४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजको माग गर्दै सडकमा उत्रियो आजपा

काठमाडौं । आमजनता पार्टी (आजपा)ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको व्यवस्था खारेजको माग गरेको छ । सो व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै आजपाले आइतबार भन्सार विभागमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै आजपाले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

भन्सार विभागलाई घेराउ गर्दै आजपाका नेताले भन्सार कार्यालय घेराउदेखि भन्सार विभागमा धर्ना बस्ने जस्ता संघर्षका विभिन्न कार्यक्रम घोषणा गरेका छन् । काठमाडौंको थापाथलीबाट निस्केको विरोध जुलुसले कथित पुरस्कारको नाममा राजस्व लुट्ने कार्य बन्द गर, भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कमिसन खारिज गर, भ्रष्टाचारीलाई कारबाही गर, जस्ता नाराहरू लगाएका थिए ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८ र ४९ मा गरिएको व्यवस्थाअनुसार कुनै चोरी÷निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराकी दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कारस्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । यसरी संसदलाई छलेर नियमावलीमार्फत देशको राजस्वलाई व्यक्तिको खातामा पु¥याउनुलाई जघन्य अपराध रहेको ठहर आजपाको छ । यसलाई तुरुन्त संशोधनको जोडदार माग गर्दै आजपा संघर्षका कार्यक्रमसहित सडकमा उत्रेको छ ।

देशको आर्थिक अवस्था संकटतर्फ गइरहेको अवस्थामा यस्ता व्यक्ति मोटाउने र राज्यलाई कमजोर बनाउने नियमावली तुरुन्त संशोधन गर्नुपर्ने आजपाका प्रवक्ता चन्द्रभूषण साहले बताए । देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको अवस्थामा बजारमा पैसाको हाहाकार रहेको बेला लक्ष्यअनुरूप राजस्व उठाउन नसकेको तर मनोमानीरूपमा व्यक्तिलाई पैसा बाँडेर राज्यलाई नै कमजोर बनाउन खोजिएको प्रवक्ता साहले बताए ।

‘देशको यस जर्जर विषम अवस्थामा हाम्रो राजस्व संकलन व्यवस्थित र प्रभावकारी हुनुपर्ने हो । तर, विडम्बना राजस्व संकलन भद्रगोल र लुटकारी छ । गलत सोच र भ्रष्ट नीतिका कारण सरकारीकोषमा जम्मा भएको राजस्वको रकम पनि व्यक्ति वा व्यक्तिको खातामा गइरहेका छन्’ आजपा प्रवक्ता साहले भने, ‘सरकारी राजस्वलाई लुटन गलत कानुनी प्रावधान निर्माण गरिएको छ । यसलाई तुरुन्त खारेज नगरिए कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

देशको संसदलाई छलेर कथित नियमावलीमा पुरस्कारको गलत प्रावधानले देशको राजस्व सरकारी ढुकुटीमा जम्मा हुनुको सट्टा राजस्व संकलनमा संलग्न कर्मचारी र सुरक्षाकर्मीको निजी खातामा गइरहेको निष्कर्ष आजपाको छ । नेपालको संविधान र प्रचलित कानुनअनुरूप कसैले कसैलाई पक्राउ गर्ने वा कसैको माल समान खोस्ने अधिकार केवल सम्बन्धित कर्मचारी वा सुरक्षा निकायसँग मात्र छ ।

‘उपरोक्त नियमावलीमा राखिएको कथित पुरस्कारको व्यवस्था सरकारी कर्मचारीको लागि मात्र रहेको व्यवहोरा स्पष्ट छ । सरकारी तलव भत्ता खाने कर्मचारी र सुरक्षाकर्मीले चोरी निकासी पैठारीको माल समान पक्राउ गर्नु उनीहरूको कर्तव्य हो । तर, आज चोरी निकासी पैठारी नियन्त्रण गरेवापत यति ठुलो रकम ४५ प्रतिशत सरकारी कर्मचारीले हत्याउनु भ्रष्टाचारजन्य आपराधिक कार्य हो । यसले भन्सारको वैधानिक रुटलाई समेत कमजोर गरी राजस्व संकलनलाई प्रभावहिन तुल्याउने गरेको छ’ आजपाले भनेको छ ।

देशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र गुणात्मक राजस्व वृद्धि गर्न सर्वप्रथम भन्सार नियमावलीबाट कथित पुरस्कारको व्यवस्था हटाउन आवश्यक रहेको सुझाव आजपाको छ ।

भन्सार विभाग, त्रिपुरेश्वरका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएको आजपाले ३ असोजमा पत्रकार सम्मेलन गर्ने, असोज ७ गतेदेखिी १७ गतेसम्म तराई–मधेसका प्रत्येक सदरमुकाममा यस विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने, असोज १८ गते, नियमावली जलाउने, असोज १९ गते मधेसको भन्सार कार्यालय घेराउ गर्ने, र असोज २० गतेदेखि, भन्सार विभागमा धर्ना दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

यसैबिच आजपाका महासचिव उपेन्द्र साहले आमजनतालाई बैंकिङ सेवासुविधा तथा ऋण दिलाउन एवं बैंकहरूको मनोमानी ब्याज बढाउने कार्यविरुद्ध पार्टीले सडक आन्दोलन गर्ने घोषणा गरेको छ ।

रौतहटको कटहरियामा आइतबार आयोजित आजपा निकटको आईटी आर्मीको जिल्ला भेलालाई सम्बोधन गर्दै महासचिव साहले यस्तो बताएका छन् । बैंकले स्थानीयको पुँजी संकलन गरेर ठुला पूँजीपतिलाई मात्रै ऋण प्रवाह गरिरहेको बताउँदै गाउँका सर्वसधारणले ऋण पाउन नसकेको बताए ।

‘गाउँ गाउँ र जिल्लाबाट सर्वसधारणको पुँजी संकलन गरेर बैंकले ठुला र सहरिया पुँजीपतिलाई ऋण दिने तर गाउँका त्यही सर्वसधारणले ऋण माग्न जाँदा बैंकले विभिन्न बाहाना गर्ने गरेका छन्’ आजपा महासचिव साहले भने ।

आईटी आर्मीको रौतहट जिल्ला भेलाले आमजनतालाई बैंकिङ ऋण दिलाउन र बैंकको मनोमानी ब्याज बढाउने कार्य रोक्न ‘आम आन्दोलन’ गर्ने निर्णयसहित भेला सम्पन्न भएको छ ।

आजपा महासचिव साहको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा पार्टी उपमहासचिव एवं मधेस प्रदेशका पूर्वसांसद कुन्दन कुशवाहा, प्रतिनिधिसभाका पूर्वसांसद एवं पार्टी सचिव समिना हुसेनलगायतका नेताको विशेष सहभागिता रहेको थियो ।

यसैगरी, सो भेलाले संविधान दिवसको दिन ३ असोजमा संविधानको विरोधमा विभिन्न कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ । सरकारले ३ असोजमा संविधान दिवस उत्सवका रूपमा मनाउन अपिल गरिरहेको बेलामा आजपा निकटको आईटी आर्मीले त्यसको विरोधमा कार्यक्रम गर्ने घोषणा गरेको हो ।

सो भेलाले जयलाल महतोको अध्यक्षतामा १ सय ५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । महतोको नेतृत्वमा नयाँ कमिटी चयन भएपछि जिल्लाभरि आईटी आर्मीको कमिटी विस्तार गर्ने निर्णय भेलाले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादीले टुंगो लगायो उम्मेदवार