खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानी खोक्मामा रहेको साम्पाङ राईको ऐतिहासिक उद्गमस्थल संरक्षण अभियान थालिएको छ । इतिहास र ऐतिहासिक पक्ष उजागर गर्नका लागि किरात साम्पाङ राई जुम्लेखाको पहलमा बासपानीको खोक्मामा रहेको साम्पाङ राई समुदायको उद्गम स्थल संरक्षण अभियान थालिएको हो ।
साम्पाङ राईको पुर्खा छिलुङमी लामलुमीका छोरा रेप्सुनाले पहिलोपल्ट पाइला टेकेको साम्फेलुङ (ढुंगा), साम्फेलुङ कुवा, खकलुङ (ढुंगा) लगायतका ऐतिहासिक सम्पदा संरक्षण अभियान थालिएको हो । हालसम्म साम्फेलुङ (ढुंगा) र साम्फेलुङ कुवालाई घेराबारा गरि सकिएको छ । कुवालाई पक्की बनाइएको किरात साम्पाङ राई जुम्लेखा खोटाङका अध्यक्ष प्रताप राईले बताए ।
यस्तै, खकलुङ चोकमा फलैंचा बनाइएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा बिनियोजन गरिएको तीन लाखमा साम्फेलुङ (ढुंगा), साम्फेलुङ कुवालाई घेराबारा गर्नुका साथै र फलैंचा निर्माण गरिएको हो । यस्तै, खोक्मा चोकलाई खकलुङ चोक नामाकरण गरेर बोर्ड राखिएको छ ।
साम्पाङ राईको उद्गमस्थल खोक्मामा साम्पाङ राईको मुलखिम (साझा घर) निर्माणका लागि स्थानीय शिबकुमार राईको दुई रोपनी जग्गा सात लाखमा खरिद गरिएको छ । स्वदेश तथा विदेशमा रहेका साम्पाङ समुदायबाट संकलन गरिएको सहयोग रकमबाट घर सहितको जग्गा खरिद गरिएको हो । खकलुङमा किरात संग्रहालय, तीन चुला, सभाहल सहितको साझा घर बनाउने योजना बनाइएको अध्यक्ष राईले बताए । गाउँपालिका अध्यक्ष समिर राईको पहलमा मुलखिम निर्माणका लागि डिपिआर तयार पारेर बजेटका लागि संघीय सरकार समक्ष प्रस्ताव पेश गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा प्रदेश सरकारबाट प्राप्त भएको १५ लाखले सो जग्गामा मेसिनरी वाल हालिएको छ ।
स्थानीय बत्तीराम राईका अनुसार साम्पाङ र चाम्लिङ दाजुभाई थिए । खुवालुङतर्फबाट दिक्तेल मझुवा पुगेपछि चाम्लिङ पुर्खा मझुवा क्षेत्रमै बसे । साम्पाङका पुर्खा बासपानी पुगेर किलोथलो बसाएका हुन् । हाल बासपानी, खाताम्छा, फेदी, बाक्सिला, पाथेका, खार्मीलगायतका ठाउँमा बसोबास गर्ने साम्पाङ राई सोही ठाउँबाट फैलिएका हुन् । मझुवामा ‘को बस्ने भनेर’ बाजी गर्दा चाम्लिङ पुर्खासँग साम्पाङ पुर्खा हारे । बाजीपछि दुबै पुर्खा रुपाकोटडाँडा पुगेर बासपानीतर्फ हेरे । बासपानीको खकलुङमा जोर बत्ती बलेको देखियो । चाम्लिङ पुर्खाले ‘त्यही बत्ती बलेको ठाउँमा गएर बस्नु’ भनेपछि साम्पाङको पुर्खा उँडेर खोक्मा पुगेको स्थानीय देउधन राई बताउँछन् । साम्पाङको पुर्खाले पहिलोपल्ट साम्फेलुङमा पाईला टेकेको, साम्फेलुङमा रहेको कुवाको पानी खाएर खकलुङमा बसोबास सुरु गरेको किंवदन्ती छ । साम्फेलुङ (ढुंगा)मा मानव पाईलाको छाप देखिन्छ ।
खोक्मामा रहेको दुई ठूला ढुंगालाई साम्पाङ राईले खकलुङ भन्ने गरेका छन् । माथिल्लो ढुंगालाई मुमालुङ (बजुढुंगा) र तल्लो ढुंगालाई फुपालुङ (बाजेढुंगा) भनेर पुज्ने गरिएको छ । साम्पाङ राईले हरेक ऋषी तर्पनीका दिन साम्फेलुङ र कुवामा पुजाआजा गर्दै पितृसँग स्वस्थ र दिर्घायुको माग गर्दै आशिरबाद माग्ने गरेका छन् । मुमालुङ नजिकै रहेको पोखरी भने भासिएको स्थानीय बताउँछन् ।
खकलुङ चोकमा पोमलाप्वाँलुङ (सुचना दिने ढुंगा) यथावत छ । बासपानीका वडाध्यक्ष तुलाराम राईका अनुसार ढुंगाबाट गाउँमा शुभ–अशुभ खबर सुनाउने गरिन्थ्यो । गाउँमा मान्छे मरे, कुनै बाधा, विपत्ती निम्तिए वा बैठक, भेला, छलफल गर्नका लागि सो स्थानबाट खबर गर्ने इतिहास रहेको स्थानीय बताउँछन् ।