नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्टानबुलमा १६ र १७ सेप्टेम्बरमा हुने तेस्रो विश्व ओलम्पियन सम्मेलन(डब्लुओएफ) मा सहभागि भइरहँदा महत्वपूर्ण प्रस्ताव समेत पेश गर्ने तयारीमा छन् । विश्वका १ सय ५० भन्द बढी ओलम्पियनहरुको सहभागीता हुने उक्त मेगा इभेन्टमा सहभागी हुन जानु अघि उनले नेपालमा एसियाली ओलम्पियनको भेला आयोजनाको प्रस्ताव राख्ने घोषणा गरेका हुन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री जीवनराम श्रेष्ठले पनि नेपालमा ओलम्पियनहरुको सम्मेलन गर्ने प्रस्ताव पारित भएमा त्यसका लागि एनओसीको महत्वपूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विष्टको विदाई समारोहमा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देबेन्द्र सुवेदी र नेपाल राफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजिव श्रेष्ठले पनि नेपालमा ओलम्पियनको भेला गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जसका कारण विष्ट उत्साहित हुदै इस्टानबुल हिडेका थिए ।
दोस्रो डब्लुओएफ सन् २०१९ मा स्विजरल्यान्डमा भएको थियो भने पहिलो मस्कोमा भएको थियो । ओलम्पियनहरु शारीरिक गतिविधि र सामाजिक समावेशीकरणलाई प्रवद्र्धन गर्ने सच्चा रोल मोडेल भएकाले नेपालमा सो भेला भएको खण्डमा सकारात्मक सन्देश जाने देखिन्छ । ओलम्पियकको लक्ष्य सामाजिक शान्ति र एकता भएकाले पनि यसले महत्वपूर्ण अर्थ राख्ने छ ।
आयोजक शहरका मेयर एकरेम इमामोग्लु विश्वभरका ओलम्पियनलाई स्वागत गर्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । ‘ओलम्पिक खेलाडीहरु सबै उमेर समूहका मानिसका लागि प्रेरणाका शक्तिशाली स्रोत हुन् । उनीहरुले हाम्रो बालबालिकाका लागि खेलकुदमा मात्र नभई सम्पूर्ण जीवनका लागि उदाहरणीय कथा सिर्जना गरेका छन् ।’ उनले भनेका छन् ।
डब्लुओएका अध्यक्ष जोएल बोउजाउले सदस्यहरुले संचालन गरेको परियोजनाका विषयमा जानकारी लिदै प्रेरित गर्ने सम्मेलनको लक्ष्य रहेको बताए । सो सम्मेलनमा विष्टले नेपालमा गरेको गतिविधिको विषयमा समेत जानकारी गराउने छन् । स्कुल टु ओलम्पिक कार्यक्रमा नेपालमा निकै लोकप्रिय बनेको छ ।