मराकेस । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म २ हजारभन्दा बढीको मृत्यु भएको छ भने ७ सय बढी घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय बढीको अवस्था गम्भीर छ ।
भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका छन् । गृह मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।
शुक्रबार राति ११ः११ बजे भएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पबाट भयभित मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।
शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का शनिबार पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले जनाएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् ।
भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चा रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविमूढ अभिभावकलाई देखेको बताएका छन् । १० मिनेटसम्म बिजुली टेलिफोन सेवा बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए ।
सरकारी अधिकारीका अनुसार देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ता पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लांकालगायत सहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन ।
यसैबिच, विश्वका विभिन्न मुलुकका नेताले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जी–२० शिखर सम्मेलनमा भाग लिने सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसम्भव सहयोग गर्ने बताएका छन् ।