकै स्वार्थमा आधारित नीति सबैका निम्ति मान्य नहुने भएकाले यो स्थिर पनि हुँदैन । राज्य सञ्चालन गर्ने, राज्यका निकाय विभाग वा संगठन सञ्चालन गर्ने तथा सरकारी एवं गैरसरकारी निकाय वा संघसंस्था सञ्चालन गर्ने आ–आफ्नै नीति हुन्छन् । स्थिर नीतिमा आधारित कार्य सञ्चालन प्रक्रिया उपलब्धिमूलक हुन्छ । तर, यसविपरीत व्यक्तिवादी सोच र दृष्टिकोणमा आधारित नीति भए त्यो कार्य सम्पादनकै बाधक बन्छ । यसैले नीति निर्माताले व्यक्तिवादी सोच र समूहगत स्वार्थमा कहिल्यै पनि नीति निर्माण गर्नुहुँदैन ।
स्तम्भकारको ध्यान करिब सात–आठ महिनाअघि तत्कालीन आइजिपी धिरजप्रताप सिंहको पालामा निर्माण गरिएको नेपाल प्रहरीको आन्तरिक नीति हालैका आइजिपी वसन्त कुँवरले हेरफेर गर्दा असन्तुष्ट बनेका अधिकृतहरूको प्रतिक्रियाले आकर्षित गराएको छ । हेरफेर भएको पछिल्लो नीतिबाट सन्तुष्ट हुने अधिकृतहरू पनि धेरै हुनसक्छन् । तथापि, असन्तुष्ट अधिकृतको संख्या नै अत्यधिक भएको पाइएपछि यस’boutमा उपत्यकाबाहिर कार्यरत अधिकृतको प्रतिक्रिया बुझ्ने प्रयास गरिएको थियो । सोक्रममा सातै प्रदेशका सुगम तथा दुर्गम स्थानमा कार्यरत केही प्रहरी अधिकृतसँग बुझ्दा फेरबदल नीतिबाट ४० प्रतिशत अधिकृत सन्तुष्ट, ६० प्रतिशत असन्तुष्ट रहेका पाइयो । यस पृष्ठभूमिमा नेतृत्व परिवर्तन सँगसँगै हुने नीतिको परिवर्तन प्रभावकारी कार्य सञ्चालनकै बाधक बनेको देखियो ।
अनौपचारिक कानुन मानिने नीति मात्र होइन राज्यले केही दिनअघि बनाएकै कानुन भोलिका दिनमा अमान्य र प्रभावविहीन बन्नसक्छन् । यो सबैले महसुस गरेकै कुरा हो । कानुन वा नीति निर्माण गर्दा समस्त नागरिक वा संगठनका सम्पूर्ण सदस्यको हितलाई सम्बोधन गर्नेगरी निर्माण गर्नुपर्छ । नीति वा कानुनको मुख्य उद्देश्य नै सामूहिक उपलब्धि हासिल गर्न सबैलाई अभिप्रेरित गराउनु हो । हुन त प्रहरीको मात्र होइन सरकारकै नेतृत्व फेरबदल हुँदा नीति नै फेरबदल गर्ने हाम्रो नकारात्मक प्रशासनिक विशेषता नै हो । साबिकको नीतिको प्रभावकारिता जस्तोसुकै होस्, त्यसलाई नै निरन्तरता दिए आफूलाई अदक्ष ठान्ने परिवर्तित नेतृत्वको दृष्टिकोण आफैंमा घातक छ । तर, यही प्रवृत्ति व्यवहारमा हट्नसकेको छैन ।
प्रहरीको नीति फेरबदल उपल्लो र मध्यम स्तरका प्रहरी अधिकृतको चासोको विषय बन्ने गर्छ । नीतिप्रति चासो राख्ने उपल्लो तहका अधिकृतहरूमा एसएसपीदेखि एआइजिपीसम्म पर्छन् । यसैगरी, नीतिप्रति बढी चासो दिने मध्यम तहका अधिकृतहरूमा एसपी, डिएसपी र इन्सपेक्टर पर्छन् । वरिष्ठ सईभन्दा मुनिका दर्जालाई नीतिको फेरबदलप्रति त्यति चासो हुँदैन । प्रहरीमा व्यक्तिगत हित र स्वार्थकै लागि नीति परिवर्तन गर्ने प्रवृत्ति निकै पुरानो हो । सर्वप्रथम प्रहरीमा व्यक्तिवादी नीतिको बिजारोपण तत्कालीन आइजिपी मोतिलाल बोहराको पालामा २०४९ सालबाटै प्रारम्भ भएको हो । त्यसबेला पदावधि कायम रहेकै अवस्थामा साबिकका आइजिपी रत्नशमशेर जबरालाई ३० वर्षे सेवा अवधि लागू गराएर अवकाश दिलाई आफू आइजिपी बन्ने उद्देश्यले मोतिलाल बोहराले चालेको षड्यन्त्र अन्ततः सफल भयो । यसका लागि प्रहरी नियमावली नै संशोधन गरियो ।
नीति निर्माताले व्यक्तिवादी सोच र समूहगत स्वार्थमा कहिल्यै पनि नीति निर्माण गर्नुहुँदै
कार्यकाल बाँकी रहँदै आइजिपी रत्नशमशेरले अवकाश हुनुप-यो । मोतिलाल बोहरा उनको ठाउँमा आइजिपी भए । आइजिपीबाट अप्रत्याशित रूपमा पदमुक्त हुनुपर्दा रत्नशमशेर जबरा अन्यायमा त परे नै । तर, त्यसभन्दा मार्मिक असर रत्नशमशेरले नक्सालस्थित आइजिपी निवासबाटै गर्न तयार पारेको छोराको विवाह गर्न पाएनन् । रत्नशमशेर राणाका तर्फबाट नक्साल निवास नै विवाहस्थल उल्लेख गरी निमन्त्रणा कार्डसमेत बाँडिएको थियो । विवाहको केबल पाँच दिनअघि मात्रै उनले आइजिपी निवास नै छोड्नुपर्दा विवाहको निर्धारितस्थल नै परिवर्तन गर्नुप¥यो । यो रत्नशमशेरको निम्ति अत्यन्त मार्मिक अवस्था बनेको स्तम्भकारले महसुस ग¥यो ।
यसपछि लागू भएको ३० वर्षे सेवाहद आइजिपी बोहराले आफ्नै कार्यकालको अन्त्यतिरै हटाउने प्रयास पनि नगरेका होइनन् । बोहराको महत्वकांक्षा पुनः ३० वर्षे सेवाहद हटाई आफ्नै कार्यकाल बढाउने थियो । तर, त्यसमा बोहरा सफल हुनसकेनन् । तैपनि, उनले आफैं प्रहरी सेवाको उच्च पदमा रहिरहने आकांक्षाले आइजिपीभन्दा माथि डिजी वा डाइरेक्टर जनरलको पद स्थापित गरी आफैं सो पदमा रहने महत्वकांक्षा लिएका थिए । तर, त्यसमा सफलता नपाएपछि बोहरा २०५३ सालमा आइजिपी पदबाट अवकाश भए । प्रहरी संगठनभित्र व्यक्तिवादी नीतिको बिजारोपण यसरी नै भएको थियो ।
यही समयदेखि उच्च प्रहरी अधिकृतहरू नेताको पछि लाग्नेक्रम पनि प्रारम्भ भयो । एकै ब्याजका अत्यन्त घनिष्ट अच्यूतकृष्ण खरेलले केवल छोटो समयमै आइजिपी पदबाट अलग्गिनुप¥यो भने ध्रुवबहादुर प्रधान, खरेलको ठाउँमा आइजिपी भए । तर, आफू अन्यायमा परेको भनी आइजिपी अच्यूतकृष्ण खरेल सर्वोच्च अदालत गएपछि पुनः खरेल आइजिपी पदमै पूर्ववतः रूपमा कायम रहेका थिए । त्यसबेला तत्कालीन गृहमन्त्री वामदेव गौतम, भएका आइजिपीलाई हटाउने र अर्कोलाई बनाउने निर्णयकर्ताको भूमिकामा थिए । नेता पछ्याउने प्रवृत्ति पनि वामदेव गौतमकै पालामा चुलिँदै आएको हो । नेताले पनि निजी स्वार्थमा आइजिपीलाई प्रयोग गर्ने अवसर पाउँदै आए । यसपछि हरेक आइजिपीका पालामा यसक्रम दोहोरिँदै आयो । प्रहरी संगठनको संगठनात्मक एकतामा खलल पु¥याउने प्रमुख कारण उच्च अधिकारीबिचकै स्वार्थको प्रतिस्पर्धा पनि हो । यही प्रवृत्ति तल्लो तहका अधिकृतसम्म विस्तारित हुँदा अहिले त प्रहरी अधिकारीहरू नै प्रभावशाली दलकै भ्रातृ संगठनमा परिणत हुन थालेका छन् । यस पृष्ठभूमिमा प्रहरीको नीति फेरबदल हुनु आश्चर्यको विषय होइन ।
व्यक्तिवादी नीति सीमित व्यक्तिको निम्ति लाभदायक भए पनि सिंगो प्रहरी संगठनका निम्ति घातक हुन्छ भन्ने कुरा आइजिपीले बुझ्न जरुरी छ । यस्तो नीति केही व्यक्तिका निम्ति उच्च पद हत्याउने माध्यम बन्नसक्छ भने कसैका निम्ति यो पदावधि बढाइदिने अवसर बन्नसक्छ । तर, दीर्घकालीन सोच र उद्देश्यले कर्तव्यप्रति समर्पित रहने अधिकांश प्रहरी अधिकृत तथा जवानका निम्ति यस्तो नीति हानिकारक हुन्छ । कार्यक्षमताकै आधारमा वृत्ति विकास गर्न समर्पित इमानदार अधिकृतले उपल्लो तहमा पुग्ने अभिलासा राख्नु स्वाभाविक हो । यसक्रममा आफ्नै योजनाका साथ क्यारियर बनाएर अघि बढ्ने अधिकृतका निम्ति अस्थिर नीति घातक बन्छ । नोकरी अवधिका आधारमा माथिल्लो के कुन पदमा पुग्न सकिन्छ भन्ने अग्रीम योजना सबैले गरेका हुन्छन् । आइजिपी परिवर्तन हुनासाथ नीतिमा परिवर्तन हुँदा योजनाबद्ध ढंगले अगाडि बढ्ने अधिकृतको योजनामा असर पर्छ । नेताको पछि लाग्ने व्यक्ति अगाडि बढ्ने, इमानदार पछाडि पर्ने गर्छन् ।
आइजिपीको फेबदल नै मातहतका अधिकृत जवानको उत्साह र निरुत्साहको कारण बन्छ
नीति फेरबदलको अर्को हानिकारक पक्ष मनोबलमा असर पुग्नु हो । प्रहरीको मनोबलमा ह्रास आए प्रभावकारी कार्य हुँदैन । यसले संगठनको एकतामै चोट पु¥याउँछ । प्रहरीको मनोबल उच्च होस्, प्रहरीले जनसेवाका उल्लेख्य काम गरोस्, सबै अपराधीलाई कानुनको दायरामा ल्याओस्, निष्पक्ष कार्य गरोस् भन्ने चाहना सत्तासीन नेताकै हुँदैन । प्रहरीले यस्तो कार्य गरे समाजमा लोकप्रिय हुन्छ । प्रहरीको संगठनात्मक एकता मजबुत हुन्छ । त्यस अवस्थामा प्रहरीलाई निजी एवं दलीय स्वार्थमा प्रयोग गर्न सकिँदैन भन्ने चिन्ता प्रायगरी हरेक दलका शीर्षस्थ नेतामा हुनेगरेको छ । उच्च प्रहरी अधिकृतहरू आफ्नै पछि लागिरहून् भन्ने नेताको मानसिकता प्रहरी संगठनको एकता खलल पार्ने माध्यम बन्दै आएको छ । नेताकै आड र संरक्षणमा उच्च प्रहरी अधिकृतहरू नै आपसी स्वार्थको प्रतिस्पर्धाले गुट उपगुटमा विभाजित हुँदैआएका छन् । यो कुरो हालै फेरबदल भएको प्रहरी नीतिको सन्दर्भमा गरिएको हालैको उपरोक्त सर्वेक्षणले नै पुष्टि गर्छ ।
अस्थिर नीतिको प्रभाव प्रहरीमा कस्तो पर्छ भन्नेतर्फ पनि संक्षिप्त चर्चा गर्नु सन्दर्भिक हुन्छ । अपराध नियन्त्रण र शान्ति सुरक्षाको प्रहरी दायित्व आफैंमा संवेदनशील छ । यही दायित्व सम्पादन गर्न र सर्वसाधारणमा सुरक्षाको अनभूति दिलाउन प्रहरीले स्वतस्फूर्त रूपमै कार्य गरेको हुनुपर्छ । यसका निम्ति नीति फेरबदलप्रति चासो नराख्ने तल्लो तह वा वरिष्ठ सईदेखि प्रहरी जवानसम्मकै भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । किनकि, नित्य सर्वसाधारणको घरदैलोसम्म पुग्ने र जनताकै साथमा रहने प्रहरी पनि यही तल्लो तहको हो । यिनीहरूकै कार्यसम्पादन शैली र व्यवहारमा नेपाल प्रहरीको लोकप्रियता र अलोकप्रियता आधारित रहन्छ ।
स्वतस्फूर्त कार्य गर्नका निम्ति प्रहरीको मनोबल उच्च हुनुपर्छ । सेवाप्रतिको निष्ठा प्रगाढ हुनुपर्छ । प्रहरीबिचकै पारस्परिक व्यवहार, उच्च प्रहरी अधिकृतप्रतिको विश्वास र आडभरोसा, वृत्ति विकास अवसर, संगठनद्वारा सञ्चालित पारदर्शी कार्य तथा मातहतका अधिकृत जवानलाई हेर्ने उच्च अधिकृतको दृष्टिकोण प्रहरी मनोबलका प्रमुख आधार हुन् । अनुकूल वातावरणभित्रको प्रहरी कार्य प्रभावकारी हुने भएकाले त्यसबाट निस्कने कार्य परिणाम पनि उपलब्धिमूलक हुन्छ । यसका निम्ति संगठन, सकल दर्जाकै समानुपतिक हितमा आधारित स्थिर नीतिमा परिचालित हुनुपर्छ । यस अवस्थामा आइजिपी परिवर्तन हुँदैमा प्रहरीको नीति परिवर्तन गर्नुपर्दैन ।
संगठनका समस्त कर्मचारीलाई काम कर्तव्यप्रति अभिप्रेरित गराई लक्ष्यमा पुग्न आइजिपीको भूमिका नै सर्वोपरी हुन्छ । आइजिपी बन्नसक्ने सम्भावित व्यक्तिको मातहतका अधिकृत जवानले डिआइजिपी हुँदादेखि नै अनुगमन गरिरहेका हुन्छन् । कार्य क्षमताकै आधारमा अगाडि पर्दैआएको वा सम्भाव्य उम्मेदवारलाई नेताले नै अगाडि पारेको ? यस कुरा पनि कसैको नजरबाट लुकेको हुँदैन । यस पृष्ठभूमिका आइजिपीको फेबदल नै माततहतका अधिकृत जवानको उत्साह र निरुत्साहको कारण बन्छ । आइजिपीको व्यवहार र कार्यशैली मातहतको लागि उदार छ वा छैन ? सबैले अनुगमन गरेका हुन्छन् । मातहतको अपेक्षा पूरा गर्नकै निम्ति पनि कहिलेकाहीँ आइजिपीले प्रारम्भमै विगतको नीति परिवर्तन गर्नुपर्ने हुन्छ । यस पृष्ठभूमिबाट परिवर्तन हुने नीतिले सुधारको अनुभूति दिएको हुनुपर्छ । यो प्रहरी कार्य प्रशंसनीय गराउने माध्यम पनि हो । आइजिपीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा पनि यही हो ।