सार्वजनिक विद्यालय समुदायको हुन सकेको छैन । प्रायः विद्यालयमा हेर्ने हो भने नजिकैको सार्वजनिक विद्यालयमा आफ्ना छोराछोरी पठाउन अभिभावक डराउँछन् । एकपटक भर्ना अभियानमा एक अभिभावकले भने, ‘मेरो छोराछोरी यस विद्यालयमा पठायो भने संगतले बिग्रन्छन् ।’ कहाँकहाँका विद्यार्थी आएर पढेका हुन्छन् । उनीहरूको पछि लागेर छोराछोरी बिग्रन्छन्न् रे । यस भनाइले मनमा चसक्क छोयो कि सार्वजनिक विद्यालय समुदायको हुनसकेका छैनन् त ? सामुदायिक विद्यालय सुधारका लागि हामीले अब अभियानहरू ल्याउनुपर्छ । सामान्यतया निम्न कुराको सुधार गर्ने हो भने मात्रै सार्वजनिक विद्यालयमा सुधार हुन्छ । हामीले शिक्षा कस्तो हुनुपर्छ ? शिक्षाले के गर्नुपर्छ ? गुणस्तरीय शिक्षा कसरी बनाउनुपर्छ ? प्रतिस्पर्र्धी शिक्षा कसरी बनाउनुपर्छ ? धेरैपटक चर्चा गरेका छौं, छलफल गरेका छौं तर भित्री विद्यालय कसरी सुधार्नुपर्छ सोचौं । यहाँ सामान्यतया सार्वजनिक शिक्षालयभित्र सुधार गर्नुपर्ने विषयलाई कोट्याउने प्रयास गरिएको छ ।
शौचालय
अत्यन्तै सामान्य लाग्ने तर प्रायः सामुदायिक विद्यालयमा देखिएको पहिलो समस्या शौचालय हो । शौचालय सफा हुन जरुरी छ । कतिपयले भन्ने गर्छन्, सार्वजनिक विद्यालयभित्र छिर्ने बित्तिकै शौचालय कहाँ छ भनेर सोध्नु नै पर्दैन, किनकि यसबाट आउने सामान्य दुर्गन्धले पत्ता लगाउन सकिन्छ । यस भनाइलाई हेर्दा जति सहज छ, पचाउन त्यति नै गाह्रो छ । हामीले यो कुरा पहिचान गर्नुपर्छ कि के हाम्रो विद्यालयको शौचालय सफा छ ? छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय बनाइरहँदा शिक्षकका लागि बनाइएको शौचालय कस्तो छ ? कि शिक्षकहरू पनि विद्यार्र्थीकै शौचालयमा जान्छौं ? कतिपय ठाउँहरूमा हामीले देखेका छौं, स्टाफ शौचालय सफा छ र विद्यार्थीका शौचालयहरू हेरिनसक्नुको छ । विद्यार्थीहरूले शौचालयको भित्तामा पनि अनावश्यक कुराहरू लेखिदिन्छन् कतै त भित्तामा कालो पोतेर राख्नुपर्ने अवस्था देखिन्छ तसर्थ सबैभन्दा पहिला विद्यालयले आफ्नो शौचालयको सरसफाई सुधार्नुपर्छ । शौचालयबाट नै सिकाइको संस्कार सुरुवात हुन्छ ।
संस्कार
विद्यालयमा विभिन्न जाति, भाषा, धर्मलगायतका समुदायबाट विद्यार्थीहरू आउँछन् । उनीहरूका आआफ्नै संस्कार हुन्छन् । विद्यालयको संस्कार नै उनीहरूको संस्कारलाई सम्मान गर्ने हो । विद्यालयमा विभिन्न प्रकारका कार्यक्रम राख्ने, कार्यक्रममा संस्कार र संस्कृतिलाई प्रदर्शन गर्न दिने, व्याख्या गर्न दिने हो भने पक्कै पनि सुधार हुनेछ । एक आपसको बोलीचाली पनि संस्कार विकासकै क्रममै आउँछ । सार्वजनिक विद्यालयका विद्यार्थीहरूको बोलीचालीमा मिठासपन ल्याउन जरूरी छ, जसलाई अनुशासनभित्र पनि राख्न सकिन्छ । तर, हामीले कतिपय अवस्थामा सिधै पाठ्यपुस्तक पढाउनुभन्दा अगाडि विद्यार्थीहरूलाई यस्ता भाषा, संस्कृति, बोलीचाली, व्यवहार सम्बन्धका ’boutमा सिकाउनुपर्छ ।
सार्वजनिक शिक्षामा दिगो सिकाइ, दिगो विकास र सकारात्मक समालोचनात्मक चिन्तनको विकास हुन जरुरी छ
सहभागिता
सार्वजनिक विद्यालय सुधारको महत्वपूर्ण सूत्र सहभागिता पनि हो । परियोजना कार्यमार्फत समाजसँग जोडिने विभिन्न सहक्रियाकलापमा विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता गराउने तथा सामाजिक परिवेशका समस्याहरू समाधान गर्नका लागि विद्यार्थीहरूको सहभागितालाई वृद्धि गर्ने हो भने सार्वजनिक विद्यालयको समुदायसँग सम्बन्ध विस्तार हुन्छ । कक्षाकोठाभित्र राखेर मात्रै सिकाएर हुँदैन । सामाजिक संस्कारको विकाससँगै सहकार्य गराउनुपर्छ । आपसमा समन्वय र सहयोगको भावना विकास हुन्छ । विद्यालयले समाज हाम्रो हो र समाजले विद्यालय हाम्रो हो भन्ने सोचले सार्वजनिक शिक्षा सुधार हुन्छ ।
शिक्षक व्यवस्थापन
सार्वजनिक विद्यालयको सुधारको सूत्र शिक्षक व्यवस्थापन पनि हो । विषयगत शिक्षकहरूको व्यवस्था शिक्षक सेवा आयोग र शिक्षा विकास तथा समन्वय इकाई एवं स्थानीय तहबाट हुने भएकाले विद्यालयले पाठ्यक्रमभन्दा बाहिरका सिकाइ विकासका लागि शिक्षकको व्यवस्थापन गर्न सक्नुपर्छ । नृत्य, चित्रकला, योग, साहित्य, वाककलालगायतका शिक्षकहरूको थपेर सिर्जनात्मक कलाको विकास गर्दा आकर्षणको केन्द्र पनि बन्नसक्छ ।
सिकाइ सामग्री
सार्वजनिक विद्यालयमा सरकारले लगानी तलबमा मात्रै गर्छ । साथै थोरै लगानी कतिपयलाई विद्यालयमा थाहा नै हँुदैन । सिकाइ सामग्री खरिदका लागि आएको पैसा कहाँ जान्छ ? कसरी खर्च हुन्छ ? प्रशासनलाई मात्र थाहा हुन्छ । तर, यस्ता कुरालाई विद्यालयले आफ्नो वार्षिक योजनामा समेटेर शिक्षकहरूको सहभागितामा वर्षभरिका लागि आवश्यक पर्ने सिकाइ सामग्री निर्माणका लागि कार्यशाला बनाउन जरुरी छ । कार्यशालामा आफ्नो पाठ्यपुस्तक, पाठ्यक्रमले राखेका उद्देश्य पूरा हुने शिक्षण सिकाइ सामग्रीहरू निर्माण गर्नुपर्छ, जसको प्रयोगले कक्षाकोठामा जाँदा विद्यार्थीलाई रमाइलोसँग सिकाउन सकिन्छ । शिक्षकलाई पनि सिकाउन सहज हुन्छ । सार्वजनिक विद्यालयको सुधारको पक्ष भनेको सिकाइ सामग्री निर्माणसँगै शिक्षकका लागि आवश्यक विभिन्न साम्रगी पनि दिनुपर्छ । तलबबाट सामग्री किन्न लगाउन मिल्दैन ।
सहक्रियाकलापमा विद्यार्थीहरूको प्रत्यक्ष सहभागिताले सामाजिक परिवेशका समस्याहरू समाधान गर्न सहयोग गर्छ
सकारात्मक चिन्तन
सार्वजनिक विद्यालयका अभिभावकहरू आफ्नो विद्यालयप्रति सकरात्मक छैनन् । शंका गर्छन् । विद्यालयले पनि आफ्ना सकारात्मक कुराहरूलाई अभिभावक सामु पु¥याएको हुँदैन तसर्थ सबैभन्दा पहिला सार्वजनिक विद्यालयहरूको सबल अभ्यास, सकारात्मक सोच वृद्धि गर्न जरुरी छ । सार्वजनिक गर्न जरुरी छ । हामीले राम्रा अभ्यासहरू साटासाट गर्नुपर्छ । विद्यालयका सकारात्मक अभ्यासहरूलाई मुखपत्रमार्फत जानकारी दिनुपर्छ । सामाजिक परीक्षण बाध्यकारी मात्र नबनाएर अभिभावकहरूको भेला गर्दै विद्यालयप्रति कसरी सकारात्मक चिन्तन वृद्धि गर्न सकिन्छ जस्ता कार्यक्रमहरू ल्याउनुपर्छ । सिकाइ भनेको पाठ्यपुस्तकका पाठहरू पढाउनु मात्र होइन, व्यवहार परिवर्तन गर्नु महत्वपूर्ण कुरा हो । पूर्ण विवरण बाहिर आउन जरुरी छ ।
निष्कर्ष
सबैको रोजाइ सार्वजनिक विद्यालय बनाउने हो भने पक्कै पनि शिक्षामा गुणस्तरीयता ल्याउन सकिन्छ । हामीले विद्यालयमा पढ्ने वातावरण बनाउन जरुरी छ । जब सिकाइ वातावरण हुन्छ, तब विद्यार्र्थीहरू पठाउने अभिभावकहरू आउने चासो बढाउने जस्ता काम गर्न सक्छन् । यसका लागि हामीले विद्यालय भनेको पढाउने ठाउँ मात्र हो भन्ने कुराको चिन्तनलाई परिवर्तन गर्न जरुरी छ । पाठ्यक्रम र पाठ्यपुस्तकबाहेक पनि विद्यार्थीका सिकाइ हुन्छन् भन्ने कुरामा शिक्षक र विद्यालय प्रशासन सचेत हुन जरुरी छ । विभिन्न प्रकारका सहक्रियाकलापहरूको क्रममा आफ्नै समुदायसँग जोड्ने बाटो निर्माण गर्ने हो भने पक्कै पनि सामुदायिक विद्यालयमा विद्यार्थीहरूको चाप बढ्दै जानेछ । तसर्थ, विद्यार्थीका लागि कक्षाकोठाभित्र राखेर पढाउने वातावरण गर्नुभन्दा अगाडि यस्ता माथि उल्लेख गरेका विषयवस्तुलाई साथ दिने हो भने पक्कै पनि सार्वजनिक विद्यालयप्रति समुदायको चासो बन्छ ।
हाम्रो प्रतिस्पर्धा संस्थागत विद्यालयसँग होइन । हामीले संस्थागत विद्यालयलाई गाली गर्ने वा नीतिगत रूपमा च्याप्ने काम गर्नुभन्दा पनि सार्वजनिक विद्यालय आफैंमा बलियो बनाउने हो भने विद्यालयप्रति सबैको आकर्षण बढ्नेछ । सार्वजनिक शिक्षामा दिगो सिकाइ, दिगो विकास र सकारात्मक समालोचनात्मक चिन्तनको विकास हुन अत्यन्तै जरुरी छ । विद्यालयको नेतृत्व प्रतिस्पर्धी हुनुपर्छ । शिक्षा ऐन, नियमावली नयाँ ल्याउन जरुरी छ । सिकाइ अनुसन्धानमा आधारित हुनुपर्छ । सिकाउनुभन्दा पहिले सार्वजनिक विद्यालयले सफ्टवेयर सुधार गर्नुपर्छ ।
(लेखक विद्यालयको शैक्षिक विकासमा आदर्श नेतृत्व विषयमा विधावारिधी गर्दै छन्)