वीरगन्ज । आर्थिक नगरी पर्साको वीरगन्जमा अवस्थित आन्तरिक राजस्व कार्यालयमा नयाँ फर्म दर्ता हुने क्रम गत वर्र्ष १६ हजार ६ सय ९४ ले थपिएको छ । तर, राजस्व संकलनतर्फ भने यो फर्म थपिनुले खासै लक्ष्य भेटेको देखिएको छैन । विभिन्न फर्म संख्या थपिए पनि राजस्व नबढ्नुमा सेवाग्राही र कर्मचारी दुवैको इमानदारितामा प्रश्न चिह्न खडा भएको छ ।
सेवाग्राही र कर्मचारीको इमानदारितामा प्रश्न
राज्यको नीति कार्यान्वयन पक्षमा फितलो र करको दर थप्ने अनि दायरा बढाउन उति ध्यान नदिने पाइएको छ । राजस्वका केही जिम्मेवार कर्मचारी यसै नीतिमा आफ्नो निजी कर मनग्गे असुल्ने अनि राज्यको करमा थोरै नरम नीति अपनाइदिने भेटिएका छन् । सेवाग्राही पनि लम्बेतान करको बोझभन्दा केही कर्मचारीको निजी करमा टेवा पु-याइ समग्र भार घटाउन आकर्षित देखिएका छन् । त्यसैको उदाहरण हो, दर्जनौं करदातालाई फछ्र्यौटबिना पनि कर चुक्ताको निशा उपलब्ध गराउनु । यस्ता विषय राजस्व विभाग र अर्थ मन्त्रालयको जानकारी बाहिर भने खासै छैन । तथापि, कार्य सम्पादनमा छिद्र प्रशस्त रहेको आर्थिक क्षेत्रका विज्ञको टिप्पणी छ ।
एकै वर्ष साढे १६ हजार बढी नयाँ संस्था थपिए
आन्तरिक राजस्व कार्यालय वीरगन्जमा फर्म दर्ताको संख्यामा गत वर्ष १६ हजार ६ सय ९४ नयाँ फर्म दर्ता संख्या थपिएको छ । त्यसमा सक्रिय फर्म संख्या पनि १६ हजार ६ सय ३० रहेको आन्तरिक राजस्व कार्यालय वीरगन्जका सूचना अधिकृत सञ्जय क्षेत्रीले बताए । यो भनेको बन्द नभएका र सञ्चालनमा रहेका भन्ने हो । यो संंख्यासहित पर्सामा अहिलेसम्म फर्म दर्तातर्फ कुल संख्या १ लाख ४० हजार ३६ पुगेको छ । यसमा सक्रिय संस्था पनि १ लाख ३२ हजार ५७ रहेको तथ्यांकले देखाएको छ । यी फर्म सञ्चालन हुँदा राजस्व कार्यालय पर्सामा गएको आर्थिक वर्ष ७ अर्ब १३ करोड ९७ लाख ८५ हजार राजस्व संकलन भएको भेटिएको छ । यो भनेको लक्ष्यको तुलनामा ३२ दशमलव ८० प्रतिशत उपलब्धि हो । अर्थात् लक्ष्यको तुलनामा ३ अर्ब ४८ करोड ५३ लाख २९ हजारले कमी हो ।
राजस्व विभागले यो कार्यालयलाई आर्थिक वर्ष २०७९-८० का लागि कुल १० अर्व ६२ करोड ५१ लाख १४ हजार रुपैयाँको लक्ष्य दिएको थियो । मुलुकभरकै राजस्व संकलक कार्यालय जस्तै यो कार्यालय पनि विविध कारणले लक्ष्य भेट्न अलि नसकेको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख ढाकाराम तिवारीले बताए । राजस्व बढी तिर्ने खालका करदाता केही कम हुँदा पनि लक्ष्य अलि नभेटिएको उनको तर्क छ । फर्म तथा उद्योगको संख्या पर्याप्त भए पनि पछिल्लो समय करदाता सहजतवरले राजस्व तिर्न आनाकानी गर्छन् । केही कडाइ र नरम दुवै शैली अपनाएर राजस्व संकलन गर्न परेको त्यहाँका कर्मचारीको तर्क छ ।
विविध शीर्षकमध्ये अन्तशुल्कको योगदान बढी
राजस्व संकलनतर्फ सबैभन्दा बढी योगदान अन्तशुल्कतर्फबाट भएको कार्यालयले जनाएको छ । कुल ३ अर्ब १८ लाख ८८ हजार अन्तशुल्कतर्फ राजस्व संकलन भएको छ । तर, पनि यही शीर्षकको लक्ष्यमा भने यो अझै ३९ दशमलब ३१ प्रतिशतले कमी रहेको सूचना अधिकारी क्षेत्रीले बताए । यसपछि बढी योगदान गर्ने आयकर शीर्षकमा पनि २ अर्ब २९ करोड ६८ लाख ५६ हजार राजस्व संकलन भएको छ । यो शीर्षकमा अन्तशुल्क शीर्षकभन्दा बढी प्रतिशत पूरा भएको छ । अर्थात् लक्ष्यको ७१ दशमलव १३ प्रतिशत शीर्षकवाइज’ राजस्व संकलन भएको उनको भनाइ छ । मूल्य अभिवृद्धि करतर्फको शीर्षकमा पनि ७४ दशमलव ५८ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड ३५ लाख १२ हजार राजस्व संकलन भएको छ । तथापि, कुल लक्ष्यमा भने केही कमी नै भएको राजस्व कार्यालयको तर्क छ । करको कुल योगदान भने अघिल्लो वर्षभन्दा बढी नै भएको कार्यालयको दाबी छ ।
व्यक्तिगतत फर्म दर्ता बढी
फर्म दर्तातर्फ भने नयाँ थपिएका मध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (पी पान)तर्फ नै बढी अर्थात् १२ हजार ६९ रहेको र त्यसमा १२ हजार ५६ नै सक्रिय रहेको आन्तरिक राजस्व कार्यालय वीरगन्जका सूचना अधिकारी क्षेत्रीले बताए । त्यसैगरी आयकरतर्फ पनि ३ हजार २ सय २८ वटा नयाँ फर्म दर्ता भएकामा ३ हजार १ सय ९६ वटा सक्रिय नै रहेको उनको भनाइ छ । गत वर्ष मात्र बन्द हुने संस्था र संस्थै रद्द गरिएका संस्थाका कुल संख्या भने ३२-३२ रहेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
पर्सा जिल्लामा अहिलेसम्म दर्ता भएका सबै फर्म तथा संस्थामध्ये २ हजार ५ सय १३ बटा बन्दै भएका छन् । त्यसैगरी, ५ हजार ४ सय ६६ वटा संस्था रद्द गरिएको छ । यी संस्था कुल दर्ता १ लाख ४० हजार ३६ मध्येबाट रहेको जनाइएको छ । सक्रिय संस्था भने १ लाख ३२ हजार ५७ रहेका र यिनै संस्थाको राजस्व संकलनबाट कार्यालयको योगदान देखिने गरेको हो ।