विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को परीक्षाफल प्रकाशित भइसकेको अवस्था छ । सामान्यतया कक्षा १२ को पढाइ सकिसकेपछि उच्च शिक्षाका लागि विद्यार्थी विश्वविद्यालय वा सम्बद्ध शैक्षिक संस्थामा जान हतार गर्नुपर्ने हो तर अहिले अवस्था फेरिएको देखिन्छ । विद्यार्थीलाई स्वदेशी विश्वविद्यालय जाने मार्गभन्दा विदेश जाने मार्ग पछ्याइरहेको देखिन्छ । धेरै विद्यार्थी उच्च शिक्षा पढ्न कलेज खोज्नुको सट्टा अन्तर्राष्ट्रिय विमानस्थल पुग्न सहयोगी हुने कन्सल्टेन्सी खोजिरहेका देखिन्छन् । कन्सल्टेन्सी जानेमध्ये कति विदेशी विश्वविद्यालय जाने तयारीमा देखिन्छन् भने अन्य विभिन्न बाहानामा देश छोड्न हतारमा छन् । देशका युवाको भीड मुलुकभित्रकै विश्वविद्यालयमा हुनुपर्नेमा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन थालेको छ । यसले वर्तमान समयमा देशका युवावर्गमा विश्वविद्यालयभन्दा विमानस्थल मोह बढी रहेको पुष्टि गर्छ ।
केही समय अघिसम्म नेपालका विश्वविद्यालयमा पढ्नु भनेको गर्वको कुरा हुन्थ्यो । त्यहाँ पढेपछि भविष्य सुनिश्चित भएको महसुस गर्ने गरिन्थ्यो । छोराछोरीले विश्वविद्यालयमा अध्ययन गरेको विषयलाई बाबुआमाले आफ्नो इज्जतसँग दाँज्ने गर्थे । त्यसमाथि सबैभन्दा पुरानो र मुलुककै ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको विद्यार्थी हुनुमा आपूmलाई भाग्यमानी सम्झिने व्यक्ति पनि प्रशस्तै थिए । तर, अहिले त्यस्तो अवस्था छैन । मुलुकभित्रकै विश्वविद्यालयमा आफ्ना सन्तान पढाउन अभिभावकसमेत तयार देखिँदैनन् । यसको मुख्य कारण मुलुकभित्रका विश्वविद्यालयमा रहेको बेथिति पनि एक हो । अधिकांश विश्वविद्यालय बन्द, हड्ताल, तालाबन्दी र राजनीतिक हस्तक्षेपले शैक्षिक क्यालेन्डर चुस्तदुरुस्त रूपमा अगाडि बढाउन सकेका छैनन् । यसले गर्दा नियमित पठनपाठन, वार्षिक परीक्षा, परीक्षाफल प्रकाशनजस्ता शैक्षिक क्रियाकलाप अनियमित हुन पुगेका छन् । चार वर्षे स्नातक तह पूरा गर्न करिब सात वर्ष लाग्ने, परीक्षाफल, प्रश्नपत्र आदिमा समेत त्रुटिरहित हुन नसक्दा यसप्रतिको विश्वास क्रमश घट्दै गएको देखिन्छ । शिक्षालाई मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक पूर्वाधारको पनि पूर्वाधार मान्ने गरिन्छ । तर, अहिलेसम्म पनि मुलुकको शिक्षा प्रणालीले लय समात्न सकेको छैन । सरकारको अदूरदर्शी योजना र शैक्षिक प्रतिष्ठानमा देखिएको बेथितिले विद्यार्थी यहाँको शिक्षा प्रणालीप्रति विश्वस्थ हुन नसकेको अवस्था छ । यसको विकल्पका रूपमा उनीहरू अन्तराष्ट्रिय विमानस्थलतिर आकर्षित भएका छन् ।
युवाहरूको भीड विश्वविद्यालयमा हुनुपर्नेमा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन थालेको छ
अहिले मुलुकभरका विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजमा विद्यार्थीको खडेरी पर्न थालेको छ । कतिपय शैक्षिक संस्था बन्द भइसकेका छन् भने कति एक आपसमा गाभिन थालेका छन् । विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि बिदेसिने लर्को लागेपछि यो अवस्थाको सिर्जना भएको छ । आर्थिक वर्ष २०६८÷६९ मा जम्मा ११ हजार ९ सय १२ विद्यार्थीले विदेशमा अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिएकोमा आर्थिक वर्ष २०७८÷७९ मा १ लाख १४ हजार ४ सय २९ जनाले यस्तो लेटर लिएका छन् । पछिल्लो १० वर्षमा विदेशमा अध्ययनका लागि एनओसी लिने विद्यार्थीको संख्या झन्डै १० गुणाले बढेको छ । १० वर्षको अवधिमा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या औसतमा ४३ दशमलव ९ प्रतिशतले बढेको देखिन्छ । गत आर्थिक वर्षमा मात्र १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले एनओसी लिएको शिक्षा मन्त्रालयले जनाएको छ । यसबाट समेत के पुष्टि हुन्छ भने विद्यार्थीहरूलाई स्वदेशी विश्वविद्यालयले भन्दा बिदेसिने विमानस्थलले बढी आकर्षित गरेको छ ।
देशका कर्णधारका रूपमा परिचित युवा दिनप्रतिदिन बिदेसिने क्रम बढ्नुमा सबैभन्दा बढी जिम्मेवार मुलुकको राजनीतिक नेतृत्वले लिनुपर्ने देखिन्छ । कुनै पनि मुलुकको भविष्य त्यस देशका राजनीतिक नेतृत्वमा निर्भर हुने गर्छ । राजनीतिक नेतृत्वले नै मुलुकको बागडोर सम्हाल्ने भएकाले उनीहरूमा रहेको दूरदर्शिता, क्षमता, लक्ष्य तथा उद्देश्यले मुलुक कुन दिशातर्फ लाग्दै छ भन्ने अनुमान लगाउन सकिन्छ । नेपालको विगत तीन दशक बढी समयदेखिको इतिहास हेर्ने हो भने अहिलेसम्म आशालाग्दो राजनीतिक नेतृत्व नदेखिएको भान भएको छ । राजनीतिक अस्थिरता, भ्रष्ट शासक, बारम्बार सरकार परिवर्तन भइरहनु, सत्ताको लुछाचुँडी देखेर वर्तमानका युवाले स्वदेशमा आफ्नो भविष्य सुरक्षित नहुने आंकलन गरेका देखिन्छन् । यसैकारण उनीहरू देश छोड्न हतार गरेका छन् ।
युवाहरू बिदेसिने अर्को प्रमुख कारक तत्वका रूपमा परिवर्तित सामाजिक संरचनालाई पनि लिन सकिन्छ । अहिले मुलुकको सामाजिक एवं पारिवारिक संरचनामा आएको परिवर्तनले एउटा निश्चित उमेरपछि व्यक्तिमा आत्मनिर्भर बन्नुपर्ने बाध्यता हुँदै गएको छ । जनसंख्याको ठुलो हिस्सा ग्रामीण क्षेत्रबाट सहरतिर बसाइसराइँ हुनु, संयुक्त परिवारबाट एकल परिवारमा परिणत हुनु, बढ्दो मुद्रास्फीति, सूचना प्रविधिको विकास आदिले व्यक्तिका इच्छा, आकांक्षा र आवश्यकतामा पनि वृद्धि हुँदै गएको छ । यी आवश्यकताको परिपूर्तिका लागि परिवारभित्रका आयआर्जन गर्न सक्ने हरेक सदस्य जिम्मेवार हुनुपर्ने जरुरी हँुदै गएको छ । यसका लागि स्वदेशमा रोजगारीका अवसर प्राप्त गर्न नसक्दा अधिकांश युवा देश छाड्न हतार देखिन्छन् । अर्कोतर्फ, सामाजिक परिवेश कस्तो बनेको छ भने कुनै परिवारको सदस्यले देश छाड्ने विषय आफ्नो प्रतिष्ठासँग जोड्न थालिएको छ । जुन परिवारका धेरै सदस्य बिदेसिएका छन् त्यो परिवार सफल परिवारका रूपमा चित्रण हुन थालिएको छ । यसले गर्दा पनि अन्य परिवारलाई आफ्ना सदस्य विदेश पठाउन उत्प्रेरित गरिरहेको देखिन्छ ।
विश्वका अधिकांश विकसित मुलुकमा विद्यार्थी विशेषगरी माध्यमिक शिक्षाको अध्ययनपछि आत्मनिर्भरको बाटो आपनाउँदै आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाएको पाइन्छ । त्यहाँ विद्यार्थीहरू अध्ययनसँगसँगै आयआर्जनका क्रियाकलापमा समेत संलग्न भएका हुन्छन् । बिदेसिएका नेपाली विद्यार्थीले समेत यही बाटो समाएर हिँडेका छन् । नेपालबाट वैदेशिक अध्ययनका जाने केही विद्यार्थीबाहेक अधिकांश जानुको मुख्य कारण यही नै हो । यहाँका विद्यार्थीहरूको मुख्य गन्तव्य बनेका अस्ट्रेलिया, क्यानडा, जापान, जर्मनी, अमेरिकाजस्ता मुलुकमा अध्ययनसँगसँगै आयआर्जनको अवसर प्राप्त हुने आसमा उनीहरू त्यहाँ जाने गरेका छन् ।
नेपालभित्रै उच्च शिक्षा हासिल गरिसकेपछि पनि रोजगारीको सुनिश्चितता नभएको अवस्थामा उनीहरूका लागि यो अवसर मात्र नभई बाध्यतासमेत बनेको छ । यो गति रोक्न स्वदेशमै रोजगारीका अवसरको सिर्जना गर्नुपर्ने देखिन्छ । विशेषतः अध्ययनसँगसँगै गर्न सकिने तथा आंशिक घण्टामा समेत गर्न सकिने कामका अवसरको विकास गर्नुपर्ने देखिन्छ । अहिलेको समयमा आर्थिको पार्जनका काममा संलग्न रहेर परिवारको आवश्यकता परिपूर्तिमा हातोमालो गर्नुपर्ने बाध्यता विद्यार्थीमा समेत छ । तसर्थ, यसका लागि सहज र सरल वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो ।
देशका कर्णधार युवा दिनप्रतिदिन बिदेसिने क्रम बढ्नुमा सबैभन्दा बढी जिम्मेवार राजनीतिक नेतृत्व नै रहेको छ
देश विकासका लागि आवश्यक मानवीय स्रोतको निर्माणमा विश्वविद्यालयको प्रमुख भूमिका हुने गर्छ । विश्वविद्यालयले मुलुकको समग्र विकासका लागि दक्ष जनशक्तिको उत्पादन गर्न सक्नुपर्छ । जसले कुनै समस्याको विश्लेषण गर्ने, तर्क गर्ने, प्रस्तुत गर्ने र समाधान खोज्ने सामथ्र्य राखेको हुन्छ । तर, यदि उद्गमस्थल नै कमजोर भयो भने यसबाट हुने विकास पनि दिगो हुन सक्दैन । नेपालमा अहिले विश्वविद्यालयबाट दीक्षित विद्यार्थीसमेत दक्ष जनशक्ति हुन सकेका देखिँदैनन् । आफ्नो विषयवस्तुसँग सम्बन्धित विज्ञताको अभावले अध्ययनपश्चात् रोजगारीका अवसर प्राप्त गर्न सकेका छैनन् । यसैकारण स्वदेशी विश्वविद्यालयले विद्यार्थी आकर्षित गर्न सकिरहेका छैनन् । यो समस्या समाधानका लागि शैक्षिक संस्थामा समय सुहाउँदो विषयवस्तु र सिकाइको सुरुवात गर्नुपर्ने आवश्यकता देखिन्छ । शैक्षिक संस्थाको पूर्वाधार, प्रविधि र शिक्षण सिकाइमा सुधार ल्याउन शिक्षामा थप लगानी बढाउन खाँचो देखिएको छ । शैक्षिक संस्थालाई राजनीतीकरणको चंगुलबाट निकालेर अनुसन्धान, सिर्जनशीलता, जीवनोपयोगी शिक्षासँग सम्बन्धित पक्षमा ध्यान दिन आवश्यक छ ।
जबसम्म मुलुकको राजनीतिक नेतृत्वले युवाको भविष्य स्वदेशमै सुरक्षित र सुनौलो हुनेछ भन्ने विश्वास दिलाउन सक्दैनन् । मुलुकका विश्वविद्यालयमा विथितिको अन्त्य हुँदैन । तबसम्म युवालाई विमानस्थल जानबाट रोक्न सक्ने अवस्था देखिँदैन । मुलुकभित्रबाट शारीरिक एवं मानसिक रूपमा अब्बल जनशक्ति दिनप्रतिदिन बिदेसिने क्रम बढ्दै जाँदा यसले राज्यको आर्थिक, सामाजिक एवं राजनीतिक क्षेत्रमा प्रतिकूल प्रभाव पर्ने आंकलन गरिएको छ ।
मुलुकमा भित्रिने रेमिट्यान्सले मात्र देशको आर्थिक अवस्थालाई सधंैभरि थेग्ने अवस्था रहँदैन । आन्तरिक उत्पादन र उत्पादकत्वमा वृद्धि नभई देशमा आर्थिक समृद्धि हुन सक्दैन । उत्पादन र उत्पादकत्व वृद्धिका लागि सबैभन्दा महत्वपूर्ण साधन मानव संसाधन हो । यदि हामी दिनप्रतिदिन मानव संसाधन गुमाउँदै गयौं भने राज्यले निर्माण गर्ने जस्तोसुकै राम्रा नीति तथा योजनाको कुनै अर्थ रहँदैन । मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक विकास र विस्तारका लागि अहिले बढ्दै गएको बिदेसिने प्रवृत्तिलाई रोक्न सक्नुपर्ने देखिन्छ । यसका लागि मुलुकभित्रै रोजगारीका अवसर, सीपमूलक शिक्षा, स्थिर राजनीतिक वातावरण, असल नेतृत्व र सुशासनको आवश्यकता देखिन्छ ।