सपना एक सामान्य घटना हो । प्रायः हरेक मानिसले सपना देख्छन् । कहिले सुन्दर, मिठो र आन्नददायक सपना देख्छन् त कहिले अप्रिय र डरलाग्दो सपना देख्छन् । यदि, राति मिठो सपना देखियो भने बिहान आनन्दको अनुभव हुन्छ । मन प्रफुल्ल हुन्छ । दिनभरि नै त्यस सपनाले मनमा उमंग दिन्छ । सपना मानिसका लागि ऊर्जा बन्छ ।
तर, मानिसको समस्या तब सुरु हुन्छ, जब उसले डरलाग्दो, भयानक तथा उल्टोपुल्टो सपना देख्छ । हुन त कहिलेकाहीँ डरलाग्दो सपना देख्नाले मानिसलाई कुनै समस्या पैदा गर्दैन । तर, बारम्बार यस्ता सपना देखियो भने मानिसका लागि सपना कष्टकर बन्नसक्छ ।
प्रायः देखिने डरलाग्दा सपना यस्ता हुन्छन्– अग्लो ठाउँबाट खस्नु । सर्प वा जनावारले लखेट्नु, टोक्नु तथा हान्नु । सुरुङभित्र वा कोठामा फस्नु । डरले भाग्न खोज्नु, तर नसक्नु । भयंकर दुर्घटनामा पर्नु । मानिस मरेको, घर भत्किएको, आगो लागेको, पहिरो गएको, रूख ढलेको तथा बाढीले बगाएको आदि ।
मोन्ट्रियल विश्वविद्यालयका वैज्ञानिकले ११ वर्ष लगाएर गरेको एक अनुसन्धानका अनुसार २० देखि ३० वर्षका मानिसले बढी खराब सपना देख्छन् । पुरुषको तुलनामा महिलाले बढी डरलाग्दो सपना देख्छन् भने पुरुषले बढी सेक्ससँग सम्बन्धित सपना देख्छन् । महिलाले पनि सेक्सको सपना त देख्छन् तर पुरुषले भन्दा कम ।
पुरुषको तुलनामा महिलाले बढी डरलाग्दो सपना देख्छन्
सर्वेक्षणका अनुसार ८५ प्रतिशत पुरुष सेक्ससँग सम्बन्धित सपना देख्छन् भने ७३ प्रतिशत महिलाले यस्ता सपना देख्छन् । अधिकांश महिलाले कसैले पिछा गरेको वा लखटेको सपना देख्छन्, यसको प्रतिशत ८३ छ भने ७८ प्रतिशत पुरुषले यस्तो सपना देख्छन् । महिला पुरुष दुवैले बढी देख्ने तेस्रो सपना हो, माथिबाट खस्नु ।
सपना के हो ?
सपना निद्रा अवस्थाको मानसिक जीवन हो । मानिस निदाएको केही समयपछि नै सपना देखिन थाल्छ । वास्तवमा सपना अवचेतन मनको खेल हो । मानिस निदाएसँगै चेतन मन निष्क्रिय हुन्छ, तर अवचेतन मन जागृत नै हुन्छ । जागृत अवस्थामा अवचेतन मन चेतन मनको नियन्त्रणमा हुन्छ । तर, निद्रा अवस्थामा जसैजसै चेतन मन शिथिल हुनथाल्छ अनि अवचेतन मन हावी हुन्छ र सपना निर्माण हुन्छ ।
मानिसको मन पूर्णवादी हुन्छ । उसले हरेक चाहना पूरा गर्न चाहन्छ । तर, दैनिक जीवनमा मानिसका हरेक चाहना पूरा हुनसक्दैनन् । परिणामस्वरूप पूरा हुन नसकेका चाहनाहरू अवचेतन मनमा सञ्चित हुन्छन् । जब राति निदाएका बेलामा चेतन मन निष्क्रिय हुन्छ, तब अवचेतन मन सपना भएर प्रकट हुन्छ । वास्तवमा सपना मानिसको अवचेतन मनमा सञ्चित भएको अपूर्ण इच्छा हो, जुन चेतन मन निष्क्रिय भएका बेलामा सपनाका रूपमा प्रकट हुनेगर्छ ।
तर, मानिसले रातभरि देखेका अधिकांश सपना भुल्छन् । बिहान उठेपछि सपनाका सानातिना घटनाहरू मात्र याद रहन्छन् ।
डरलाग्दा सपनाका कारण
सपना मानिसको मनोदशाको ऐना हो । दिनभरि तथा सुत्नेबेलामा मानिसको मनोदशा (मुड) जस्तो हुन्छ, सपना पनि त्यस्तै देखिन्छ । तनावमा तथा कुनै पिरलोमा बल्लबल्ल निदाएको व्यक्तिले सुन्दर सपना देख्ने सम्भावना निकै कम हुन्छ भने आनन्दपूर्वक मस्त निदाएको व्यक्तिले कि त सपना नै देख्दैन, सपना देखे पनि सुन्दर सपना देख्छ ।
मानिसले प्रायः डरलाग्दो सपनाहरू देख्छ र, यस्ता डरलाग्दा सपनाबाट ऊ ज्यादै पीडित छ भने यसका निम्नलिखित कारणहरू हुन सक्छन्– डरलाग्दो दुर्घटनापछि पैदा भएको मानसिक समस्या, चिन्ता रोग तथा पिरलो, डिप्रेसन, नाइट मेयर, नाइट टैरर, फोयिबा, मानसिक तनाव वा द्वन्द, अनिद्रा रोग, मद्यपान तथा लागूऔषधको सेवन ।
भयंकर डरलाग्दा दुर्घटनाहरू जस्तै– विनाशकारी भूकम्प, बीभत्स सडक दुर्घटना, हत्या, आतंकित गतिविधि, सैनिक हमला, बलात्कार, शारीरिक तथा मानसिक शोषण तथा अन्य कुनै डरलाग्दा अपराधहरूको सामना गरेका कतिपय व्यक्तिले आफ्नो मानसिक सन्तुलन हराउँछन् र पिटिएसडी (पोस्ट ट्रामैटिक स्ट्रेस डिसअर्डर) नामक मानसिक रोगको सिकार बन्न पुग्छन् । यस रोगबाट पीडित व्यक्तिले बारम्बार यस्ता डरलाग्दा दुर्घटनासँग सम्बन्धित सपनाहरू देख्ने गर्छन् ।
चिन्ता रोगले ग्रस्त व्यक्तिले चिन्ताजनक सपनाहरू देख्ने गर्छन् भने नाइट मेयर डिसअर्डरबाट पीडित व्यक्ति राति २, ३ बजेतिर डरलाग्दो सपनाले आत्तिएर उठ्ने गर्छन् । त्यसो त कतिपय औषधिले पनि नाइटमेयर पैदा गर्छन् ।
डरलाग्दो सपना देख्ने मानसिक तनाव हटाउन रिलेक्सेसन टेक्निक आफैं सिकेर प्रयोग गर्न सकिन्छ
नाइट टैरर नामक मानसिक रोगले पीडित व्यक्ति निद्राको पहिलो अवस्थामा नै डरलाग्दो सपनाले आत्तिएर चिच्याउँदै उठ्छ र भम्रितजस्तो देखिन्छ । यो समस्या नाइट मेयरभन्दा अलग हुन्छ । त्यो ’cause नाइट टैररमा व्यक्तिले निकै कोसिस गरे तापनि सपना सम्झन सक्दैन तर नाइट मेयरमा व्यक्तिले सपना राम्रोसँग सम्झनसक्छ ।
यसका साथै पक्षघात तथा क्यान्सरजस्ता भयानक रोगहरूले थलिएका व्यक्ति तथा कुनै रोगका लागि औषधि सेवन गरिरहेका व्यक्तिले पनि डरलाग्दो सपना देख्ने गर्छन् ।
समाधान
कहिलेकाहीँ आकलझुकल डरलाग्दो सपना देख्नु समान्य कुरा हो । तर, यस्ता डरलाग्दा सपनाहरू बारम्बार आउँछन् र दैनिक जीवनलाई नै प्रभावित पार्छन् भने यसको समाधान खोज्नुपर्छ । डरलाग्दो सपनाको कारण पत्ता लगाई सो मानसिक रोगको उपचार गर्ने हो भने यस्ता डरलाग्दा सपना आउन बन्द हुन्छन् ।
मनोवैज्ञानिक विधिहरू जस्तै– ड्रिम रिहर्सल, ल्युसिडिटी ड्रिम तथा इमेजरी टेक्निक आदि पनि डरलाग्दो सपनाको उपचारमा लाभदायक सिद्ध भएका छन् । तर, यस्ता विधि सिक्न खास विशेषज्ञहरूको आवश्यकता पर्छ । यस्ता विशेषज्ञहरू नेपालमा छैनन् । तर, मानसिक तनाव हटाउन सहयोग गर्ने विधि रिलेक्सेसन टेक्निक भने सिकेर आफैं प्रयोग गर्न सकिन्छ ।
रिलेक्सेसन विधिको विशेषता यो हो कि यसले शारीरिक तथा मानसिक थकान तथा टेन्सन हटाउँछ । मन, मस्तिष्क तथा शरीरलाई शान्त बनाउँछ । जसले गर्दा गाढा निद्रा लाग्छ । आनन्दपूर्वक गहिरो निद्रामा परेको मानिसले डरलाग्दो सपना देख्दैन ।