धनगढी । कैलालीमा विद्युतीय धरापमा परेर एक महिलाको मृत्युु भएको छ । सोमबार राती जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ३ की ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका ३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए । उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरेको छ । चौधरीले जंगली जनावरबाट धानबाली जोगाउन करेन्ट छाडेको बयान दिएको प्रहरीले जनाएको छ ।