काम नगर्ने निर्माण व्यवसायीलाई पाल्पामा कारवाही

पाल्पा । सडक निर्माण र मर्मतको ठेक्का लिएर लामो समयसम्म काम नगर्ने निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालय पाल्पाले कारवाही थालेको छ । पटक पटक म्याद थप गरे पनि जिम्मा लिएको काम नसक्ने ८ निर्माण व्यवसायीका १० ठेक्का रद्द गर्न लागेको हो । उनीहरुको धरौटी जफत गरेर कालो सुचीमा राख्न विभागसंग समन्वय गरेको कार्यालयले जनाएको छ ।

पहाडी जिल्लाको मेरुदण्ड सिद्धार्थ राजमार्ग मर्मत जिम्मा लिएका ४ निर्माण व्यवसायीका ५ वटा ठेक्का रहेका छन् । कान्छाराम जयबाबा गोरखा जे.भि. काठमाण्डौंले २०७१ लिएको राजमार्ग मर्मतको काम अझै सकेको छैन । जय रक्तकाली कन्ट्रक्सन प्रा.लि.नुवाकोटले राजमार्गको तल्लो डुुम्रे र जरेपिपल क्षेत्र, नमुना कन्ट्रक्सन खिम्ती प्रा.लि. रामेछापले झुम्सा–राम्दी खण्ड र चण्डी निर्माण सेवा सिद्धार्थनगर रुपन्देहीले तानसेन–बुटवल खण्डमा मर्मत जिम्मा लिएपनि तोकिए अनुसार काम नभएको सडक डिभिजन कार्यालय जनाएको छ । सिद्धार्थ राजमार्ग खाल्टाखुल्टी नहुनमा यि निर्माण व्यवसायीहरूको लापरवाही र ढिलासुस्ती प्रमुख कारण रहेको छ ।

आर्यभञ्ज्याङ्ग रामपुर सडकखण्डमा मर्मतको जिम्मा लिएका कोशी एण्ड न्यौपाने ओम साई कन्ट्रक्सन जे.भी. काठमाण्डौ र उदय कन्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग कन्सल्टेन्सी पाल्पाको काम पनि अलपत्र छ । ब्रर्तुङ्ग–रिडी–तम्घास सडक मर्मतको जिम्मा लिएको रिदम कन्ट्रक्सन बुटवल रुपन्देही र कालीगण्डकी नदी गुल्मी र स्याङजा जोड्ने स्टिल ट्रस पुल श्री स्वच्छन्द निर्माण सेवा नागार्जुन काठमाण्डौलाई कारवाहीको दायरमा ल्याउन लागिएको छ । पटक पटक म्याद थप गरेपनि सम्झौता अनुसारको काम नसक्ने ८ निर्माण व्यवसायीका १० ठेक्काहरुको सम्झौता रद्द गर्न विभागमा पत्राचार गरिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदिपमणी निरौलाले बताए ।

कालीगण्डकी नदीमा गुल्मी र स्याङ्जा जोड्ने स्टिल ट्रस पुल निर्माण गर्न २०६९ साल ठेक्का सम्झौता गरेको श्री स्वच्छन्द निर्माण सेवा नागार्जुन काठमाण्डौले पुल निर्माण अलपत्र छाडेको छ । कान्छाराम जयवावा गोरखा जे.भि. काठमाडौको २०७१ को ठेक्का अझै सकिएको छैन । पटक पटक म्याद थप्द गरे पनि तोकिएको काम भएको छैन ।

माडी चक्रपथ निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने ओम साई कन्ट्रक्सन जे.भी काठमाण्डौ २०७२ साल लिएको ठेक्का पनि अलपत्र परेको छ । ६ करोड २ लाख लागतमा सडक स्तरउन्नती र बिस्तार सम्झौता भएपनि काम भएको छैन । ४ पालिकाका जनताहरू लक्षित गरेर निर्माण गरिएको माडीफाँट चक्रपथ अलपत्र परेकाले धेरै अप्ठारो परेको तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजेश कुमार अर्यालले बताए ।

निर्माण व्यवसायीले धेरै योजनाका एकै पटक ठेक्का लिने र राजनीतिक पहुँचमा सयममा काम नगर्ने प्रबृत्ति बढ्दो देखिन्छ । डिभिजन कार्यालय पाल्पामा जय रक्तकाली कन्ट्रक्सन प्रा.लि.नुवाकोटले ३ वटा ठेक्का अलपत्र पारेको छ । सार्वजनिक खरिद ऐनमा भएका छिद्रलाई समातेर पटक पटक म्याद थप्ने र काममा ढिलासुस्ती गर्न निर्माण व्यवसायीहरुको व्यवहारमा लगाम लगाउन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी