मकवानपुर । गर्मी बढेसँगै बागमती प्रदेशमा डेंगी संक्रमित बिरामीको सङ्ख्या बढीरहेको तथ्याङ्कले देखाएको छ । लार्भा खोज र नष्ट गर अभियान चालिरहेको भएपनि प्रदेशमा डेंगी संक्रमितको सङ्ख्या बढीरहेको छ हालसम्म बागमती प्रदेशमा ४ जनाको ज्यान गुमिसकेको छ ।
डेंगीको कारण प्रदेशको ललितपुर जिल्लाका २ जना तथा धादिङ र मकवानपुरका एक÷ एक जनाको डेंगु सङ्क्रमणको कारण ज्यान गएको छ । ललितपुर जिल्लाको इमाडोलकी ३८ बर्षीया महिला र थैवका ७१ बर्षीय पुरुषको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको हो । यता प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ४९ वर्षीय पुरुष र चितवन जिल्लाको ७२ बर्षीय मिहलाको मृत्यु भएको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले महामारीको रुपमा संक्रमितको संङ्ख्याका नबढोस् भनेर प्रचार प्रसारलाइ तिव्रता दिएको जनाएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार ९ भदौसम्म प्रदेशका १३ जिल्लामा ३ हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएका छन् ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालका अनुसार अहिले पनि लार्भा खोज र नष्ट गर भन्ने अभियान जारी छ । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा २ हजार ५५३, काठमाडौँमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलान्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२÷१२ जनामा डेंगु पुष्टि भएको छ ।
सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२ र अगस्ट २५ सम्म तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो एक साताको तथ्याङ्क अनुसार दोलखा, सिन्धुपाल्चोक र रसुवामा डेंगु सङ्क्रमितको सङ्ख्या स्थित रहेको छ भने धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर नुवाकोट, रामेछाप, चितवन, काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुरमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
डेंगु सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाइ, ’round पानी जम्न नदिने, पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेंगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरिएको हो ।
भदौमा डेंगु सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले डेंगु प्रकोप नियन्त्रणका लागि महामारीजन्य रोगहरू नियन्त्रण र रोकथाम गर्न विभिन्न शीर्षकमा तीन करोड १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी डाक्टर भुसालले जानकारी दिए ।
बच्नको लागि के गर्ने
डेंगी संक्रमण फैलाउने लामखुट्टेले विशेष गरी बिहान, दिउँसो तथा साँझको समयमा टोक्छ । यस्तो बेला टोक्ने लामखुट्टेको टोकाईबाट डेंगी लाग्न सक्ने भएकोले विशेक सचेत रहनु पदर्छ ।
यसबाट बच्नको लागि लामखुट्टेबाट बच्न पूरै शरिर ढाक्ने लुगा लगाउने, घर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राखेको भाँडालार्ई छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बालौँ र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, घरभित्र लामखुट्टे छिर्न नसक्ने गरी झ्याल ढोकामा जाली वा सुत्ने बेलामा झुल लगाएर सुत्ने, अध्याँरा कुना–काप्चामा किटनाशक औषधि छर्कने, कम्तीमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएका प्लेटहरु राम्ररी सफा गर्ने गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् ।
स्थानीय तहहरुले लामखुट्टे नियन्त्रणको लागि विशेष काम अभियान समयमा नै सुरु गर्नु पर्दछ । लामाखुट्टेको टोकाइबाट बच्नु नै डेंगीको संक्रमणबाट बच्ने मुख्य उपाय हो । विद्यालयहरुले पनि सभावित क्षेत्रमा लार्भा नियन्त्रणको लागि औषधिहरु छर्किनु पर्ने स्वास्थकर्मीहरुले पनि सुझाव दिएका छन् ।