अहिले राजनीतिक दलहरूमा नेतृत्वको खडेरी परिरहेको छ । नेता छन् तर नेतृत्व छैन । दल छ तर जनादेश छैन । कार्यकर्ता छन् तर जनताका माझमा रिझेका र भिजेका छैनन् । दलको मिटिङ बसिरहन्छ तर देश र जनता’bout कुनै पनि निर्णय हुँदैन । दलको नीति तथा कार्यक्रम बनाइन्छ, नितान्त आत्मरति लिने खालको मात्र । कुनै पनि दलका नीति तथा कार्यक्रमले जनताको मन छुन सकेको छैन । जनताले राजनीतिक दलको विकल्प खोजेका छन्, राजनीतिक व्यवस्थाको होइन । तर, नेता आफ्नो असफलता र भिजनविहीनताको ढाकछोप गर्न व्यवस्थाकै विकल्पको कुरा गरेर जनतामा डर र त्रासको मनोविज्ञान सिर्जना गर्न खोज्छन् । राज डर र त्रासले चल्दैन । जनप्रियता र स्वच्छताले चल्छ । विश्वास र सहकार्यले अड्छ । भिजन र भोजनले अघि बढ्छ । यो नेतालाई थाहा नभएको होइन तर उनीहरूमा यी सारा कुराको सर्वथा अभाव छ । त्यसैले हरेक पार्टीमा कुशल नेतृत्वको अभाव रहँदै आएको छ ।
सत्ताधारी पार्टीहरूमा बेलाबेलामा नेतृत्वको प्रश्न निकै उठ्दै आएका छन् । अहिले प्रतिपक्षी पार्टी नेकपा (एमाले)मा नेतृत्व परिवर्तनका कुरा मात्र होइन, लबिङसमेत चलिरहेको छ, नेतृत्व परिवर्तनका लागि । नेतृत्व आफंैमा क्षमता, आवश्यकता र संयोगको प्रतिफल हो । आवश्यकता व्यवहारमा अनुभूत हुन्छ । क्षमता नेतृत्वको कार्यकुशलतामा अभिव्यक्त हुन्छ । संयोग तात्कालीन विशिष्ट परिवेशले निर्माण गर्छ । त्यसैले जनचाहना, कार्यकुशलता र परिवेशले नेतृत्वको खोजी र पहिचान गर्न मद्दत पु¥याउँछन् । यसमा नेता तथा कार्यकर्ताको क्रियाशील भूमिकाले धाइको काम गर्छ । नेकपा एमालेमा अहिले समय सापेक्ष नेतृत्वको खोजीमा पार्टी नेता तथा कार्यकर्ता लागिपरेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रमा पनि नेतृत्वको खोजी भइरहेको छ । तर, नेतृत्व खोजीको विषय विचार र भिजनसँग जोडिएन भने यस्ता प्रयास फगत गुट निर्माण र आन्तरिक कलहका लागि मात्र बन्न पुग्छन् । नेतृत्वको पहिचान सुस्पष्ट विचारका आधारमा गरिनुपर्छ । राजनीतिक दल गुटले होइन, विचारले चल्नु र चलाइनुपर्छ । बहुदलीय राजनीतिक व्यवस्था र राजनीतिक पार्टीको अर्थ पनि यसैमा निहित छ ।
देश क्रमशः सामन्ती व्यवस्था, मूल्य, मान्यता र सामाजिक संरचनाबाट तोड्दै र भत्काउँदै कछुवा गतिमा अघि बढिरहेको छ । समाजमा सामन्ती आचार र व्यवहार प्रबल छन् । चुनिएका भनिएका शीर्ष नेता र निर्वाचित भएका जनप्रतिनिधि आफूलाई प्रजातान्त्रिक ढर्रातिर डो¥याउनुभन्दा पनि ‘राजाभन्दा फरक’ रहेको देखाउन तल्लीन छन् । जब जनताद्वारा निर्वाचितको तुलना राजामहाराजासँग हुन थाल्छ, यिनले स्वभाविक रूपमा राजामहाराजाका विशेषता अंगाल्न थालि हाल्छन् । परिपाटी पनि त्यसैअनुरूप बन्दै र बस्दै जान थाल्छ । यो नेपाल र नेपालीका लागि राजनीतिक विडम्बनाको कुरा हो । हाम्रा राजनीतिक दल र यसका शीर्ष नेताको कहिल्यै पनि प्रजातान्त्रिक नेता र नेतृत्वसँग तुलना भएन । तुलना भयो र हुँदै छ केवल राजा र महाराजा तथा उनीहरूको शासन व्यवस्थासँग मात्र ! अनि राजनीतिक पार्टी र राजनीतिक व्यवस्था तथा यसको नेतृृत्व गर्ने नेता कति अग्रगामी र प्रगतिशील होलान् ? जबकि, तुलना नै पश्चगामी शासक र व्यवस्थासँग गरेर यिनले आत्मरति लिइरहेका छन् । यसको परिणाम अहिले राजनीतिक पार्टीमा नेतृत्व खडेरीका रूपमा देखापरिरहेको छ । सिंगो देशमा पनि यही समस्या देखापरिरहेको छ । त्यसैले विचार, भिजन र मिसन देऊ, नेतृत्वको खडेरीको अन्त्य गर !