नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक हमला भएपछि अब मुलुकको राजनीति प्रतिशोधतर्फ उन्मुख हुनथालेको हो कि भन्ने आशंकालाई बल पु¥याएको छ । नेपाली राजनीति आफैंमा हिंसा र अहिंसाको दोबाटोबाट अघि बढ्दै आएको छ । अहिले सत्ता र प्रतिपक्ष सबैतिर रहेका सबै राजनीतिक पार्र्टीको पृष्ठभूमि हिंसा र अहिंसाको दोबाटो अख्तियार गर्दै आएको आफंैमा स्पष्ट छ । आजको अवस्थामा मुलुक कताकता नजानिँदो द्वन्द्वतिर धकेलिँदै गइरहेको त छैन भन्ने आभाष सामान्य नागरिकलाई पनि हुन थालिसकेको छ । बेलाबेलामा धार्मिक वाद प्रतिवाद, क्षेत्रीय आक्रोश, पार्टीगत वैमनश्यता तथा जातीय रस्साकस्सी पनि देखिँदै आएको छ । यसैबेलामा काँग्रेसी सहमहामन्त्री यादव राप्रपाका कार्यकर्ताको खुकुरी प्रहारबाट घाइते हुनपुगेका छन् । घटनाको पृष्ठभूमि खासै उत्तेजक र प्रतिशोध साँध्ने प्रकृतिको पनि देखिँदैन । खुकुरी प्रहारमा कार्यकर्ता सापकोटाले प्रहारको विशिष्ट कारण केही पनि दिनसकेका छैनन् । उनले योजनाबद्ध रूपमा खुकुरी बोकेर आएको भने अनुसन्धानबाट खुलेको छ । प्रहरीसँगको बयानमा उनले संसदबाट एमसिसी पारित हुनु र ललिता निवास जग्गा प्रकरणमा शीर्ष नेतालाई उन्मुक्ति दिनुजस्ता कुरा एक राष्ट्रवादीका लागि अस्वीकार्य भएकाले आवेगमा आएको भने पनि यसले अशुभ संकेत भने गरेको छ ।
यतिबेला पार्टी तथा शीर्ष नेताहरू यस विषयमा गम्भीर हुनैपर्छ । राजनीतिक प्लेटफर्म तयार पार्ने नाममा फरक मत राख्नेहरूलाई तथानाम बदनाम गर्ने गाली संस्कृतिले पनि यस्ता कार्य गर्न गराउन परिवेश तयार पारिरहेको छ । तर, शीर्ष नेताहरूले यस संवेदनशीलतालाई ख्याल गरिरहेका छैनन् । कार्यकर्ता र जनता भिडाएर सत्तास्वार्थमा लागिरहेका नेताहरूका लागि यस्ता घटनाले तत्काल गम्भीर महत्व राखेको जस्तो नदेखिए पनि दीर्घकालीन रूपमा भने ठुलो आघात पु¥याउने देखिन्छ । वर्तमान दलीय व्यवस्थामा आआफ्ना विचार अभिव्यक्त गर्न पाउने अधिकार जो कोहीलाई पनि छ । कमजोरी गरेकालाई दण्ड गर्नसक्ने व्यवस्था संविधानतः व्यवस्था गरिएको छ । यो दण्ड कानुनी रूपमा विभिन्न कानुनी संहिता र ऐन नियमअन्तर्गत कार्यान्वयनमा आइरहेको छ भने जनताको मताधिकारद्वारा मुलुक र जनताको अहित गर्नेलाई जनादेशमार्फत् स्वीकार र परित्याग गर्ने व्यवस्था पनि साथैमा व्यवस्था गरिएको छ ।
अहिलेको खुला परिवेशमा कानुन र जनादेश नै दण्ड गर्न सकिने प्रमुख दुई आधारहरू हुन् । कानुन हातमा लिएर भौतिक हमला गर्न भने कसैलाई पनि छुट छैन । नेपाल आफैंमा विविध विचार, आदर्श र सभ्यता मिलेर बनेको मुलुक हो । यहाँ विविधतामा एकता छ । यसलाई हामीले स्वीकार गर्न सक्नैपर्छ । जहाँसम्म देशघात र जनघातको कुरा छ, यो बढी राजनीतिक कुरा हो । यसको चासो र चिन्ता जनस्तरमा हुन्छ र छ पनि । तर, यसका लागि समाधानका उपाय एक मात्र भौतिक आक्रमण हुन भने कदापि सक्दैन । आवेगले विवेकको हैसियत कायम गर्न सक्दैन । यसले रिस वा बदलाभाव त देखाउन सक्ला तर सामाजिक तथा राजनीतिक समस्याको समाधान दिन भने सक्दैन । त्यसैले, विवेक र विचारको राजनीति गर । नेताहरू पनि परिपक्व राजनीतिक परिवेश निर्माण गर्न लाग । प्रतिशोधको राजनीतिक यात्रा अन्त्य गर !