बर्दिया । शुक्रबार राति पूर्व–पश्चिम राजमार्गअन्र्तगत बाँकेको राप्तीसोनारी गाउँपालिकाको समशेरगन्ज नजिकै भएको बस दुर्घटनामा परी बर्दिया ठाकुरबाबा नगरपालिकाका ६ जना र बारबर्दिया नगरपालिकाका १ गरी ७ जनाको घटनास्थलमै ज्यान गएको छ । २९ जना घाइते भएका छन् । घटनासँगै यतिखेर सिंगो ठाकुरबाबा नगरपालिका शोकमा डुबेको छ । दुर्घटनामा ठुलो मानवीय क्षति भएको भन्दै नगरबासी शोकमा छन् । सबैभन्दा बढी वडा–९ मा मानवीय क्षति भएकाले यहाँका वडाबासी स्तब्ध छन् । घरघरमा रुवाबासी मात्र चलेको छ । गाउँ सुनसान छ ।
शोकको घडीमा विभिन्न संघसंस्थाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्सालले शनिबार शोक विज्ञप्ति जारी गरी दुःखद घटनाप्रति शोक प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसैगरी प्रदेश सांसद जन्मजय तिमिल्सेनाले पनि विज्ञप्तिमार्फत गहिरो शोक प्रकट गर्दै लुम्बिनी प्रदेश सरकारसँग मृत्यु भएकाको परिवारजनलाई उचित राहत र घाइतेको सम्पूर्ण खर्च बेहोनुपर्र्ने माग गरेका छन् । विभिन्न राजनीतिक दलले पनि घटनाप्रति दुःख प्रकट गर्दै विज्ञप्ति निकालेका छन् ।
पश्चिम राजमार्गमा पर्ने बाँकेको समशेरगन्जनजिक शुक्रबार राति करिब ९ बजेतिर राजमार्गमा बिग्रेर रोकिरहेको ट्रकमा ग७ख २३२१ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ठाकुरबाबा नगरपालिका–९ का ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । बेतहनी सामुदायिक वनका पदाधिकारीलगायत उपभोक्ता सदस्य गरी ३९ जना अवलोकन भ्रमणका लागि दाङ गएका थिए । स्थानीयका अनुसार वन समितिका पूर्वपदाधिकारी र वर्तमान अध्यक्षसमेत दुर्घटनामा परेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारू, ७० वर्षीय चानुराम थारू रहेका छन् । यसैगरी, ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जोगबहादुर चन्द र सहचालक बारबर्दिया नगरपालिका–७ रम्मापुरका ३४ वर्षीय वसन्त कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये केहीको कोहलपुर मेडिकल कलेजमा र केहीको नर्सिङ होम नेपालगन्जमा उपचार भइरहेको बताइएको छ । सामान्य चोट लागेकाहरू उपचारपश्चात् घर फर्किसकेका छन् । नेपालगन्जमा मृतकको पोस्टमार्टमको कार्य भइरहेको र शनिबार साँझ अबेरसम्म मृतकको शव घर ल्याइने तयारी भइरहेको ठाकुरबाबा नगरपालिका उपप्रमुख विनाकुमारी भट्टराईले जानकारी दिइन् ।