पोखरा । उनलाई फिल्म सञ्चालक मात्रभन्दा परिचय अपूरो हुन्छ । स्कुले शिक्षाबिनै फुटपाथको व्यापारबाट उद्योगपति बहलिएका जितप्रसाद द्वाले मनोरञ्जनसँगै उद्योग, व्यापार र बैंकिङ क्षेत्रमा पनि फराकिलो परिचय बनाए । जीवनको ९४ वसन्त बाँचेका पोखरा तेर्सापट्टी निवासी उनले अन्ततः अस्पताल लैजाँदालैजाँदै प्राण त्यागे । यतिखेर उनको शोकमा आफन्त, शुभचिन्तक श्रद्धाञ्जली दिइरहेका छन् ।
दूरदर्शी जितप्रसादले बुटवल र पोखरामा गरी खोलेका ५ सिनेमा हलले यहाँका बहुसंख्यक दर्शकलाई फिल्म कहानी उतारिरहेको छ । संघर्षबाट जितप्रसादले आर्जेको ऐश्वर्यको कहानी पनि कम्ता प्रेरणादायी छैन ।
पाँच वर्षको उमेरमै उनले पालिखेचोकमा बुवा लक्ष्मीप्रसादको काखमा बसेर फुटपाथ व्यवसाय सुरु गरेका थिए । गरिब परिवारका उनमा खानलाउन समस्या थियो । सुरुवात बडो दुःखमा बित्यो । बोरा बोकेर मेलामा सामान थापेर पनि बसे । पढ्न लेख्न पाएनन् । अरूको पसलमा पनि बसेर काम गरे । त्यहाँ व्यावसायिक टेक्निक सिके ।
‘अजा (हजुरबुवा)ले कक्षा १ भन्दा माथि पढ्नुभएन रे,’ नाति निकेश हजुरबुवासँगको कुराकानी सुनाउँछन् ‘तर, उहाँको माइन्ड निकै स्ट्रोङ थियो । ट्यालेन्ट हुुनुहुन्थ्यो । क्यालकुलेटर नै नचाहिने ।’
पछिल्लो २० वर्ष निकेश हजुरबुवाकै स्वास्थ्य सुरक्षाको ध्यान दिएर सेवा गरेको बताउँछन् । उनकै संगत र प्रेरणामा छोरासँगै नातिपुस्ता पनि व्यवसायमा जमेका छन् । जितप्रसाद आफू मात्र बनेनन्, १५ वर्षको छँदा बाबु गुमाएपछि सिंगो घरको अभिभारा उनको काँधमा आइपुग्यो । दुई भाइ कृष्णप्रसाद र हरिप्रसादसँगै आफ्ना चार छोरा महेन्द्रप्रसाद, नरेशमान, भरतप्रसाद र उत्तम द्वालाई पनि विभिन्न व्यवसायमै स्थापित गराए ।
चतुर प्रकृतिका भएकाले ‘चंखे साहु’ पनि भनेर चिन्थे । यद्यपि, उनी निकै सहयोगी स्वभाव थिए । सबैलाई सकेको सहयोग गर्थे । आइडिया सेयर गर्थे । साँघुमुख (हाल महेन्द्रपुल)लाई व्यवसायको केन्द्र बनाउनुमा उनको ठुलो योगदान छ ।
लामो समय व्यावसायिक संगत गरेका सुशीलकुमार गोशलीले जितप्रसाद निकै कुशल र सफल व्यवसायी भनी चिन्छन् । ‘जे देख्यो विवेकले भनिहाल्ने स्पष्ट वक्ता हुनुहुन्थ्यो, कुनै समस्या परेमा फास्ट डिसिजन गर्न सक्ने क्षमता थियो,’ २०३३ सालदेखि संगत गरेका गोशलीले स्मरण गरे, ‘समय चिन्नुहुन्थ्यो । कुन समयमा कुन व्यापार गर्दा ठीक हुन्छ भन्ने क्षमता थियो,’ पोखरामा पहिलोपल्ट सिमेन्ट भित्र्याउने उनै जितप्रसाद भएको गोशलीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जितप्रसाद निकै पुरानो व्यवसायी भएको बताउँछन् । उनको निधनसँगै पोखरामा पुराना व्यवसायी अब कोही नरहेको मुल्मीले भने । जितप्रसादले निकै संघर्ष गरेर आफूलाई सफल व्यवसायी रूपमा चिनाउन सफल भएको उनले बताए ।
बच्चैदेखि व्यापारमा लागेका जितप्रसादले पालिखेचोकमा पहिले ‘जितप्रसाद कृष्णप्रसाद’ नामको कपडा पसल (हाल उत्तम बस्त्र भण्डार) चलाएका थिए । ११ वर्षको छँदा भारतको कानपुर पुग्दा झन्डै हुलदंगामा मिचिएका । हिन्दू मुसलमानको दंगामा एक मुसलमानले सानो बच्चा भनेर घरमा लगेर उनलाई जोगाएका थिए रे । हजुरबुवाका अनेक किस्सा सुनेका नाति निकेशले भने, ‘धेरै त उहाँले कपडा व्यवसाय नै गर्नुभयो । पछि अन्यत्रमा हात हाल्नुभयो ।’ उनका अनुसार जितप्रसादले साल्ड टे«डिङको डिलर लिए । क्रमशः उनले पोखरा बुढीबजारमा बिस्कुट फ्याक्ट्री, थर्पुमा इँट्टा, कोत्रेमा साबुन, औद्योगिक क्षेत्रमा साबुन फ्याक्ट्री सञ्चालन गरे । उनले खाद्यान्न, सिमेन्टको व्यवसाय पनि गरे । व्यवसायमा सहजताका लागि एउटा भाइलाई बुटवल र अर्कालाई भैरहवामा राखेर त्यहाँ स्थापित पनि गराए । दुई भाइ उता भएपछि यता व्यवसाय सम्हाल्न नसक्दा साबुन उद्योगलगायत केही उद्योग कालान्तरमा बन्द पनि भए ।
जितप्रसादको बैंक तथा फाइनान्स एवं जग्गामा पनि ठुलो लगानी छ । सुशीलकुमार गोशली र योगेन्द्रलाल प्रधानसँग मिलेर पोखरामा २०५९ मा ओम फाइनान्स खोल्दा सबैभन्दा ठुलो सेयर हिस्सा आफैंले राखेका थिए ।
पोखराको सबैभन्दा पुरानो कल्पना सिनेमा हल हो । पछि पूर्णिमा खुल्यो । जितप्रसादले भने एकपछि अर्को फिल्म हल खोले । उनले भाइसँग मिलेर बुटवलमा कालिका चलचित्र मन्दिर चलाए । फिल्मनगरी पोखरामा क्रमशः विन्ध्यवासिनी, श्रीकृष्ण, वाराही (क), (ख) र मिड टाउन ग्यालेरिया खोले । ६ वर्षअघि मात्रै सञ्चालित आधुनिकस्तरको मिड टाउन निर्माणमै त २५ करोड खर्च भएको थियो । सानादेखि ठुला सबैसँग मिल्ने स्वभावका जितप्रसाद हरदम व्यवसायकै कुराकानी गर्न रुचाउने गरेको परिवारजन बताउँछन् ।
उनी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, पोखरा आरोग्य आश्रम, परिवार नियोजन संघ, कन्या स्कुल, खेलकुदलगायत दर्जन बढी सामाजिक संघसंस्थामा संलग्न थिए । कुष्ठरोगीको हितमा उनले निकै सक्रिय भई काम गरेको पोखरा आरोप्य आश्रम उपाध्यक्ष नारायण शर्माले बताए ।
फिल्म हेर्न असाध्यै रुचि राख्ने उनी गत साता मिड टाउनमा ‘गदर २’ हेरेको नाति निकेशले बताए । द्वा परिवारले चलचित्र पत्रकार संघ कास्कीले सञ्चालन गर्नेगरी उनको नाममा ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’समेत स्थापना गरेको छ । लामो समयदेखि हल सञ्चालन जिम्मा लिएका कान्छा छोरा उत्तम द्वाले बुवाको संघर्ष, परिश्रम, मेहनत नै अहिलेको प्रतिफल हो भन्छन् ।
भारत अमदावादका प्रतिष्ठित व्यवसायीसमेत रहेका लायन्स इन्टरनेसनलका पूर्वगभर्नर भरतकुमार छेदरले जितप्रसादको स्वर्गारोहणसँगै ४० वर्षदेखिको संगत टुटेको बताए । जितप्रसाद निकै मेहनत र इमानदार व्यक्ति भएको छेदरले स्मरण गरे ।
खेलकुद क्षेत्रमा पनि संलग्न भएको एन्फा कास्की पूर्वअध्यक्ष खेमबहादुर गुरुङले स्मरण गरे । दोस्रो राष्ट्रिय खेलकुद (२०४०) हुँदा पोखरा रंगशाला निर्माण अर्थ संकलन समितिमा रहेर जितप्रसादले काम गरेको सम्झिन्छन् । त्यस्तै, अर्का खेमबहादुर गुरुङ (तत्कालीन गण्डकी खेलकुद विकास समिति अञ्चल सचिव)ले पोखरामा २०३६÷३७ सालतिर आफू कार्यरत हुँदा जितप्रसाद समिति सदस्यमा रहेर सेवा गरेको बताए । लगानीको प्रतिफल लिने तर अवैध कारोबारमा कहिल्यै संलग्न नहुने स्वच्छ छवि भएका व्यक्तित्व भएको उपभोक्ता हकअधिकारवादी अधिवक्ता राजुराज अधिकारी स्मरण गर्छन् ।
उनी १९८७ साल असार ३ मा तेर्सापट्टीमा जन्मिएका थिए । लक्ष्मीप्रसाद र मानकुमारीका पाँच सन्तानमध्ये उनका दुई जना भाइ र दुई बहिनी हुन् । तीन छोरी र चार छोरा जन्मिए । श्रीमतीले पहिले नै धर्ती छाडे पनि आफू दोस्रो बिहे नगरी बसे । उनमा खासै रोग थिएन । सामान्य सुगर, प्रेसर भए पनि नियन्त्रणमै रहेको नातिनी–ज्वाइँ वरिष्ठ न्युरो सर्जन डा. विनोद राजभण्डारीले बताए । दुई वर्षदेखि घरमै नर्स राखेर स्वास्थ्यमा केयर हुँदै पनि आएको थियो । तर, बोल्दाबोल्दै शनिबार राति अन्तिम श्वास छाडेका उनको भोलिपल्ट हिन्दू परम्पराअनुसार रामघाटमा अन्त्येष्टि भयो ।