भड्किलो र खर्चिलो तीज

हरितालिका तीज नेपाली हिन्दू महिलाहरूको महान् चाड हो । तीजले नेपाली महिलाहरूको मनमा उत्साह, उमंग र रङ भर्ने कार्य गर्छ । वास्तवमा तीजको ठूलो मनोवैज्ञानिक महत्व छ । तर, विगत केही वर्षयता तीजमा व्यापारीकरण भएको छ । तीज निकै भड्किलो र खर्चिलो भएको छ । तीजका गीत र नाचहरूमा अश्लीलता र नांगोपना बढेको छ । महिनैभरि तीजको दर खाने र नाच्ने विकृतिले गाउँसहर सबैलाई निकै प्रभावित पारेको छ ।

यस वर्ष पनि साउनदेखि नै तीजको चलहपहल बढ्यो । गाउँघर, सहरबजार तीजको रङमा चुर्लुम्म रंगियो । चुरा, पोते र रातो सारीमा सजिएर महिलाहरूलाई तीजको भोज खान र नाचगान गर्न भ्याइनभ्याइ भयो । तर, नेपाली हिन्दू महिलाहरूको पवित्र चाड हरितालिका तीज भने सोमाबर १ असोजमा हो ।

महिनैभरि तीजको दर खाने र नाच्ने विकृतिले गाउँ सहरलाई निकै प्रभावित पारेको छ

तीज भनेको सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार नारीहरूले शिवपार्वतीको पूजाआजा गर्ने भाद्र शुक्ल तृतीयाको दिन हो । यो हरितालिका पूजा हो । यो पूजा संगिनीद्वारा जंगलमा पु¥याइएकी पार्वतीले विष्णुसँग विवाह नहवस्, महादेव नै पति बनून् भनी गरिएको निरहार व्रतको मान्यतामा अविवाहित महिलाले आफूले चाहेजस्तो पति मिलोस् भन्नका लागि तथा विवाहित महिलाले सौभाग्यको स्थिरताका लागि निरहार बसेर गरिने शिवपूजा हो ।

हरितालिका तीज नेपाली नारीहरूको मौलिक परम्परा हो । त्यसो त भारतका कतिपय ठाउँमा र नेपाली नारीहरू रहेका विदेशमा पनि तीज मनाइने गरिन्छ । हरितालिकाको दिन शिवपार्वतीको पूजाले आफ्नो मनोकामना पूर्ति हुने विश्वासमा संगिनीहरू भेला भएर दिनभरि भजनकीर्तिन तथा दुःखसुखका गीत गाएर रमाइलो गर्ने चलन चलेको हो । तीजको दिन दिनभरि निरहार बस्नुपर्ने भएकाले व्रत बस्ने स्त्रीहरूलाई पोसिलो र आडिलो खाना आवश्यक पर्ने भएकाले तीजको अघिल्लो साँझ दर खाने परम्परा बसेको हो ।

दर भनेको आड हो, आधार हो । त्यसैले, तीजको अघिल्लो साँझ स्त्रीहरूले खाइने पोसिलो खाना वा भोज नै दर हो । धान रोपेर तथा गोडमेल गरेपछि यो चाड आउने हुनाले नै माइतीले विवाहित छोरीहरूलाई बोलाएर यो चाड मनाउने गरिएको हो । तीज पूजा प्रार्थनाको मात्र चाड नभएर नाचगान गरी रमाइलो गरेर दुःखपीडा बिर्साउने माध्यम पनि हो । अर्को शब्दमा भन्नुपर्दा तीज उदाश, निराश र थकित जीवनमा रङ छर्ने उत्सव पनि हो । साउन महिनालाई सबै नेपालीहरूले हरियो रङले रंगाउनु तथा हरितालिका तीजमा नाचगान गरेर मनाउनु प्राकृतिक, मनोवैज्ञानिक तथा धार्मिक दृष्टिले पनि उपयुक्त हो । तर, आफ्नो धर्म संस्कृतिलाई विकृति बनाउनु कुनै पनि कोणबाट ठीक होइन ।

गत वर्षको कुरा हो, अमेरिकामा अध्ययनरत डा. खुसी (नाम परिवर्तन)ले नेपाली भूमि के टेकेकी थिइन् । डा. खुसी आएको थाहा पाउने बित्तिकै साउन महिनामा नै उनीकहाँ तीजको निम्तोको ओइरो लाग्न थाल्यो । कतिपय संघसंस्थाले उनलाई तीज प्रतियोगिताको जुरीमा बसिदिन आग्रह गर्न थाले त कतिले प्रमुख अतिथि । तर, डा. खुसीले कसैको निम्तो स्विकारिनन् । उनले तीजभन्दा पहिला नै तीज प्रतियोगिता आयोजना गर्नेहरूलाई त मजाले झपारेर नै पठाइन् । नेपालीको आफ्नो मौलिक चाडमा समेत यसरी विदेशी विकृति मौलाएको देख्दा डा. खुसी निकै दुःखित भइन् । त्यसैले, उनले तीजलाई मौलिक रूपमा मनाउने निर्णय गरिन् । अनि, अमेरिकाकी साथी डा. बाबी नोर्थरूपलाई समेत तीज मनाउन नेपाल बोलाइन् ।

दर खाने दिनको साँझ डा. खुसीले आफैं दर बनाइन् । गाउँबाट ल्याएको शुद्ध घिउमा काजु, बदाम, पिस्ता, तेजपत्ता आदि हालेर अनादि चामलको चाम्रे (ढड्याइएको चामल घिउमा भुटी भस्र्याइएको भोजन) बनाइन् । पनीर पालुंगो र क्वाँटी (टुसाएको गेडागुडी)को दुईथरि तरकारी, अचार, आफू शुद्ध शाकाहारी भए पनि दिदी र फुपूहरूका लागि दुईथरिका मासुका परिकार बनाइन् । अमेरिकाबाट तीज मान्न आएकी डा. खुसीकी संगिनी, डा. बाबी नोर्थरूपले उनलाई सघाइन् । खाना तयार भयो । अनि डा. बाबी, फुपू, दिदी, भाइ र आमाबुबासँग बसेर डा. खुसीले दर खुवाइन्, आफूले पनि खाइन् ।

तीज पूजा प्रार्थना मात्र नभएर नाचगान गरी रमाइलो गरेर दुःखपीडा बिर्साउने उत्सव पनि हो

दर जति आडिलो थियो, त्यत्ति नै औंला चुस्ने मीठो पनि । डा. खुसीकी फुपू भन्दै थिइन्, ‘यति मीठो र आडिलो खाना त मैले कहिल्यै चाखेकी थिइनँ ।’ यस्तो आडिलो खानाले त १० दिन पनि निरहार बस्न सकिन्छ । खानापछि डा. खुसीले सबैलाई एक–एक गिलास आयुर्वेदिक लस्सी दिइन् । चिसो, मीठो र गजबको स्वादिलो लस्सीले सबैको आत्मा नै तृप्त भयो । डा. बाबी नोर्थरूपले त जिब्रो फट्कार्दै एक गिलास अरू भन्दै थिइन् ।

खाना खाइसकेपछि सबैले बसेर एउटा भिडियो हेरे । डा. नर्थरूपले एउटा ह्यान्सम डक्टरलाई देखाउँदै भन्दै थिइन्, ‘मेरो पति त्यही हो ।’ अनि केही क्षण तीजको गीतमा नाचे । राति ११ बजे डा. खुसीले बदाम, मिश्री आदि हालेर बनाएको विशेष दूध पिएर सबै आ–आफ्नो बिछ्यौनामा भोलि बिहान उठेर तीजको व्रत बस्ने संकल्प लिएर सुते । बिहान सबेरै उठेर सबैले नुहाइधुवाइ गरेपछि डा. खुसीको निर्देशनबमोजिम ‘मम उमामहेश्वरसायुज्यसिद्धये हरितालिकाव्रतमहं करिष्य’ को संकल्प गरे । अनि डा. खुसी, डा. बाबी नोर्थरूप, फुपू, दिदी र छिमेकी दिदीबहिनीहरू शिवमन्दिर गएर पवित्र मनले शिवपार्वतीकोे पूजा गरे ।

डा. खुसीले भन्दै थिइन्, पवित्र मनले गरेको प्रार्थना अवश्य नै पूरा हुन्छ । प्रार्थनाले संकल्प शक्ति बढाउँछ । डा. बाबी नोर्थरूपले डा. खुसीको कुरामा होमा हो थप्दै थिइन् । मेरो एउटा प्रार्थना त तीज व्रतले पूरा गरिदिइसकेको छ, मैले हिजो जसलाई चाहेको थिएँ, आज उसलाई नै पति पाएकी छु, अब उसैसँग आनन्दपूर्वक सारा जीवन बिताउन पाऊँ भन्ने मेरो प्रार्थना छ,’ बाबीले भनिन् ।

मन्दिरबाट फर्किएपछि सबै चोकमा जम्मा भए । ’roundका दिदीबहिनीहरू पनि थपिए । तीजको गीत गाए, नाचे र आफ्नो पवित्र प्रार्थना पूरा हुने विश्वासमा मनभित्रका चोट, पीर, दुःख तथा वैरभावहरू मेटिनेगरी खुब रमाइलो गरे । यसै मौकामा डा. खुसीले धर्म संस्कृतिका वैज्ञानिक तथा मनोवैज्ञानिक पक्षहरूलाई प्रकाश पारिन् । अनि उपस्थित सबैले अब तीज मात्र होइन, हरेक चाडपर्व तथा रीतिरिवाजलाई नेपाली मौलिकता र वैज्ञानिक आधारमा मनाउने संकल्प गरे । तीज सकियो । यसपालि पनि खुसीले यसरी नै तीज मनाउँदै छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द !